तालिबान सरकारलाई चीन र जापानको स्वागत, कोरोना संक्रमितको संख्या २२ करोड १८ लाख नाघ्यो

तालिबान सरकारलाई चीन र जापानको स्वागत, कोरोना संक्रमितको संख्या २२ करोड १८ लाख नाघ्यो

अमेरिकी नेतृत्वको तालिबान सहकार्य र सहयोगबारे बैठक सम्पन्न

दोहाः अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारसँग सहकार्यको ढाँचा र अफगानिस्तान सहयोगसम्बन्धी अमेरिकी नेतृत्वमा भएको पश्चिमेली यूनियनको बैठक सम्पन्न भएको छ ।

अमेरिकी राज्य सचिवालयका एन्टोनी ब्लिङ्केनको अध्यक्षतामा बुधबार भर्चुअल माध्यमबाट बैठक बसेको थियो । उक्त बैठकमा २० भन्दा बढी मुलुकका प्रतिनिधिहरु सहभागी थिए । बैठकमा तालिबानको नयाँ सरकारसँगको सहकार्य र सहयोगको ढाँचाबारे छलफल गरिएको थियो ।

तालिबानसँगको सहयकार्य र सहयोग अफगान नागरिकको स्वतन्त्रता, अफगानिस्तान छोड्न चाहने विदेशी नागरिहरुको लागि अनुमति,  महिला अधिकारको रक्षा गर्नेलगायत जारी शर्तहरुमा आधारित हुने अधिकांश मुलुकका प्रतिनिधिहरुले सहमती जनाएका छन् ।

उक्त बैठकमा मानवीय र आर्थिक सहयोग उपलब्ध गराउने या नगराउने भन्नेबारेसमेत छलफल भएको थियो । उक्त बैठकले तत्कालीन सहयकार्यको लागि चाँडै नै संयुक्त राष्ट्रसंघीय र युरोपेली संघसहित कुटनीतिक बैठक बसाल्ने जनाएको छ ।
०००
तालिबानको नयाँ सरकारलाई चीन र जापानको स्वागत

वासिङ्टनः अफगानिस्तानमा तालिबानको नयाँ सरकार बनेपछि विभिन्न मुलुकले प्रतिक्रिया दिन थालेका छन् । अमेरिका, चीन, जापान, टर्की, कतार, युरोपेली संघ, संयुक्त राष्ट्रसंघ आदिले नयाँ सरकार गठनबारे आफ्नो प्रतिक्रिया जनाएका हुन् । तालिबानको नयाँ सरकार गठनको लागि चीन र जापानले स्वागत गरेका छन् ।

चीनले अफगानिस्तानको नयाँ सरकार स्थापनाबारे बुधबार प्रतिक्रया जनाउँदै भनेको छ, ‘तीन हप्ते अराजकतापछि काबुलस्थित बनेको तालिबानको नयाँ सरकारलाई स्वागत छ । तालिबानको नयाँ सरकारले अब अफगानिस्तानमा स्थायित्व कायम गर्नेछ ।’

जापानले तालिबानको मौन समर्थन जनाउँदै अमेरिकी साथ र सहयोगमा तालिबानको नयाँ सरकारले गर्ने कार्यको मुल्यांकन गर्ने बताएको छ ‘जापानले तालिबानको गतिविधिलाई मुल्यांकन गरिरहेको छ भने अमेरिका र अन्य मुलुकसँगको साथमा सहकार्य गर्नेछ । अफगानिस्तान नागरिकहरुको सुरक्षाको लागि जापानले साथ दिनेछ ।’

अमेरिकाले भने नयाँ सरकार गठनबारे चिन्ता व्यक्त गरेको बताइएको छ । अमेरिकी विदेश मन्त्रालयले प्रतिक्रिया जनाउँदै भनेको छ, ‘तालिबानको नयाँ सरकारमा सामेल केही व्यक्तिको पछिल्लो रेकर्डले हामी चिन्तित छौँ । हामी तालिबानको शब्द हैन उसको कामको मुल्यांकन गर्नेछौँ । अफगान नागरिक एक समावेशी सरकार चाहन्छ भन्नेमा हामी स्पष्ट छौँ ।’ तालिबानले मंगलबार नयाँ सरकार गठनको घोषणा गरेको थियो ।
०००
रुसका आपतकालीन मन्त्रीको प्रशिक्षणको क्रममा मृत्यु

मस्को: रुसका आपत्कालीन मन्त्री येभगेनी जिनिचेभको मृत्यु भएको छ । प्रशिक्षण अभ्यासका लागि आर्कटिक क्षेत्र पुगेका उनको बुधबार मृत्यु भएको हो । ‘ड्युटीमा खटिएका जिनिभिचको दुखद मृत्युले सबैलाई स्तब्ध बनाएको छ । उद्धार कार्यको लागि जारी प्रशिक्षण अभ्यासको क्रममा आर्कटिक क्षेत्रमा खटिएका उनी स्वयंको मृत्यु भएको छ’ आपतकालीन मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।

५५ वर्षीय मन्त्री जिनिचेभ सन् २०१८ देखि आपत्कालीन मन्त्रालयमा कार्यरत थिए । उनी रुसी सैन्य अधिकारी र राजनीतिज्ञसमेत हुन् ।
०००

संसारभर कोरोना संक्रमित २२ करोड १८ लाख नाघे

वासिङटनः संसारमा कोरोना महामारी फैलिएको दुई वर्ष हुँदैछ । कैयौँ मुलुकमा कोरोना कहर अझै पनि जारी छ । जोन्स हप्किन्स युनिभर्सिटीद्वारा हालै सार्वजनिक एक रिपोर्ट अनुसार संसारभर कोरोना संक्रमितको संख्या २२ करोड १८ लाखभन्दा बढी पुगिसकेको छ भने कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ४ करोड ५८ लाख भन्दा बढी पुगेको छ ।

हालसम्म संसारभर ५ खर्ब ५२ करोडभन्दा बढी मानिसले कोरोनाविरुद्धको खोप लगाइसकेको रिपोर्टमा उल्लेख छ । जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम साइन्स एण्ड इन्जिनियरिङले बुधबार बिहान सार्वजनिक गरेको नयाँ अपडेटअनुसार अमेरिकामा हालसम्मकै सबैभन्दा बढी प्रभावित बनेको छ ।

अमेरिकामा ४ करोड २ लाख ७९ हजार ५६७ कोरोना संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ६ लाख ५० हजार ५११ रहेको छ । कोरोना संक्रमणबाट संसारकै दोस्रो प्रभावित मुलुक भारत रहेको उक्त रिपोर्टले जनाएको छ । भारतमा ३ करोड ३० लाख ५८ हजार कोरोना संक्रमित रहेका छन् । उक्त रिपोर्टअनुसार अति प्रभावित मुलुकहरुमा ब्राजिल, बेलायत, रुस, फ्रान्स, टर्की, अर्जेन्टिना, ईरान, कोलम्बिया, स्पेन, इटली, इन्डोनेसिया, जर्मनी र मेक्सिको रहेका छन् । 
०००
चीनमा अनलाईन ट्युसन कक्षामा रोक

सांघाईः चीनले बुधबारदेखि अनलाईनमार्फत चल्ने ट्युटोरियल (सिकाइ ) मा रोक लगाएको छ । विभिन्न विषयमाथि अनलाईनमार्फत प्रशारण हुने निजी क्षेत्रका ट्युसनमा रोक लगाएको हो ।

चीन सरकारले अनलाईनमार्फत सिकाइने विभिन्न ट्युसन कक्षामा रोक लगाएको हो । गैरकानुनी रुपमा विभिन्न आवासीय भवन निर्माण, होटेल र अन्य पसलमार्फत अनलाईन सिकाइ सञ्चालन गरेका निजी ट्युसन कक्षामाथि चीनले रोक लगाएको हो ।

कोभिड १९ महामारीपछि संसारभर शिक्षण र अन्य अनलाईन सिकाइ लोकप्रिय बनेको छ । चीनले पनि आफ्ना विभिन्न शैक्षिक कार्यक्रमहरु अनलाइनमार्फत सञ्चालन गरेको छ । निजी क्षेत्रले पनि विभिन्न क्षेत्रका सिकाइ कार्यक्रम अनलाईनमार्फत सञ्चालन गरेको भन्दै चीन सरकारले रोक लगाइएको अधिकारीहरुले बताएका छन् ।
चीनले अनलाईन सिकाइलाई नियमन गर्न यस्तो रोक लगाएको बताएको छ ।
०००
हङकङको तियानामेन र्‍यालीका अगुवा पक्राउ

हङकङः हङकङको चर्चित तियानामेन र्‍यालीका अगुवा पक्राउ परेका छन् । हङकङ प्रहरीले बुधबार उक्त र्‍यालीका थप चार अगुवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३६ वर्षदेखि ५७ वर्ष उमेर समूहका तीन पुरुष र एक महिला रहेका छन् । उनीहरुको नाम भने खुलाइएको छैन । पक्राउ परेकाहरुलाई ६ महिनाको जेल सजाय सुनाइएको छ । उक्त र्‍यालीका अन्य केही अगुवाहरु ग्वानेथ हो, अल्वर्ट हो र ली चेयुक पहिलेदेखि जेलमा रहेको बताइएको छ ।

उक्त र्‍यालीमा सहभागी अन्य अगुवाहरु उपस्थित हुन नसकेको खण्डमा ६ महिना जेल र १ लाख हङकङ मुद्रा जरिवाना तिनुपर्ने प्रहरीले जनाएको छ ।

‘जुन फोर्थ इन्सिडेन्ट’ले चिनिने सन् १९८९ जुलाई ४ को ‘तियानानमेन स्क्वायर क्र्याकडाउन’मा मारिएकाहरुको सम्झनामा लोकतान्त्रिक समूहको तर्फबाट सो अगुवाहरुले जुलाई ४ मा र्‍याली गरेका थिए । उक्त र्‍यालीमा चीनको सहयोगमा गरेको भन्दै हङकङ प्रहरीले उनीहरुलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् १९८९ अप्रिल १५ देखि जुन ४ सम्म सञ्चालित जुन फोर्थ ईन्सिडेन्टमा हजारौँ नागरिक र सैनिकले ज्यान गुमाएका थिए भने हजारौँ घाइते भएका थिए । कम्युनिष्टभित्र रहेको भ्रष्टाचारविरुद्ध जारी उक्त आन्दोलन हङकङको तियानानमेन स्क्वायरमा भएको थियो । जहाँ बेइजिङ, चीन लगायत देशभरका विभिन्न ४ सय शहरका मानिसहरु सहभागी थिए ।
०००
फ्रान्समा १ करोड युरोको गहना चोरी

पेरिसः फ्रान्सको राजधानी पेरिसस्थित बुल्गेरी स्टोरबाट चोरको एक समूहले १ करोड युरोको गहना चोरी गरेका छन् । तीनजना चोरको समूहले मंगलबार दिउँसो (स्थानिय समयअनुसार) सो रकम बराबरको गहना चोरी गरेको एएफपीले जनाएको छ ।

उक्त समूहले फिल्मी शैलीमा गहना चोरेको र प्रहरीले हालसम्म पक्रिन नसकेको बताइएको छ । पेरिस प्रहरीका अनुसार तीन व्यक्तिले अनुहार छोपिने गरी नचिनिने लुगा लगाएका थिए भने शरीरभर बन्दुक भिरेका थिए । चोरहरुले व्यस्त शहरको केन्द्रमा रहेको उक्त गहना पसलबाटमध्ये दिउँसो करिब १ करोड युरोको गहना चोरेर भागेका थिए । प्रहरीले दुई शंकास्पद व्यक्तिलाई हिरासतमा राखेको छ भने अन्यको खोजी तिब्र पारेको छ ।

यसअघि जुलाई २७ मा २ लाख युरोको गहना पेरिसस्थित चौमेट बुटिकबाट चोरी भएको थियो । हातहतियारसहित पेरिसमा बढेको चोरी तथा लुटपाटले सन् २०२२ मा हुने भनिएको राष्ट्रपतिय चुनावलाई असर गर्ने आशंका गरिएको छ । 
०००
मेक्सिकोमा ७.० म्याग्निच्युडको भूकम्प

गुयर्रोः दक्षिण पश्चिम मेक्सिकोमा बुधबार बिहानै ७.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण समुद्रनजिकैको एकापुल्को शहरमा एक रिसोर्टमा भत्किँदा एकको मृत्यु भएको जनाइएको छ ।

अमेरिकी भूवैज्ञानिक सर्भे (यूएसजिएस) का अनुसार दक्षिण पूर्वदेखि १८ किलोमिटर दूरीमा रहेको गुयर्रोलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान ७.० म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का मेक्सिकोको विभिन्न स्थानमा महशुस गरिएको थियो । करिब १२.५ किलोमिटर वरिपरीको क्षेत्रमा उक्त भूकम्पको ठूलो धक्का महशुस गरिएको थियो ।

भूकम्पपछि सुनामीको खतारा रहेको भन्दै यूएसजीएसले सबैलाई सतर्क रहन आग्रह गरेको छ । भूकम्पका कारण ठूलो मानवीय क्षति नभए पनि पहाडबाट विशाल ढुंगा र रुखहरु ढलेको र सडकमा चिरा परेको बताइएको छ । मेक्सिकोको विभिन्न १० शहरहरुमा भौतिक क्षति पुगेको बताइएको छ । मेक्सिकोमा बुधबार बिहान गएको भूकम्प ७० वर्षपछिकै ठूलो भूकम्प रहेको बताइएको छ ।
०००
मेक्सिकोको अस्पतालमा बाढी पस्दा १७ विरामीको मृत्यु

हिडाल्गोः भारी वर्षापछि आएको बाढीका कारण मेक्सिकोको हिडाल्गो राज्यमा अवस्थित अस्पतालमा उपचाररत १७ विरामीको मृत्यु भएको छ । मंगलबार राति आएको बाढी अस्पतालमा पस्दा उपचाररत १७ विरामीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय मिडियाका अनुसार राज्यको टुला शहरमा अवस्थित उक्त अस्पतालमा कोभिड १९ लगायत विरामीको उपचार भइरहेको थियो । नदी किनारमा रहेको उक्त अस्पतालभित्र एक्कासी बाढी पस्दा सो दुर्घटना भएको हो । उद्धारकर्मीको टोलीले स्ट्रेचर र डुङ्गामार्फत ४० विरामीको उद्धार गरेको बताइएको छ । बाढीका कारण उक्त शहरका ३० हजारभन्दा बढी मानिसहरु प्रभावित भएको मेक्सिकोका राष्ट्रपति एन्ड्रेस लोपेज ओब्राडोरले बताएका छन् ।

संयोजन: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.