प्रकृति र पितृ पूजाको पर्व
आज भाद्रकृष्ण अमावश्या अर्थात् भाद्रकृष्ण औंसी तिथि। लोकव्यावहारिक भाषामा कुशेऔंसी, बाबुको मुख हेर्ने तिथि तथा पर्वसमेतको दिन। यो यस्तो पवित्र दिन हो, जसले वैदिक सनातन धर्म–संस्कृति र परम्पराले आत्मसात् गरेका औंसी, कुशेऔंसी र कुशको महत्व दर्शाउने काम गरेर हामीलाई आफ्नोपनको बोध गराउँछ। औंसी समयबोधक तिथिको नाम हो। तिथि सौर र चान्द्र दुई प्रकारका हुन्छन्। अमावश्या चान्द्र तिथि हो। व्रतोत्सवमा चान्द्र तिथिको प्रयोग हुन्छ।
ज्योतिषशास्त्रीय मान्यताअनुसार आकाशीय शक्तिपिण्ड सूर्य र चन्द्र एक विन्दुमा आउँदा अमावश्या तिथिको जन्म हुन्छ। समयचक्रका पनि उज्यालो र अँध्यारो दुई पक्ष (पखेटा) छन् जो शुक्लपक्ष र कृष्णपक्ष भनिन्छन्। शुक्लपक्ष देवोपासनाका लागि र कृष्णपक्ष पितृ उपासनाका लागि प्रसिद्ध छन्। उज्यालो पक्षले पूर्णिमा तिथि र अँध्यारो पक्षले अमावश्या तिथिको बोध गराउँछन्। सूर्य र चन्द्र आमनेसामने रहेको अवस्था पूर्णिमा हो भने सूर्य र चन्द्र एक विन्दुमा रहँदाको स्थिति अमावश्या। शास्त्र भन्छन्ः औंसीको रातका स्वामी पितृ हुन्। कुशेऔंसी पर्वले दिने एउटा सन्देश यो कालगणनाको वैज्ञानिक पक्ष पनि हो जो शास्त्रसम्मत खगोलीय प्रकाशपिण्डको गतिसँग सम्बन्धित छ।
कुश र औंसी दुई शब्दको जोडबाट निर्मित कुशेऔंसी शब्दले कुशसँग सम्बन्ध गाँसिएको तथा कुश भिœयाउने औंसी भन्ने बुझाउँछ। कुश एउटा धार्मिक वनस्पति (एक प्रकारको घाँस) हो भने औंसी आकाशीय शक्तिपिण्ड सूर्य–चन्द्रमाको गतिका कारणले निर्मित समयबोधक तिथि विशेष हो। कुशको एउटा नाम दर्भ पनि हो। शास्त्रले कुश, काश, दूबो, बाबियो आदिका भेदले दर्भको संख्या १० बताएको छ। औंसी पनि सिनीवाली र कुहू दुई प्रकारको हुन्छ। प्रातः सूर्योदय पहिले चन्द्रमा रेखास्वरूपमा देखिने सिनीवाली र चन्द्रमाको अवशेष नै नदेखिने औंसीलाई कुहू भनिन्छ।
वैदिक सनातन धार्मिक–सांस्कृतिक परम्परागत जीवनमा कुशको महत्वपूर्ण स्थान छ। पापनाशक र कल्याणकारी वनस्पति कुशको उत्पत्ति सृष्टिकर्ता ब्रह्माजीसँगै भएकाले यसको ऐतिहासिकता र पवित्रतालाई पनि यो पर्वले बुझाउँछ। प्रत्येक तिथिका फरक विशेषता हुनेहुँदा अमावश्या तिथिका आफ्नै विशेषता छन्। वैशाखकृष्ण औंसी मातृऔंसी (आमाको मुख हेर्ने दिन), भाद्रकृष्ण औंसी पितृऔंसी (बाबुको मुख हेर्ने दिन) जो कुशेऔंसी र पौषकृष्ण औंसी पितृकर्मका लागि प्रसिद्ध छन्। वैदिक सनातन परम्पराअनुसार श्रावणकृष्ण चतुर्दशीमा रोपेको कुश कुशेऔंसीमा उखेलेर विधिपूर्वक पूजा गरी भित्र्याइन्छ। कुश उखेल्नु, गोकर्णतीर्थ तथा नदीमा स्नान र शिवदर्शन गर्नु, दिवंगत पितृका नाममा तर्पण–श्राद्ध गरी द्रव्य तथा सिदादान र जीवित पितृलाई मानसम्मान गरी श्रद्धा प्रकट गर्नु भाद्रकृष्ण औंसीमा गरिने पवित्र कर्म हुन्।
हिन्दूसंस्कार अनुसार देव र पितृकर्मका साथै आशौचकर्ममा कुशको आवश्यकता पर्छ। स्नान दान, जप, होम, स्वाध्यायलगायतका कर्ममा समेत प्रयोग गरिने कुश विधिसम्मत ढंगले उखेलेर पूजा गरी घरघरमा राखिने भएकाले उत्सवको रूपमा मानिने यो पर्वलाई कुशेऔंसी भनिएको हो। यज्ञवेदीमा बिछ्याउने, श्राद्ध गर्दा पवित्र र ब्रह्मा बनाउनुका साथै पिण्डमा चढाउने, विवाहमा विष्टर बनाउने, प्राणान्त हुँदा कुशको सिरानी लगाउने, पञ्चक मरणमा दोष निवारणका लागि लासका पुतला बनाएर पूजा गरी जलाउने, सप्तर्षिका प्रतीक बनाएर पूजा गर्ने, आशौचमा तिलानी बनाएर आफूलाई पवित्रीकरण गर्न सेचन गर्ने र झारफुकलगायतका विविध कार्यमा प्रयोग हुने बहुउपयोगी वनस्पति हो कुश। जसलाई आजका दिन उखेलेर ब्राह्मण, भाञ्जाभाञ्जी, ज्वाइँचेला वा कन्याकेटीद्वारा पूजा गराई घरका दैलामाथि सिउरेर राख्दा घरका साथै सन्ततिको रक्षा हुने जनविश्वास छ।
आजका दिन उखेलेको कुश वर्ष दिनसम्म चल्ने, अझ यो दिन सोमबार परेको भए १२ वर्षसम्म त्यो कुश प्रयोग गर्दा दोष नलाग्ने, ब्राह्मणले घरमूलीलाई र घरमूलीले सन्ततिलाई कुश छुवाएर राख्दा कल्याण हुने लगायतका विविध विश्वासले धार्मिक–सांस्कृतिक जीवनमा औंसीले साँचेका थप विशेषता हुन्। कुशको उत्पत्ति सम्बन्धमा पौराणिक पात्र जालन्धर पत्नी वृन्दाले भगवान् विष्णुलाई घाँस हुनु भनी श्राप दिएको, एकसिंगे मृगरूपी शिवलाई ब्रह्मा, विष्णु र इन्द्रले पक्रन खोज्दा तीन टुक्रा भएको सिंगलाई स्वर्ग, पाताल र गोकर्णमा प्रतिष्ठा गरी राखिएको लगायतका विभिन्न आख्यान हिन्दूशास्त्रमा पाइन्छन्।
यो औंसीको अर्को नाम गोकर्णे औंसी हो। भगवान् शिवको एउटा नाम गोकर्ण हो। हिन्दूदर्शन अनुसार पितृतृप्ति एवं आत्मकल्याणार्थ तीर्थमा स्नान, देव–पितृ तर्पण–श्राद्ध र पूजन एवं दानधर्म गर्नुपर्छ। हिन्दूदर्शनमा पिता, माता र गुरुको अग्रस्थान छ। दस गयातीर्थको फल गोकर्णमा गरेको पितृकर्मबाट पाइने र आफू पितृलोकको अधिकारी भइने विश्वास गरिन्छ। आफन्तको देहान्त तिथि, आश्विनकृष्ण पक्षका १६ तिथि र ग्रहण परेका अवसरमा समेत तीर्थमा गएर गरिने पितृकर्म कुशेऔंसीका दिन गोकर्णमा गएर दिवंगत पितृप्रति विशेष श्रद्धा–भक्तिसाथ गरिने यस तिथिलाई गोकर्णेऔंसीको भनिएको पाइन्छ।
लौकिक व्यवहारअनुसार आजको दिनमा जीवित पितालाई मनपर्ने खाना र नाना दिएर छोराछोरीले सम्मान गर्ने परम्परा छ। यसले पनि बाबुको मुख हेर्ने दिनका रूपमा पनि यो औंसीले महत्व पायो। सन्ततिले पिता–माताको सम्मान गर्ने यो मौलिक परम्परा हाम्रो धार्मिक सांस्कृतिक जीवनको धुकधुकी हो। आमालाई सृष्टिकर्ता र बाबुलाई पालनकर्ता मान्ने हाम्रो संस्कार र परम्पराको मान्यतालाई जीवन्त राख्न जन्म–कर्मदाता मातापितालाई गाउँमा एक्लै छोडेर, वृद्धाश्रम/डेरा/अपार्टमेन्टमा राख्ने चलनको सुरुआत भएको छ जुन संस्कारविपरीत छ। बहुपक्षीय विशेषताको धरोहर यो पर्व जोगाए संस्कार र संस्कृतिको पनि संरक्षण हुनेछ।