सडक बग्दा सास्ती

सडक बग्दा सास्ती

पोखरा : जेठ अन्तिम र असारमा आएको बाढीपहिरोले मनाङमा ठूलो क्षति पुर्‍यायो। सदरमुकाम चामे बजार नै जोखिममा रह्यो। एकातिर स्थानीय बासिन्दाका घरबास उठ्यो भने अर्कोतिर विकासका धेरै पूर्वाधार बगे। सदरमुकाममै मस्र्याङ्दी नदीमाथिको पुल बग्यो। 

मनाङमा भएको क्षति हेरेरै सरकारले विपद् संकटग्रस्त जिल्ला घोषणा पनि गर्‍यो। त्यसको अर्थ त्यहाँ छिटो राहत लैजाने र छिटोछिटो पूर्वाधार निर्माण गर्ने भन्ने थियो। मनाङ जाने एक मात्रै सडक बेंसीसहर चामे सडक बाढीले धेरैतिर ध्वस्त पारेको थियो। त्यसलाई छिटो मर्मत गर्नुपर्ने थियो। तर, भएन। 

विपद् संकटग्रस्त जिल्ला घोषित भएकैले बेंसीसहर चामे सडक मर्मतका लागि डुम्रे—बेंसीसहर—चामे सडक योजना कार्यालयले सडक मर्मतका लागि ७ दिने म्यादको सूचना जारी गरी टेन्डर गरेको थियो। योजना कार्यालयले उक्त सडक मर्मतका लागि १ करोड ९२ लाख रुपैयाँ खर्च हुने स्टिमेट तयार पार्‍यो। सोहीअनुसार ठेक्का आह्वान भएको थियो। तर, साउन अन्तिममा जारी सूचनामा उत्तरगया कन्स्ट्रक्सनले ५५ प्रतिशत घटेर भ्याटसहित ९१ लाख रुपैयाँमा टेन्डर हाल्यो र जिम्मेवारी उसैले पायो। 

असोजसम्म मर्मत सक्नुपर्ने गरी ठेकेदारसँग सम्झौता भएको थियो। तर, अहिलेसम्म ठेकेदार कम्पनीले माखो मार्न नसकेको मनाङका स्थानीय बासिन्दा बताउँछन्। मनाङको नासो गाउँपालिका–३ मा पर्ने खोत्रोदेखि तिमाङसम्मको सडकखण्ड सबैभन्दा धेरै क्षतिग्रस्त भएको डुम्रे—बेंसीसहर—चामे सडक योजना कार्यालयका इन्जिनियर सुरज महर्जन बताउँछन्। तर, ठेकेदारले त्यहाँ कत्ति पनि काम नगरेको वडाध्यक्ष मीनबहादुर गुरुङले सुनाए। ‘खनेजस्तो त गर्‍या छ, तर ठेकेदारबाट पटक्कै काम भएन,’ वडाध्यक्ष मीनबहादुरले भने, ‘खोत्रो भन्ने ठाउँ त छिचोल्ला जस्तो छैन, अन्त कसरी काम होला खै ?’

सडक ध्वस्त भएकाले बेंसीसहरबाट मनाङसम्म यातायातका साधन चल्न पाएका छैनन्। मनाङमा खाद्यान्नलगायत सामान स्थानीयले लैजान पाएका छैनन्। ‘खच्चड र मान्छेलाई बोकाएर सामान ल्याउनुपरेको छ,’ नासो गाउँपालिका अध्यक्ष चन्द्र घले भन्छन्, ‘खच्चड र मान्छे हिँड्न पनि गाह्रो छ। सडक मर्मतको काम ढिलो भइरहेको छ।’ 

सडक मर्मत बेलैमा नहुने हो भने स्थानीय बासिन्दाका लागि खाद्य संकट हुने जोखिम पनि छ। सडक मर्मत गनए ठेक्का दिएपछि काम भए÷नभएको कुनै निकाय र सरोकारवालाले नहेरेको स्थानीय गुनासो गर्छन्। एक स्थानीयले भने, ‘मनाङमा बाढी आयो भनेर मुख्यमन्त्री हेर्न आए। प्रचण्डदेखि ठूल्ठूला नेताहरू आए तर अहिलेसम्म किन बाटो नबनेको भनेर कसैले सोध्दैनन्। सडक छिटो बनाउनपर्‍यो भन्ने कसैलाई वास्तै छैन।’  
मनाङका संघीय सांसद पोल्देनछोपाल गुरुङ पहिलाको सरकारले बजेट विनियोजन गरी योजना बनाएको तर नयाँ सरकारबाट मनाङलाई वास्ता नगरिएको बताउँछन्। लोबिडिङमा ठेक्का हालेर काम नगर्ने प्रवृत्तिको सिकार बेंसीसहर—चामे सडक भएको उनले सुनाए। भौगोलिक हिसाबमा निकै कठिन गाउँमा मर्मतका लागि गम्भीर भएर लाग्नुपर्नेमा त्यस्तो नभएको उनको भनाइ छ। 

डुम्रे—बेंसीसहर—चामे सडक योजना कार्यालयका इन्जिनियर सुरज महर्जनले ठेकेदारको ढिलासुस्तीप्रति आफूहरू गम्भीर भएको बताउँछन्। ठेकेदार कम्पनीलाई छिटो काम गर्न ताकेता गर्दै पत्राचार गरेको जानकारी महर्जनले दिए। ‘ढिला गर्ने हो भने ठेक्का तोड्न सक्छौं। कारबाही गर्छौँ, भनेका छौं,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.