बढ्यो डिजिटल कारोबार

बढ्यो डिजिटल कारोबार

काठमाडौं : विश्व महामारीको रूपमा फैलिएको कोभिड–१९ पछि डिजिटल प्रयोगकर्ता बढेका छन्। कोभिड सुरु भएको दुई वर्षमा अघिल्लो वर्षको तुलनामा मोबाइल, इन्टरनेट बैंकिङलगायतका डिजिटल कारोबार गर्नेको संख्या ह्वात्तै बढेको छ। 

कोरोना भाइरसको संक्रमणपछि भएको लकडाउनमा डिजिटल बैंकिङ कारोबारमा आकर्षण बढ्दै गएको हो। बैंक तथा वित्तीय संस्थाले पनि यसलाई जोड दिँदै अब नगदरहित बैंकिङ कारोबारमा केन्द्रित हँुदै आएको देखिन्छ।

तर सबै प्रयोगकर्ताले नियमित सक्रिय भएर कारोबार नगरेको पाइएको छ। एउटै व्यक्तिको धेरै बैंकमा खाता हुने गरेकाले एउटाबाहेक अन्य खाताको कारोबार निष्क्रिय हुन गएको बैंकरहरू बताउँछन्।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा ३ करोड २६ लाख ७४ हजार निक्षेप खाता सञ्चालनमा छन्। यसबीच साढे २५ प्रतिशतले मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक बढेका हुन्। गत असारसम्ममा कुल निक्षेपकर्तामध्ये १ करोड ४१ लाख ९४ हजार ८ सय ग्राहकले मोबाइल बैंकिङ कारोबार गर्न आवेदन दर्ता गरेका छन्। यद्यपि यसबीच वाणिज्य बैंकका १ करोड २६ लाख ३८ हजार, विकास बैंकका १५ लाख र वित्त कम्पनीका ५६ हजार ४ सय २३ ग्राहकले मोबाइल बैंकिङ कारोबारमा चासो देखाएका छन्।  अघिल्लो वर्ष उक्त बैंक तथा वित्तीय संस्थामा १ करोड १३ लाख हाराहारीसम्मका ग्राहकले यसको प्रयोग गर्न दर्ता गरेका थिए। खाता खोलेर मोबाइल बैंकिङ कारोबार गर्न दर्ता गरेका सबै ग्राहकले भने प्रयोग गरेका छैनन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल बैंकिङ कारोबार गर्न दर्ता गरेको संख्यामध्ये ७६ दशमलव २४ प्रतिशत अर्थात् १ करोड ८ लाख ३५ हजार ग्राहकले मात्रै सक्रिय रूपमा प्रयोग गरेका छन्। यसबाहेकका २३ दशमलव ७६ प्रतिशत अर्थात् ३३ लाख ७२ हजार मोबाइल बैंकिङ ग्राहकले दर्ता मात्रै गरेका छन्। 

उनीहरूले प्रयोग नगरी निष्क्रिय बसेको देखिन्छ। बैंकमा खाता खोलेका सबै निक्षेपकर्ताले पनि अझै मोबाइल बैंकिङको प्रयोग गरेका छैनन्। 

एउटै व्यक्तिको दोहोरो खाता हुने गरेकाले अधिकांश ग्राहकले एउटा बैंकको एउटै डिजिटल कारोबारलाई मात्र प्रयोग गर्ने भएकाले सबै सक्रिय नभएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन्। ‘मेरो दुईओटा बैंकमा खाता छ। दुवैतिर डिजिटल बैंकिङ लिएको छु तर एउटा बैंकको मात्रै प्रयोग हुन्छ।’ उनले भने, ‘यस्तो धेरै ग्राहकमा भएको छ। 

धेरै खाता भएकाले सबैबाट सुविधाका लागि दर्ता गर्छन् तर नियमित प्रयोग एउटाबाट गर्दा सबैखाले उपकरणमा निष्क्रिय देखिन गएको हो।’  

अझै सबै निक्षेपकर्ताहरू पनि डिजिटल बैंकिङमा जोडिएका छैनन्।  यसैले बैंकहरूले थप प्रचारमा जोड दिन र बैंकिङ सीमा बढाउन पनि जरुरी भएको सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल बताउँछन्। यद्यपि कोभिडका कारण आरटीजीएस, मोबाइल बैंकिङलगायतको माध्यमबाट फन्ड ट्रान्सफरमा क्रान्ति भएको उनको तर्क छ। ‘अहिले कोभिडले गर्दा हिँडडुल र भीडभाड नगर्न डिजिटलमार्फत भुक्तानी गर्नेको संख्या बढेको हुन सक्छ,’ उनले भने, ‘अत्याधुनिक प्रविधिमा जोड दिएर लगानी पनि बढाएका छौं।’ अझै आम सर्वसाधारणलाई जनचेतना जगाउन जरुरी रहेको उनले बताए। नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङको सीमा पनि बढाइदिनु पर्ने बताउँछन्। ‘बैंकले पनि डिजिटल बैंकिङलाई फ्यामिलियर बनाई दिनुप¥यो। अझै नगदको कारोबार धेरै देखिन्छ। यसलाई अझै कसरी कम गर्दै लैजाने भनेर व्यापक गर्दै लग्यौं भने अनौपचारिक क्षेत्रको कारोबार औपचारिक क्षेत्रमा कन्भर्ट हुँदै जान्छ। सरकारको राजस्व पनि बढ्छ,’ उनले भने। 

सीईओ पोखरेलका अनुसार पछिल्लो समय केही बैंकले ओम्नी च्यानल प्रयोग गरेका छन्। अबको प्रविधि यसमा जान्छ। यो प्रविधिले एउटै एपबाट मोबाइल, इन्टरनेटलगायतका सबै कारोबार गर्न सकिने गरी सहज बनाउने उनको भनाइ छ। ‘नेपालका बैंकिङहरू अब यसमा जाँदा राम्रो हुन्छ। बैंक ग्राहकमैत्री बन्दैछन्। हामीले पनि कल सेन्टरको तयारी गरिरहेका छौं। यसले आफूसँग भएका ग्राहकको बारेमा राम्रो जानकारी राख्छ,’ उनले भने।   

बैंक तथा वित्तीय संस्थामा ११ लाख ६० हजार ३ सय २१ जना इन्टरनेट बैंकिङका प्रयोगकर्ता छन्। यसमध्ये पनि ६६.९५ प्रतिशत अर्थात् ७ लाख ७६ हजार ८ सयको डेबिट कार्ड नियमित सञ्चालनमा छन्। ३३.०५ प्रतिशत अर्थात् ३ लाख ८३ हजार ५ सय जनाको कार्ड निष्क्रिय रहेको राष्ट्र बैंकले जनाएको छ। यो अघिल्लो वर्षको तुलनामा १२.५१ प्रतिशतले बढी हो। 

डेबिट कार्डका प्रयोगकर्ता हालसम्म ८८ लाख ३९ हजार ८ सय ५५ जना छन्। तर यसमध्ये ६९.३१ प्रतिशत सक्रिय छन्। ३०.६९ प्रतिशतले नियमित कारोबार गरेका छैनन्। अघिल्लो वर्ष डेबिट कार्डका प्रयोगकर्ता ८८ लाख ३९ हजार ८ सय ५६ थिए। यसबाहेक सञ्चालनमा रहेका २७ वाणिज्य बैंकबाट क्रेडिट कार्डका ग्राहक १ लाख ९२ हजार ३ सय ७० रहेका छन्। प्रिपेड कार्डका प्रयोगकर्ता ६५ हजार ७ सय ८६ जना छन्। क्रेडिट कार्डका ग्राहकमध्ये अझै २९.०१ प्रतिशत र प्रिपेड कार्डका ग्राहकमध्ये २९.६६ प्रतिशतले नियमित कारोबार गरेका छैनन्।  अघिल्लो वर्ष क्रेडिट कार्डका ग्राहक १ लाख ४६ हजार थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.