उत्तर कोरियाको निगरानीमा अर्बौँ खर्चिँदै दक्षिण कोरिया, अफगान शरणार्थीलाई फिलिपिन्सको स्वागत

उत्तर कोरियाको निगरानीमा अर्बौँ खर्चिँदै दक्षिण कोरिया, अफगान शरणार्थीलाई फिलिपिन्सको स्वागत

एक वर्षभन्दा लामो गतिरोधपछि लेवनानमा नयाँ सरकार गठन हुँदै

दुबईः करिब डेढ वर्ष लामो गतिरोधपछि लेवनानमा नयाँ सरकार बन्ने भएको छ । लेवनानका राष्ट्रपति मिसेल याउन र प्रधानमन्त्री नाजिव मिकातीले नयाँ सरकार गठन गर्न हस्ताक्षर गरेका छन् । करिब १३ वर्ष लामो गतिरोध अन्त्य भएको बताउँदै राष्ट्रपति र प्रधानमन्त्रीले सभामुख नाविह बेरीको उपस्थितिमा शुक्रबार नयाँ सरकार गठन गर्ने शपथ लिएका छन् ।

‘अवस्था निकै कठिन छ । तर लेवनानी नागरिकलाई एकीकृत गर्न सकेमा र हामी सबैले हातेमालो गर्दै अघि बढ्न सकेमा कठिन अवस्थाबाट माथि उठ्न सम्भव छ’ नयाँ सरकार गठनमा हस्ताक्षर गर्दै प्रधानमन्त्री मिकातीले शुक्रबार भनेका छन् ।

लेवनानमा विगत १३ महिनादेखि पूर्ण सरकारविना नै राज्य सञ्चालन हुँदैआएको थियो । अगष्ट २० मा भएको बेरुइत पोर्ट विष्फोटपछि प्रधानमन्त्री हसन दायवले राजीनामा दिएपछि लेवनानमा कार्यकारी सरकार छैन । उनको राजीनामापछि गत जुलाईमा मकाती कार्यवाहक प्रधानमन्त्रीको रुपमा नियुक्त भएका छन् ।

नयाँ सरकार गठनको लागि २०२२  मे महिनामा चुनावी तालिका तोकिएको छ । सरकारविना लेवनानमा आर्थिक संकट बढिरहेको बताइएको छ ।
०००
उत्तरको गतिविधि हेर्न दक्षिण कोरियाले जासूसी स्याटेलाइटमा भारी रकम खर्चिँदै

सोल: दक्षिण कोरिया सरकारले जासूसी (स्पाई) स्याटेलाइट प्रविधिको विकास गर्न १.३७ बिलियन अमेरिकी डलर खर्च गर्ने भएको छ । उत्तर कोरियाले परमाणु र छेप्यास्त्र विकासमा निरन्तरता दिइरहेको गतिविधि निगरानी गर्न दक्षिण कोरियाले सो प्रविधि विकासमा भारी लगानी गर्ने जनाएको छ ।

उत्तर कोरियामाथि निगरानी राख्न दक्षिण कोरियाले सन् २०३० देखि जासूसी स्याटेलाइट प्रविधि र रकेट प्रविधिसँग सम्बन्धित स्याटेलाइट निर्माण गर्ने जनाएको छ ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकासँगको संयुक्त सहकार्यमा सो प्रविधि निर्माण गरिने क्योडो न्युजमा समाचार छ । क्योडो न्युजका अनुसार उत्तर कोरियाले बिहीबार बिहानसम्म प्योङयाङमा सैनिक परेड सञ्चालन गरेपछि दक्षिण कोरियाले जासूसी प्रविधि विकासमा भारी रकम खर्च गर्ने योजना अघि सारेको  हो। स्याटेलाइट र जासूसीसँग सम्बन्धित प्रविधिमा दक्षिण कोरियाले सधैँ अमेरिकाको सहयोग माग्ने गरेको बताइन्छ ।
०००

चीनमा सात मानिसको हत्यामा संलग्न महिलालाई २० वर्षपछि फाँसीको सजाय

बेइजिङः चीनमा बालबालिकासहित ७ जनाको हत्या र कैयौँ लुटपाटको घटनामा संलग्न चिनियाँ  महिलालाई २० वर्षपछि फाँसीको सजाय सुनाइएको छ ।

आफ्ना प्रेमीसँग मिलेर विभिन्न मानिसको हत्या, अपहरण र लुटपाटमा संलग्न चीनकी ४७ वर्षीया लाओ रोङ्झीलाई दक्षिणपूर्वी चीनको जियाङ्सी अदालतले सो फाँसीको सजाय सुनाएको हो ।

उनले करिब २० वर्षअघि अर्थात् सन् १९९६ देखि १९९९ सम्म तीन वर्षीया बालिकासहित अन्य ६ मानिसको हत्या गरेको आरोप लागेको थियो । लामो प्रयासपछि उनी सन् २०१९ नाभेम्बरमा पक्राउ परेकी थिइन् । सो अवधिमा उनले आफ्नो नाम र पहिचान बदलेर काम गर्दै आएकी थिइन् । उनले डिसेम्बर महिनामा आफूले गरेको अपराध स्वीकारेकी थिइन् । 
०००
अफगान शरणार्थीलाई फिलिपिन्सको स्वागत

म्यानिलाः अफगानिस्तानका शरणार्थीलाई स्वागत गर्ने फिलिपिन्स दक्षिण पूर्वी एसियाको पहिलो मुलुक बनेको छ । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तान छोडेर भागेका नागरिकलाई स्वागत गर्ने फिलिपिन्स दक्षिणपूर्वी एसियाकै पहिलो मुलुक बनेको हो ।

तालिबानले कब्जा लिएपछि अफगानिस्तान छोडेका अफगान शरणार्थीहरु फिलिपिन्स पुगेको अधिकारीहरुले बताएका छन् । फिलिपिन्सले गत महिना त्रासले अफगानिस्तान छोडेका नागरिकहरुलाई बासको व्यस्था गर्ने घोषणा गरेको थियो ।

विदेश मन्त्रालयका सचिव टोडोरो लोक्सिनले अफगान शरणार्थीको समूह फिलिपिन्स पुगेको जानकारी दिँदै अफगान नागरिकलाई स्वागत गर्ने फिलिपिन्स दक्षिणपूर्वी एसियाकै पहिलो मुलुक भएको बताएका छन् । ‘हामीले आजदेखि बालबालिका र महिलासहित अफगान शरणार्थीहरुलाई स्वागत गरेका छौँ । द्धन्द्धग्रस्त क्षेत्रबाट त्रासले भागेका शरणार्थीहरुको लागि हाम्रो देशको ढोका खुल्ला छ । फिलिपिन्सले उनीहरुको रक्षा गर्नेछ’ उनले भनेका छन् ।

सन् १९५१ को शरणार्थी सम्झौतामा हस्ताक्षर गर्ने फिलिपिन्स र कम्बोडिया दक्षिणपूर्वी एसियाका पहिलो मुलुक हुन् । दोस्रो विश्वयुद्धको समयमा बोल्सेभिक क्रान्ति (१९१७) र युरोपियन यहुदी शरणार्थीहरुलाई पनि फिलिपिन्सले शरण दिएको थियो ।
०००
स्पेनको डढेलोमा फसेका ९४० को उद्वार

मलागाः स्पेनको दक्षिणी भेगमा रहेको मलागा प्रान्तमा फैलिएको विनाशकारी डढेलोमा फसेका करिब ९४० स्थानीय नागरिकको उद्वार गरिएको छ ।

डढेलो नियन्त्रकसँगको सहायतामा उनीहरुको उद्वार गरिएको बताइएको छ । मलागा प्रान्तका विभिन्न क्षेत्रमा बुधबारदेखि फैलिएको डढेलो नियन्त्रणबाहिर गएको बताइएको छ ।

उक्त डढेलो प्रतिघण्टा ५० किलोमिटरको वेगमा फैलिएको बताइएको छ । अनियन्त्रित बनेको डढेलोले स्टेपोना र एन्डेलुसियाको तीनवटा नगरपालिका प्रभावित बनेका छन् । सो क्षेत्रमा फसेका करिब ९४० स्थानीय नागरिकको डढेलो नियन्त्रकले उद्वार गरेको अधिकारीहरुले बताएका छन् । डढेलो नियन्त्रणमा ३ सय अग्नि नियन्त्रक, २९ विमान र हेलिकप्टर प्रयोग गरिएको थियो ।
०००
अष्ट्रियामा पेन्सनको पाउन एक वर्षदेखि मृत आमाको शव लुकाउने पक्राउ

अष्ट्रियाः पेन्सनको लागि एक वर्षदेखि आफ्नी मृत आमाको शव लुकाउने पुरुष पक्राउ परेका छन् । पेन्सनको लागि आफ्नी आमाको शव भूमिगत कोठामा राखेर लुकाएका अष्ट्रियन नागरिक ६६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै प्रहरीका अनुसार ती पुरुषले गत वर्षको जुनमा निधन भएकी ८९ वर्षीया आमाको पेन्सन बुझिरहेका थिए । प्रहरीका अनुसार उनले मृत शरीरबाट दुर्गन्ध नआसोस् भन्दै शवलाई वरफले छोपेर राखेका थिए । पेन्सन सेवा उपलब्ध गराउने अधिकारीहरुलाई उनले आफ्नी आमालाई भेट्न मनाही गरेका थिए ।

हालसम्म अवैध रुपमा पेन्सन स्वरुप आएको मृत आमाको करिब ५० हजार यूरो रकम बुझेको बताइएको छ । 
लामो समयसम्म मृत महिला देखा नपरेपछि सम्बन्धित निकायले आशंका गरेको थियो । आशंकापछि अनुसन्धान थालिएको थियो । अनुसन्धानका क्रममा ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपित व्यक्तिले पैसा अभावमा आफ्नी आमाको दाहसंस्कार नगरेको र पैसाको लोभमा शव लुकाएको बयान दिएका छन् ।
०००
भारतमा १ सयभन्दा बढी कुकुर ज्युँदै गाडियो

बैङलुरुः भारतको कर्नाटकस्थित शिवमोगा जिल्लामा करिब १ सयभन्दा बढी कुकुर ज्युँदै गाडिएको पाइएको छ । अनुसन्धानमा खटिएको प्रहरीले शिवगोमा जिल्लाको रंगपुर गाउँनजिकैको जंगलमा सो संख्यामा कुकुरहरु सामूहिक रुपमा गाडिएको अवस्थामा फेला पारेको हो ।

सेप्टेम्बर ४ मा ठूलो संख्यामा कुकुरहरु बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा प्रहरीले १ सयभन्दा बढी कुकुरको लाश शुक्रबार फेला पारेको छ । 

प्रहरीले कैयौं कुकुरलाई विष खुवाएर मारेको हुनसक्ने आशंका समेत गरेको छ । प्रहरीका अनुसार फरेन्सिक रिपोर्टमार्फत हेर्दा केही कुकुरहरुलाई ज्युँदै गाडेको देखिन्छ भने केहिलाई भने विष खुवाएर गाडेको देखिन्छ । सो घटना भारतको पशु हत्या निवारण ऐन १९६० अन्तर्गत मुद्दा दर्ता गराइएको छ । सो घटनाको पछाडि ग्रामिण पञ्चालतको संलग्नता रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
०००

बेलायतको आर्थिक वृद्धिमा विदेशी विद्यार्थीको हातः अध्ययन

लण्डनः अध्ययनको लागि बेलायती यूनिभर्सिटीमा भर्ना हुने विद्यार्थीले बेलायतको आर्थिक उत्पादनमा वृद्धिमा ठूलो सहयोग पुगेको एक अध्ययनले देखाएको छ ।

अन्य अन्तर्राष्ट्रिय कारोबारको तुलनामा अध्ययनको लागि विदेशबाट बेलायत पुग्ने विद्यार्थीले आर्थिक वृद्धिमा ठूलो सहयोग पुगेको अध्ययनले देखाएको हो ।

हाइयर एजुकेशन पोलिसी इन्स्टिच्यूट (हेपी) र युनिभर्सिटीज यूके इन्टरनेसनल (युयूकेआई)द्वारा बिहीबार प्रकाशित एक अध्ययनले बेलायतका विभिन्न विश्वविद्यालयमा भर्ना हुने विदेशी विद्यार्थीहरुले बेलायतको आर्थिक वृद्धिमा ठूलो सहयोग पुर्‍याएको देखाएको छ ।

उच्च शिक्षा अध्ययनका लागि युरोपेली संघभन्दा बाह्य मुलुकबाट मात्र बेलायत आउने विद्यार्थीहरुबाट वर्षेनी २६ बिलियन यूरो आम्दानी हुने उक्त अध्ययनले देखाएको छ ।

सन् २०१८/१९ मा बेलायती विश्वविद्यालयमा भर्ना भएका करिब २ लाख ७२ विद्यार्थीबाट करिब २६ बिलियन यूरो आम्दानी भएको थियो । सोही आधारमा गरेको अध्ययनअनुसार अन्य कारोबारको तुलनामा विदेशी विद्यार्थीबाट मात्र बेलायतको आर्थिक वृद्धि १ मिलियन यूरो बढी हुने गरेको छ ।

युरोपेली संघबाट अध्ययनका लागि बेलायतका विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीहरुबाट बेलायतले वर्षेनी औसत ४.७ बिलियन यूरो आम्दानी गर्छ भने युरोपेली संघभन्दा बाहिरका मुलुकबाट आउने विद्यार्थीमार्फत २१.३ बिलियन आम्दानी  गर्छ ।

संयोजन: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.