दरदेखि दारुसम्म

दरदेखि दारुसम्म

काठमाडौं : स्वयम्भू बस्ने शिवानी काफ्ले एक संस्थामा लेखा अधिकृत छिन्। कामको सिलसिलामा उनले विभिन्न व्यापारिक बैठकमा सहभागी हुनुपर्छ।

‘कर्ट सी’ मेन्टेनकै लागि पनि प्रायःजसो लेट नाइट चल्ने पार्टीमा जानुपर्ने बाध्यता छ। अहिले तीजको माहोल चलिरहेको छ। हरेक दिनजसो दर खाने निम्तो आइरहेकै हुन्छन्। कहिलेकाहिँ मनमिल्ने साथीहरूसँग बसेर वाइन पिउनु, मस्त भएर नाच्नुमा उनलाई आनन्द लाग्छ। तीजको पार्टीमा गएर उनको आँखाले खोज्ने चिज पनि वाइन नै हो। ‘सम्हालिएर पिउनुमा खास खुसी देख्छु। कहिलेकाहिँ पिउँदा कामको थकानबाट मुक्ति मिल्छ। नाचेर रमाइलो गरेपछि शरीरमा पुनर्ताजगी मिल्छ’, उनी भन्छिन्। महिलाहरूले रक्सी पिउनुलाई नराम्रो दृष्टिकोण बनाउन नहुने उनको तर्क छ। छोरी बुहारीले मदिरा पिउनुलाई विकृति मौलायो भन्नेहरूलाई बैंकर अमृता नेपालीको जवाफ छ ‘पिएकै आधारमा महिलाको क्षमतामाथि हल्का टिप्पणी गर्ने छुट कसैलाई छैन। त्यही चिज पुरुषले पिउँदा इज्जत बढ्ने, महिलाले पिउँदा बेइज्जत हुने भन्ने पनि हुन्छ ? अहिलेका पुस्ता घरबाहिरको हरेक काममा सबल भइसके। क्षमताकै कुरामा पनि कहीँ कतै कमजोर छैनन्। इज्जत कामको आधारमा दिनुस्। उसले पिउने मदिराको बोतलका आधारमा होइन।’ 

कुलेश्वर बस्ने रजनी रौनीयार श्रीमानसँगै मदिरा पसलमा भेटिइन्। उनको घरमा मदिरा पिउने कोही पनि छैनन्। तर, दर खान बोलाएर साथीसर्कल र आफन्तहरूले दरमा वाइन पनि चाहिन्छ भनेर माग गरेपछि उनीहरू मदिरा पसलमा पसेका हुन्। परिवार नै व्यापारिक पृष्ठभूमिको भएर होला रजनीका परिवार महिलाले मदिरा पिउनु कुनै ठूलो कुरा नभएको बताउँछन्। ‘दैनिक रुपमा खाएर समस्या निम्ताउन पो भएन। स्वास्थ्यलाई असर नगर्ने गरी रमाइलोका लागी पिउनु सामान्य कुरा हो’, उनी भन्छिन्। 

तीज आउनुभन्दा केही दिन अघिदेखि नै गाउँसहरमा दर खाने कार्यक्रम चल्ने गर्छ। विभिन्न कार्यालयदेखि, संघसंस्था र सरकारी कार्यालयमा समेत अचेल महिला कर्मचारीका लागि तीजको दर खुवाउने प्रचलन सुरु भइसकेको छ। पहिले चेलीबेटीलाई बोलाएर माइतीकै आँगनमा मिठो मसिनो खुवाइन्थ्यो। अहिले पार्टी प्यालेस र होटलहरूमा दर कार्यक्रम हुन थालेका छन्। अहिले दरको परिकार पनि बदलिएको छ। खुवाउने परिकार बदलिएजस्तै अहिलेको दरमा मदिराका बोतल पनि देखिन थालेको छ। दरसँगै वाइन, ह्विस्कीको ग्लास समाएर नाँच्दै गरेका महिलाहरूको संख्या बढ्न थालेको छ। दरको पार्टीमा बियरका कार्टुनहरू पुग्ने गरेका छन्। मदिराको ताल र तीजको भाकामा जीवनका दुःख सुःख बाँड्न चाहने युवतीहरू बढ्दै छन्। 

छोरी बुहारीले मदिरा पिउन थाले भने समाज बिग्रन्छ भनेर महिलाको मदिरा संगतलाई हेयको भावले हेरिन्थ्यो। तर, अहिले दिनभर काम गर्ने, बिजनेस हाक्ने महिलाहरू पुरुषले जस्तै बाहिर रेस्टुरेन्टमा बसेर मदिरा पिएको दृष्य देखिनु खासै नौलो रहेन। यसैले होला के गाउँ के सहर अहिलेको तीजको दरमा मदिराको बोतल देखिन थालेको छ। वर्षभरिमा एक दिन भेला भएका चेलीबेटीहरू मदिरा पिएर आफ्नो दुःख भुलाउन चाहन्छन्। 

केही वर्ष अघिसम्म हिन्दू महिलाको चाडको रुपमा मनाइने तीज अहिले सम्पूर्ण नेपाली महिलाले हर्षाेल्लासपूर्वक मनाउने गरेका छन्। सबै जातजातिका महिलाले तीज मनाउने परम्परा सुरु गरिसकेका छन्। तीजलाई सबै जात र धर्मका महिलाले मनाउन थालेका छन्। तीज मनाउने तरिका बदलिएको छ, संस्कारमा नयाँपन आएको छ। 

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका प्रमुख तथा समाजशास्त्री डम्बर चेम्जोङ समाज र संस्कार दुवै गतिशील भएकाले यसलाई एउटै नियममा रोकेर राख्न नसकिने तर्क गर्छन्। ‘पिउनुलाई गलत भन्ने हो भने महिला पुरुष दुबैलाई भन्नुपर्‍यो नि !’,चेम्जोङ भन्छन्, ‘पुरातनवादी सोच राख्ने कट्टरतावादीले महिलाले मदिरा पिउनुलाई गलत मान्ला। तर, अहिलेका सामाजिक संवेदनालाई विचार गर्दा सोचविचार गरेर रमाइलोका लागि पिउने आदतलाई गलत मान्न हुँदैन।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.