पाकिस्तानमा शिक्षिकालाई जिन्स लगाउन प्रतिबन्ध, तालिबानलाई ३.१ करोड डलर सहयोग गर्दै चीन

पाकिस्तानमा शिक्षिकालाई जिन्स लगाउन प्रतिबन्ध, तालिबानलाई ३.१ करोड डलर सहयोग गर्दै चीन

पाकिस्तानका  शिक्षकलाई जिन्स र टी शर्टमा प्रतिबन्ध

इस्लामावादः पाकिस्तानमा इमरान खान नेतृत्वको सरकारले विद्यालयका पुरुष र महिला शिक्षकको जिन्स र कसिलो पहिरनमा प्रतिबन्ध लगाएको छ । महिला शिक्षकलाई जिन्स र कसिलो पहिरन साथै पुरुष शिक्षकले जिन्स र टि शर्ट लगाउन नपाउने गरी पाकिस्तान सरकारले प्रतिबन्ध लगाएको हो ।

डन न्युनका अनुसार पाकिस्तानको संघीय शिक्षा निर्देशनालयले पुरुष शिक्षकले जिन्स र टि शर्ट र महिला शिक्षकले जिन्स र कसिलो कपडा लगाउन नपाउने गरी विभिन्न विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिएको छ । महिलाले कुर्था सुरवाल, कमीज, दोपट्टा, चप्पल र हिजाब (वैकल्पिक) पहिरनमा अनिवार्य गराएको छ भने पुरुषको लागि फर्मल कपडा र कुर्था पाइजामा (वैकल्पिक) पहिरनमा अनिवार्य गराइएको छ ।

साथै पुरुष शिक्षकले लामो दाह्री पाल्न नपाउने र सरसफाईमा ध्यान दिनुपर्ने र महिला शिक्षकले पनि लामो कपाल पाल्न नपाउने, नङ काट्नु पर्ने र सरसफाईमा उचित ध्यान दिनुपर्ने शिक्षा निर्देशनालयको पत्रमा उल्लेख गरिएको छ । महिला र पुरुष शिक्षकले सभ्य रहन अनिवार्य गराइएको बताइएको छ ।
०००
विदेशी नागरिकलाई देश फर्काउन तालिबान सरकार सहमत

कावुलः अफगानिस्तानमा छुटेका दुई सय अमेरिकी र अन्य विदेशी नागरिकलाई स्वदेश फर्काउन तालिबानको नयाँ सरकार सहमत भएको छ । तालिबानको नयाँ सरकार गठन गरेको दुई दिनपछि सो सहमति जनाएको हो ।

अनुमतिपछि विमान चार्टर गरी विभिन्न विदेशी नागरिकहरु बिहीबार अफगानिस्तानको काबुल विमानस्थल छोड्न पाउने भएको अमेरिकी अधिकारीले जनाएका छन् ।

अगष्ट १५ मा तालिबानले काबुल आफ्नो कब्जामा लिएसँगै विदेशी र अफगान नागरिकले अफगानिस्तान छोडेका थिए । अगष्ट ३१ मा अमेरिकी सेना फिर्ती र बेलायती सेनाले अफगानिस्तान छोडेपछि विभिन्न नागरिकको उद्धार कार्य रोकिएको थियो ।

पश्चिमा मुलुकहरुले तालिबानको नयाँ सरकारले उद्धार कार्य झनै कडाइ गर्नसक्ने अनुमान गरे पनि उनीहरुले अफगानिस्तानमा छुटेका नागरिक फिर्ता गराउन माग गर्दै आएका थिए ।

पश्चिमा मुलुकको मागपछि अफगानिस्तानमै छुटेका बेलायत, अमेरिकालगायत अन्य मुलुकका नागरिकहरुले देश फिर्ता गराउन तालिबानको नयाँ सरकार सहमत भएको छ ।
०००
फ्रान्समा २५ वर्षमुनिका महिलालाई निशुल्क गर्भनिरोधक साधन

पेरिसः फ्रान्सले २५ वर्षमुनिका महिलाहरुलाई निशुल्क गर्भनिरोधक साधन वितरण गर्ने भएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले आगामी वर्षदेखि लागु हुने गरी २५ वर्ष मुनिका महिलालाई गर्भनिरोधक साधन वितरण गर्ने घोषणा गरेको छ ।

गर्भनिरोधक साधन र प्रक्रिया महंगो हुने भएकोले उक्त उमेर समूहका महिलाको लागि सो सेवा निशुल्क गर्ने निर्णय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यमन्त्री ओलिभियर भिरानले २५ वर्षमुनिका महिलाहरुको लागि गर्भनिरोधक साधनमा शुल्क नलाग्ने बताउँदै भनेका छन्, ‘उनीहरुका लागि मेडिकल परीक्षण, मेडिकल भर्ना र गर्भनिरोधक सम्बन्धी साधन र अन्य प्रक्रिया निशुल्क हुनेछ । गर्भनिरोधक साधन र प्रक्रिया निकै महंगो छ । महंगो भएकोले उनीहरुले सो सुविधा सहजै उपभोग गर्न पाउँदैनन् र भविष्यमा ठूलो समस्या पर्छ । त्यसैले हामीले २५ वर्ष मुनिकालाई सो सेवा निशुल्क प्रदान गर्ने निर्णय गरेका हौँ ।’

फ्रान्समा गर्भनिरोधक साधन र प्रक्रिया निकै महंगो हुने भएकोले २५ वर्षमुनिका अधिकांश महिलाहरु नचाहँदा नचाहँदै गर्भवती हुने गरेको एक अध्ययनले देखाएको छ । सो अध्ययनलाई ध्यानमा राखी फ्रान्स सरकारले सो निर्णय गरेको बताइएको छ । फ्रान्समा १५ देखि १८ वर्षमुनिका महिलालाई भने सन् २०१३ देखि गर्भनिरोधक प्रक्रिया र साधन निशुल्क गराइएको ।
०००
अवैध रुपमा आएका आप्रवासीलाई फिर्ता पठाउँदै बेलायत

लण्डनः बेलायतले अवैध रुपमा बेलायत छिर्न लागेका आप्रवासी नागरिकलाई फिर्ता पठाउने तयारी गरेको छ । फ्रान्स हुँदै बेलायत पुग्न लागेका अवैध आप्रवासीलाई तत्काल फिर्ता पठाउने तयारी गरेको बेलायतले जनाएको छ ।

आप्रवासी फिर्ताको लागि सीमा बलले दुई वर्षदेखि अभ्यास गरिरहेको थियो । डुङ्गामार्फत फ्रान्सको समुद्री किनार हुँदै बेलायतको बन्दरगाहसम्म पुगेका आप्रवासीलाई तत्काल फिर्ता पठाउने तयारी भइरहेको गृह सचिवायलय प्रमुख प्रिती पटेलले बताएकी छन् ।

उनले भनेकी छन्, ‘आप्रवासी नीतिलाई नियमन गर्न बेलायतले नयाँ बाटो अपनाएको छ । सामुद्रिक किनार हुँदै बेलायतको सिमासम्म पुगेका आप्रवासीहरुलाई फिर्ता गर्ने तयारी भइरहेको छ ।’

यद्यपि, फ्रान्सले भने बेलायतको निर्णय यसअघि नै अस्वीकार गरिसकेको छ । बेलायतको निर्णयले आप्रवासीहरुको जीवन खतरामा पुग्ने र आपसी सहयोग र सहकार्यमा ठूलो धक्का पुग्ने चेतावनी फ्रान्सले दिएको छ ।

बेलायतका अनुसार डुंगा मार्फत् यही सोमबार मात्र ७८५ आप्रवासीहरु सीमा च्यानलसम्म पुगिसकेका छन् भने गत महिनासम्म दैनिक ८ सयभन्दा बढी आप्रवासीहरु बेलायतको सीमासम्म पुग्ने गरेका थिए ।

यस वर्ष मात्र अफ्रिका र युरोप लगायत विभिन्न मुलुकका करिब १३ हजार ५ सय आप्रवासीले बेलायतको च्यानल पार गरेका छन् । अवैध रुपमा बेलायत छिर्ने आप्रवासी व्यवस्थापन र सुरक्षामा समस्या आएको बेलायतले जनाएको छ । 
०००

चीनले तालिबानलाई ३.१ करोड डलर सहयोग गर्ने

बेइजिङ: चीनले अफगानिस्तानको तालिबान नेतृत्वको सरकारका लागि ३.१ करोड अमेरिकी रकम बराबर सहयोग गर्ने भएको छ । अफगानिस्तानको आर्थिक मद्दतका लागि सो रकम खर्च गर्ने चीनले जनाएको हो ।

चीनको विदेश मन्त्रालयले बुधबार तालिबानको नयाँ कार्यवाहक सरकार ‘इस्लामिक एमिराट’को समर्थन गर्दै अफगानिस्तानलाई ३ करोड १ लाख करोड अमेरिकी डलर सहयोगको घोषणा गरेको हो ।

सो निर्णयको घोषणा अफगानिस्तानका छिमेकी देशको विदेश मन्त्रीहरुको पहिलो बैठकमा गरिएको चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले बताएका छन् । चीनले सो रकम अफगान नागरिकको सहयोग स्वरुप खाद्यान्न, लत्ता कपडा र कोरोना खोपमा खर्च गर्ने जनाएको छ । 
०००

अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या ८२ पुग्यो

वासिङटनः अमेरिकामा आएको हुरिकेन आइडा (आँधी) ले ठूलो क्षति पुर्‍याएको छ । करिब १० दिनअघि आएको आँधीका कारण अमेरिकाभर बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या ८२ पुगेको अधिकारीहरुले जनाएका छन् ।

आँधीपछि आएको भारी वर्षा र बाढीका कारण जनधनमा ठूलो क्षति पुगेको न्युयोर्क टाइम्सले जनाएको छ । लुइजिनिया, न्युयोर्क, न्यु जर्सीलयात क्षेत्रमा आँधीले भौतिक रुपमा ठूलो क्षति पुर्‍याएको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइडा आँधीबाट क्षतिग्रस्त स्थानको भ्रमण गर्दै सन् २००५ अगष्टमा आएको क्याट्रिना आँधीभन्दा ठूलो क्षती पुर्‍याएको बताएका छन् ।

न्युयोर्क टाइम्सका अनुसार आँधीपछि आएको भारी वर्षा र बाढीका कारण भौतिक रुपमा ठूलो क्षति पुगेको छ । आँधीबाट प्रभावित क्षेत्रका सडक, भवन लगायत विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।
०००
अफगान महिलालाई खेलकुद र स्वीकृतविनाका आन्दोलमा रोकः तालिबान

काबुल: तालिबानको नयाँ सरकारको नियमअनुसार अफगानिस्तानका महिला अब खेलकुदमा सहभागी हुन नपाउने भएका छन् भने अफगानिस्तानमा हुने आन्दोलन र नाराबाजीमा थप कडाइ गरिएको छ ।

नयाँ सरकारको नियमअनुसार अफगानिस्तानका महिलालाई खेलकुदमा रोक लगाइएको र सरकारको अनुमतीविना विभिन्न आन्दोलन र नाराबाजीहरुमा पनि रोक लगाइएको तालिबानले जनाएको छ ।

तालिबानको सांस्कृतिक आयोग प्रमुख अहमदुल्लाह वासिकले अफगानिस्तानमा नयाँ सरकार बन्नुअघि पनि खेलकुदमा महिला सहभागीतालाई प्राथमिकतामा नराखेको बताउँदै भनेका छन्,  ‘महिलाको लागि खेलकुद न जरुरी थियो न त उपयुक्त नै । त्यसैले महिलाको लागि उचित र आवश्यक खेलकुदबाहेक क्रिकेट, फुटबलजस्ता खेलमा तालिबान सरकारले रोक लगाइएको छ ।’

केही दिनयता अफगानिस्तानको काबुलमा भएका विभिन्न आन्दोलन र नाराबाजीले उग्र रुप लिएपछि तालिबानले सो निर्णय गरेको आन्तरिक मामला मन्त्रालयका सिरुजुद्धिन हक्कानीले बताएका छन् । ‘अन्तर्राष्ट्रिय समुदायको आडमा हुने विभिन्न आन्दोलन र नाराबाजीले हिंस्रक रुप लिने सम्भावना उच्च रहेकोले अब तालिबान सरकारको अनुमतीविना हुने त्यस्ता गतिविविमा रोक लगाइएको छ’ उनले भनेका छन् ।
०००
उत्तर कोरियामा ५ लाख सैनिकले गरे रातभर परेड

प्योङयाङ: उत्तर कोरियाले ७३औं स्थापना दिवसको अवसरमा राजधानी प्योङयाङमा मंगलबार रातभर सैनिक मार्च गरेको छ। वार्षीकोत्सव समारोहमा हजमत सुट र ग्यास मास्क लगाएर सैनिकहरु परेडमा सामेल थिए । मंगलबार रातभर सैनिक मार्च गरेको स्थानीय मिडियाले जनाएका छन् ।

दी सेन्ट्रल न्युज एजेन्सीका अनुसार उक्त अवसरमा कुनै मिसाइल गतिविधि नभए पनि प्योङयाङस्थित मध्यरातको सैनिक परेडमा लडाकु विमानले किम दोस्रो सङ स्क्वायर र वरपरको क्षेत्रमा परमाणुरहित विभिन्न परम्परगत हातहतियारहरु प्रदर्शन गरिएको थियो । उक्त अवसरमा उत्तर कोरियाका नेता किम जङ उनको उपस्थिति थियो । यद्यपि, वार्षिकोत्सवको अवसरमा कुनै विशेष भाषण भने नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ।

सन् १९५०–५३ को कोरियाली युद्धपछि उत्तर कोरियाका संस्थापक किमको सम्झनामा उत्तर कोरियाले हरेक वर्ष मुलुकको सबैभन्दा ठूलो उत्सव मनाउने गर्छ । उक्त अवसरमा उत्तर कोरियाले हजारौँ सैन्य हतियार र अन्य उन्नत सैन्य हतियार र सैनिक परेड आयोजना गर्ने गर्छ ।

उत्तर कोरियाका सञ्चारमाध्यमले सुन्तला रंगको हजमत सुट र ग्यास मास्क लगाएको सैनिक परेडको तस्बिर सार्वजनिक नगरे पनि अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने सो तस्विर सार्वजनिक गरेका छन् ।

उत्तर कोरियाले सन् २०१३ देखि वार्षिकोत्सवको अवसरमा सैनिक परेड आयोजना गर्दैआएको बताइन्छ । हरेक वर्ष सैनिक पोसाकमा सैनिक परेड आयोजना गरिए पनि यस वर्ष भने उत्तर कोरियाले हजमत सुट (अनौठो पोसाक)र ग्यास मास्कमा सैनिक परेड गराएको छ । यस वर्षको वार्षिकोत्सवमा ५ लाख ७ हजार सैनिक परेड र मार्चमा भाग लिएको बताइएको छ।

संयोजन: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.