प्रमाण जोगाऔं हत्यारा समाऔं

प्रमाण जोगाऔं हत्यारा समाऔं

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको क्रूरतापूर्वक हत्याले गाउँले त्रसित छन्। घटना रहस्यमय छ। अनुसन्धानमा खटिएको प्रहरीले कुनै उपलब्धि हात पार्न सकेको छैन। उच्च अधिकारीसहित प्रहरीको चार समूहले अनुसन्धान गरेको चार दिन भयो। तर, घटनामा संलग्नको पहिचान नहुँदा अन्योलता बढ्दो छ। गाउँमा असुरक्षा बढेको महसुस गरेका स्थानीय गाउँ छाड्न थालेका छन्। प्रहरी प्रशासनले अझै स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिलाउन सकेको छैन। गाउँको एकान्तमा भएको घरमा आइतबार साँझ वा सोमबार बिहान हत्या भएको हो पुष्टि छैन। २४ घण्टामा घटनास्थल पुगेको प्रहरीले तालिम प्राप्त कुकुर घुमाएर अनुसन्धान सुरु गर्‍यो। रातभर पानी परेकाले धेरै प्रमाण नष्ट हुने हुँदा चाँडो उपलब्धि हात नपरेको प्रहरीको तर्क छ।

भौगोलिक अवस्था, प्रविधिको कम प्रयोग भएको स्थान र सामान्य खेती किसानी गर्ने परिवारकै हत्या हुँदा विभिन्न कोणबाट अध्ययन गर्नेपर्ने चुनौती प्रहरीलाई छ। त्यसमाथि त्रासमा रहेका गाउँलेलाई सुरक्षाको प्रत्याभूति पनि उत्तिकै आवश्यक छ। परिवारकै हत्याको घटना पहाडी क्षेत्रमा धेरै भएका छन्। एक घरबाट अर्को घरको दूरी टाढा हुन्छ। एउटा घरको घटना अर्को घरमा ढिला मात्रै थाहा हुन्छ। त्यसैले परिवारका सबै सदस्यको हत्या हुँदा पनि ढिला मात्रै घटना सार्वजनिक हुन्छन्। संखुवासभाको मादीमा पनि सोही भएको हो। घरमा भएका एक वृद्ध जो कान राम्रो सुन्दैनथिए र आँखा पनि राम्रो नदेख्ने भएर बचे, अरू सबैको हत्या भयो। छिमेकीले सोमबार बिहान मात्रै थाहा पाए। यसअघि २०७६ जेठ ६ मा पाँचथरको आरुबोटेमा दुई परिवारका ९ जना हत्याको घटना पनि अझै रहस्यमय छ। दुई वर्षदेखिको अनुसन्धान अझै निचोडमा पुगेको छैन। झुन्डिएको अवस्थामा मृत भेटिएका एक सदस्यको थाप्लोमा घटनाको दोष थोपरिएको छ।

स–साना बच्चासहितको परिवार नै हत्या गर्ने क्रम बढ्दै छ। तर, यस्ता ठूला घटनामा संलग्न कमै मात्र पक्राउ परेका छन्। पहाडी क्षेत्रमा भएका यस्ता घटना अनुसन्धान अभावमा अधिकांश ओझेलमा पर्छन्। परिवार भित्रैबाट हत्या भएका केही घटनाका दोषी पक्राउ गर्न बाहेक अझै केही ठुला घटना रहस्यको गर्भमा छन्। प्रदेश १ कै ताप्लेजुङ, पाँचथर, भोजपुर र झापाका केही ठूला हत्याका घटनाको अनुसन्धान अझै सकिएको छैन। घटना पुरानो हुँदै जाँदा जिल्लामा परिवर्तन भइरहने प्रहरी अधिकृतको चासोमा ती विषय नपर्दा पनि अनुसन्धान ओझेलमा परेको हो। अनुसन्धानमा पोख्त अधिकृत केन्द्र र क्षेत्रमा मात्रै हुने हुँदा दूरदराजका घटना सेलाउँछन्।

अनुसन्धान सूक्ष्मरूपमा पूर्ण हुनुपर्ने भएकाले पनि समय लाग्छ। प्रमाण सबै जुटाउनुपर्दा घटनाको अनुसन्धान गर्न वर्षौं लागेका धेरै उदाहरण छन्। ‘दोषी उम्कियोस् तर निर्दोष पक्राउ नपरोस्’ भन्ने भनाइ नै छ। यसो भन्दैमा प्रहरी प्रशासनले घटनालाई सामान्य रूपमा लिएर समय लगाउनु हुँदैन। दक्ष अनुसन्धान अधिकृत समयमा खटाउनु पर्छ। एउटा घटनाले परिवार मात्रै नभई समाज र सिंगो देशको सुरक्षाको अवस्था देखाउँछ। घटनाको दोषीनजिक प्रहरीलाई पुर्‍याउन नागरिकले पनि साथ दिनुपर्छ। नागरिकको सुरक्षाको प्रत्याभूति गराउने मुख्य दायित्व सरकारको हो। जुन व्यवस्था संविधानमै छ। हत्याहिंसाको घटना बढ्नु हुँदैन। सरकारले नागरिकलाई सुरक्षित रहेको महसुस दिलाउनु पर्छ। संखुवासभा हत्याकाण्डमा संलग्न चाँडो सार्वजनिक हुन्। गाउँलेले असुरक्षाका कारण गाउँ छाड्ने अवस्था नआओस्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.