एक घरको एक गाउँ

एक घरको एक गाउँ

निडरको चरम रूप हो नांगो। नांगिन साहस गर्नेहरू शस्त्रमा विश्वास गर्दैनन्। नांगो नै हुन्छ जन्म, नांगो नै हुन्छ मृत्यु। लोमन्थाङका धराधाम नांगै निराभिमान बाँचिरहेछन्, नमुना बाँचिरहेछन्।


आफ्नोपन हराएमा मान्छे पाषाण बन्दछ।

उकालो ओरालो र गल्ठ्याङगुल्ठुङ बाटोमा मथ्न लागेको दही बनेका छौँ यात्रुहरू। समरबाट एक घण्टा गाडीमा गुडेपछि सडक टुंगियो। अब पारिको गाडीबाट जानुहोस्, हाम्रो यहीँसम्म हो’— कन्डक्टर कुर्लिए। आआफ्ना सिरिखुरी बोकेर १५ मिनेट ठाडो उकालो र ५ मिनेट ओरालो गोरेटो कुदेपछि मात्र बल्ल भेटियो हामीलाई लिन गएको गाडी। बीचबीचमा पैदल यात्रा गर्नुपर्ने भएकाले यातायात समितिले नै गाडीको बन्दोबस्त गरेको रहेछ। भारतीय सीमाबाट पचासौँ ठाउँमा पल्टी गर्दै सिमेन्ट पाल्पा पुगेझैँ गाडी भेट्दा, उक्लँदा ओर्लंदा र सिट ओगट्दा ठूलै विजयको भान पर्दो रहेछ यात्रुलाई।

बायाँतिर पसल छ। केही मान्छे पसल अघिल्तिर बेन्चमा बसेर हासिरहेछन्। चार जनाले एउटा भेडो खुइल्याउँदैछन्। घर दुईमात्र छन्। नाउँ भने ‘भेना गाउँ’ रहेछ। अरू घर तल माथि कतै देखिएन। फुस्रा पडाडहरू, पानीबिनाका खोल्सीहरू र कहालीलाग्दा भीरहरूमा न कुनै जीवको चहलपहल छ न कुनै वनस्पतिको बाहुल्य। कता कता धुपीका ठुटे बुच्काहरू देख्दा त्यो शुष्कतामा कसरी बाँचे होलान् तिनीहरू भन्ने लागिरह्यो। तिनीहरूले भेडालाई पूरै खुइल्याइसके। ढुंगामाथि लगेर सुकाइदिए, ५–६ महिनासम्म बिगिँ्रदैन रे यसरी।

विशाल पठारमा टुपुक्क टुपुक्क टाँसिए जस्ता छन् गाउँहरू। करु र गहुँ, भोटेपीपल र बैँसहरूले गाउँ हरिया भरिला देखिन्छन्। गाउँलेहरूको जाँगर र कृषिकर्मप्रतिको लगावलाई हृदयदेखि नै प्रशंसा नगरी रहन सक्तैन कसैले पनि। 

कि सोच्यो होला— ‘यी मान्छेहरू किन यति हतार र हतासमा छन्, किन दौडेका छन्, के के न जितुँला झैँ गरेर, किन मौका मिलेको बेलामा मान्छेलाई नै सताउँछ मान्छेले।’ उसलाई लाग्दो हो— मान्छे आफू स्वतन्त्र छु भनेर घमण्ड गर्छ तर मान्छे जत्तिको बन्धनमा, मान्छे जत्तिको पीडामा, मान्छे जत्तिको भ्रममा कहाँ छन् अरू जनावरहरू। बरु भेडो हुनुमै आनन्द छ, न जात र धर्मको लेखाजोखा, न इहलोक र परलोकका अनावश्यक भ्रम, न हुँदै नहुने पुनर्जन्म र अदृश्य इश्वरका मनगढन्ते कल्पना। मान्छे बाठो र बुद्धिमानी भएको बहानामा भेडाको सारा संसार, स्वतन्त्रता र सिर्जनालाई नास गरिदिएको छ। 

बाठो भएको भ्रममा प्रकृतिका असंख्य स्वतन्त्रताहरूलाई मान्छेले नष्ट गरेको मलाई पटक्कै मन पर्दैन। छालाहीन भेडो नांगो ढुंगाको पिठ्युँमा श्वास नफेरेरै सबैलाई हेरेझैँ गर्दैछ। उसलाई खुइल्याउनेहरू उसैलाई व्यंग्य गरेर नानाभाँतीका गफ चुटिरहेछन्। ‘यसलाई तेल मसला हालेर भुटभाट पारेर खाने हो भने म एक घण्टामै सिध्याइदिन्छु’– एक आवाज।

आखिर जीवन धान्न जेल जीवन पनि सहज मान्दो रहेछ मान्छेले। भोकको अघिल्तिर सबथोकले हार्छ यो संसारमा। भोकलाई नतिजा, प्रेमलाई जात, निद्रालाई ओछ्यान चाहिन्न भन्नुहुन्थ्यो हजुरबाले त्यो साँचो ठहरियो त्यहाँ।

बिजुली पानीसँग खाने हो भने आधा घण्टामै सिनित्त पारिदिन्छु म’, अर्को आवाज। ‘ए कान्छी दिन्छ्यौ ? १० हजार दिन्छु म’, लाहुरे जस्ताको अर्को आवाज। ‘दिन्नँ म एकैचोटि त। एक पाउ मासु देखाउँदै, सबैलाई लोभ्याउँदै, होटल चलाउँदै गर्नुपर्छ क्या’– साहुनी बहिनीको शृंगारिक जवाफ। बिचरा भेडो ! कति कठिनपूर्वक जन्मियो यो संसारमा, कति गारोसँग हुर्कियो यो धर्तीमा। उसको आवाजले ब्युँझन्थे टाढा टाढासम्मका डाँडाकाँडा। च्वाट्ट काटिदिए मान्छेहरूले। उसका पीडाहरूलाई हाँसोको रूपमा लिए मान्छेहरूले। मान्छेकै लागि मारिएपछि पनि उपहास बनिरहेछ मान्छेबाटै। हुन त भारी बोक्ने, औजार बनाउने, कारखानामा काम गर्ने मान्छेलाई नै, काम नगर्ने मान्छेहरूले हेप्ने, पेल्ने र ठेल्ने समाजमा, असहाय जनावरको मर्का कसले बुझ्ला र ? सक्ने भए सोच्दथ्यो होला भेडाले।

रित्तो गाडी र हामीलाई बोकेर लैजाने गाडीका चालकबिच भेनामा झगडा भइरह्यो। हामीले होटल साहुनीलाई खाना बनाइदिन आग्रह गर्‍यौँ। बहिनीले १५ मिनेटमै आलु, टिमुर अचार, दाल, भात खुवाइन्। खानाको प्रतिव्यक्ति रु. दुई सय मात्र। त्यति विकट ठाउँमा त्यो निकै सस्तो हो। यात्रामा हिँड्दा खानेकुरा भेटेको ठाउँमा खाइहाल्नु राम्रो हुन्छ। आफूले लगेको खानेकुरा बचेकै बेस।

मध्य दिन ढल्कँदैछ। भेनाबाट अझ उकालो लाग्दैछौँ। ‘लोमन्थाङ जाने बाटोमध्ये सबैभन्दा बढी उचाइ यतै पर्छ।’ गाडी चालकले सूचित गरे। ‘त्यस्तै चार हजार पाँच सय मिटरभन्दा पनि बढी।’ उनले उचाइ भनेपछि टाउको थिचथाच पार्न पो थाले एक सहयात्रीले। विचित्र छ संसार। दृश्यहरू बिलकुल नवीन छन्। दक्षिणतिर उठिरहेका नीलगिरि र तिलिचो निस्क्लेस छन्। श्वेत स्तूप बनेका छन् हिमगिरि। तिनीहरूको उदांग कलेवर लमलस्ट लाग्दैन। अनुभूतिहरू रङ बनेर ओर्लन्छन् डाँडाका टुप्पाहरूमा, भिराला बगरहरूमा र ठाडा चट्टानहरूमा खोपिएका आदिम गुफाहरूमा।

ती हिमाच्छादित र नांगा पहाड र मैदानहरूलाई प्रेमिल गन्तव्य बनाउन सक्ने हो भने ओइरो लाग्थ्यो होला विश्वभरका प्रेमी–प्रेमिकाको। हिमनदीहरू थुनेर हिमताल बनाइयोस्। हिमफुलहरू सजाएर हिमज्योति बालियोस्। हिमोट जोडेर अचम्मका बनाइयून् शिलावृक्षहरू। निष्फिक्री चर्न छोडियून् हिमपशु र हिम चराचुरुंगीहरू। त्यसै माझमा बनाइयून् प्रेमका नवीन बुकुराहरू। अनि पो मेला लाग्थ्यो प्रेम पारखीहरूको। प्रेमका केस्राकेस्रा नङ्ग्याइँदै जीवनोच्च आनन्दमा हराउँथे उनीहरू, त्यो एकान्तमा।

जीवन हाँक्नु जस्तै हो गाडी हाँक्नु पनि। कहिलेकाहीँ जोखिम मोलेरै भए पनि अगाडि नबढी सुख्खै छैन। धेरैजस्तो ठाउँमा धन्न बाँचियो ठान्छ मनले र सिरिंग बनिसकेपछि आत्तिन्छ। नांगो धरातल तर बेग्लै आकृति देखेपछि डर र आशंकाहरू बिर्सिदिन्छ मनले। त्यो नै आनन्द बनेर उदाउँछ यात्रामा। नांगा तर रंगीन छन् पहाडहरू। शुष्क तर कलात्मक छन् बगरहरू। पत्रैपत्रका राता चट्टानहरू बादल बुट्टामा छन्। थुम्काहरू केशरीजस्ता, अबिरजस्ता, चन्दनजस्ता, खोस्टा नंग्याएका मकैका रासजस्ता, आँगनमा बिस्कुन सुकाउन ठिक्क पारिएको धानको चुलीजस्ता, कोदाको रासजस्ता देखिन्छन् जतासुकै। प्रकृतिको यति सुन्दर कला खै कसले पारख गर्ला र पूर्ण रूपमा ! प्रकृति जति बुझे पनि बुझीनसकिने चिज हो भन्ने बुझ्छु म।

पत्थरहरूको मौनताभित्र धेरै छटपटाउँछ मन। त्यो अक्षत धरातलमा खोपूँ र रोपूँमा जागा बनिरहन्छ मन। गाडी रफ्तारमा कुदिरहेछ। पहाडहरू जतासुकै नांगा छन्। छर्लंग देखिनु, नांगो छामिनु हो क्यार। देखिने जति सबै देखिनु, नांगो हुनु हो क्यार। ज्ञानेन्द्रियहरू नहुँदा हुन् त सत्य अनुभूत हुँदैनथ्यो संसारको। साँच्चै दोस्रो वस्तुले नछोपिएपछि पो सत्य खुल्छ। सत्य नांगो हुन्छ। जीवन पनि त एउटा नांगोक्रम हो। नांगोजीवनलाई ढाकछोप गर्दागर्दै दुःखको भुमरीमा फसिरहेछ मान्छे। नांगो पहाडहरूमा उबडखाबड छन्, मोड, भीर र समस्थलीहरू छन्, रंग र वायुका रसिला संगीतहरू छन्। जीवनलाई यसै अर्थमा बुझ्ने र अप्ठेराहरूलाई सहज र स्वाभाविक मानिदिने हो भने दुःखको दलदल भनिरहनुपर्दैन जिन्दगीलाई।

निडरको चरम रूप हो नांगो। नांगिन साहस गर्नेहरू शस्त्रमा विश्वास गर्दैनन्। नांगो नै हुन्छ जन्म, नांगो नै हुन्छ मृत्यु। लोमन्थाङका धराधाम नांगै निराभिमान बाँचिरहेछन्, निरञ्जनको अत्युत्तम नमुना बाँचिरहेछन्। नांगो संसारभित्र फेरि हरियालीले घेरिएको एउटा गाउँ देखियो। अन्यत्रभन्दा अलि छरिबरी छन् घरहरू। शान्ति नै शान्तिको संसारमा नांगो हावा मात्र हुनहुनाएको सुनिन्छ त्यो गाउँमा। ३०, ३५ ओटा काला चौरीहरू मन फुकाएर चरिरहेछन्। हिमाली प्रदेशमा गाउँ भेटिनु आफैँमा एउटा महŒवपूर्ण संयोग हुन्छ। अझ एउटा मात्र घर भएकालाई पनि एउटा गाउँ नै भन्नुपर्ने बाध्यता पनि त्यहाँ प्रशस्त हुन्छ।

केहीबेर अघि एउटा मात्र घर भएको ‘याम्ता’ नामको गाउँ देखेका थियौँ। त्यो गाउँको नाम भने ‘स्याङबोचे’ हो भने हाम्रा गुरुजीले तर होटल नीलगिरिको साइनबोर्डमा ‘स्याङ्मोचेन’ लेखिएको देखियो। मलाई भने स्विट्जरल्यान्डको सुन्दर हिमाल मँ ब्लँको फेदीमा रहेको ‘सामोनिक्स’ सहरको याद दियो स्याङ्मोचेनले। स्याङ्मोचेन र सामोनिक्स दुवै उस्तै, दुवै हिमालको फेदमा बसेका। दुवै पर्यटकलाई लोभ्याउन खप्पिस। सामोनिक्समा केबुलकार, चिल्ला सडक र ठूला ठूला होटलहरू पनि छन्। हाम्रो स्याङ्मोचेन भर्खर कोपिला फक्रेको फूल बनेको छ बिचरा। स्याङ्मोचेन र सामोनिक्सलाई मित लगाइदिन पाए कति सुहाउँथ्यो होला सोचेँ मात्र भनिनँ कसैलाई। 

मान्छेहरू मान्छेसँग बढी रमाउने भएर होला त्यतातिर भने अलि नजिकको दूरीमा भेटिएका छन् गाउँहरू। विशाल पठारमा टुपुक्क टुपुक्क टाँसिए जस्ता छन् गाउँहरू। करु र गहुँ, भोटेपीपल र बैँसहरूले गाउँ हरिया भरिला देखिन्छन्। विशाल मरुभूमि बीचमा कत्रो संघर्षले जोगाए होलान् गाउँलेहरूले रूख बिरुवाहरू र कसरी उमारे होलान् अन्नदाना। गाउँलेहरूको जाँगर र कृषिकर्मप्रतिको लगावलाई हृदयदेखि नै प्रशंसा नगरी रहन सक्तैन कसैले पनि। आखिर, यो प्राण धान्न अरू केहीले हुँदैन एक मुठ्ठी अन्न र एक अञ्जुली पानी नै चाहिन्छ।

त्यतातिरका गाउँहरूलाई अग्ला ढुंगे पर्खालहरूले घेर्नु अनिवार्य जस्तै देखियो। साउदी अरेबियामा आफ्ना महिलाहरूलाई छिमेकीहरूले आँखा लगाउँलान् भनेर घरभन्दा अग्ला पर्खाल लगाएका प्रशस्त देखेथेँ मैले। मुस्ताङतिर भने बस्तुभाउबाट बालीनाली जोगाउन र निरन्तर बेजोडले बहिरहने निष्ठुरी हावाको वेग घर आँगनमा कम परोस् भन्ने अभिप्रायले गाउँलाई ढुंगे पर्खालले छेक्ने चलन रहेछ। ढुंगा नै ढुंगाको पर्खालले घेरिएका गाउँहरूको जिल्ला हो मुस्ताङ। छोर्तेन, चैत्य, लुङ्दर, बुद्धमन्त्रको बाहुल्य भएको प्रदेश हो मुस्ताङ। हिउँका दुःखहरूसँग जुधेर, हिउँभन्दा उज्यालो मन बोकेर, बाँच्ने मान्छेहरूको, थलो पनि हो मुस्ताङ।

उत्तरतिर दामोदर हिमशृंखलाहरूमा फनफनी बेरिँदै बिलाउँदै गरिरहेछ बादल। तलतिर बाक्लिएर बसेको छ घिलिङ गाउँ। अलिपर छुङ्कर गाउँ भेटियो। नाम मात्र गाउँवरिपरि अग्लाअग्ला लहरे पीपलका रूखजस्ता सुलुत्त परेका भोटेपीपलका रूखहरू बीचमा जम्माजम्मी तीन घर छन् छुङ्कर गाउँमा। ऐंचोपैंचो, भारोपर्म, रोगव्याध जे परे पनि तीनओटै घरले टार्नुपर्ने बाध्यता। १५ मिनेट गुडेपछि फेरि अर्को गाउँ फेला पर्‍यो झैते नामको। त्यहाँ त एउटा घर मात्र छ गाउँको नाममा। ‘एक घर एक गाउँ, हेर्नै परे लोमन्थाङ— मैले बनाइदिएको सूत्रले हँसायो केहीबेर साथीहरूलाई। 

दिउँसो डेढ बजेतिर घमी गाउँ पार गर्दैछौँ हामी। लोमन्थाङ पुग्नुअघिको निकै विशाल र भव्य गाउँ छ घमी। गाउँको माथितिर छुरो माटामा पहेँला पहाडहरू छन्। हिमधाराका घर्षणले होला रेखा, खोल्सा र अनेकौँ आकृतिहरू कुँदिएका छन् पहाडमा। पहाडकै काखमा आमाको खोकिलामा भर्खर ब्युँझेको बालक झैँ चहकिलो छ घमी गाउँ। गाउँका बीचबीचमा ठडिएका छोर्तेनहरूले बुद्धप्रेम झल्काउँदैछ। ‘यताका मान्छेहरू हरिया तरकारी केलाई खानु, मासु खाए पो बलियो हुन्छ भन्थे; सर, कुहिरेहरू आउन थालेपछि हरियोपरियो खाने र खुवाउनेमा निकै टाठा भएका छन्।’ गुरुजीले ग्लास हाउसको तरकारीलाई इंगित गर्नुभयो। 

मान्छे भेटेपछि मान्छेले राम्रा नराम्रा आनीबानी सिक्छ। राम्रा बानी सिक्नाले सुधारिन्छ मान्छेको जीवन गति। बायाँतिर अर्को सुन्दर ढाङ्मर गाउँ देखिन्छ। मान्छेको चहलपहल बाक्लै छ त्यहाँ। हिमाली गाउँहरूमा प्रायः घरबाहिर मान्छेको चहलपहल देखिँदैन। गाउँबाट ढ्याङ्ग्रो ठोकेको आवाज आइरहेछ। एक घर र अर्को घरमा दौडादौड छ। अलि पर सडक छेउमा एउटी युवती ढुंगामै टाउको ठोकेर अजारीबजारी गर्दै थिइन्। पाँच, सात जना मान्छेहरू उसलाई जोगाउन खोज्दै थिए। थाहा भयो ती युवतीका लोग्ने भीरबाट खसेछन् र जिन्दगीबाट पनि सदाका लागि खसेछन्। निर्लज्ज र नांगो हुन्छ मृत्यु। ऊ कसैको आग्रहलाई मान्दैन।

एउटा रमाइलो भन्ज्याङ नाघ्नेबित्तिकै चराङ नामको बस्ती देखियो। समरदेखि चराङ पुगुन्जेल सम्ममा अनेकौँ कन्दराहरू र ठाडा डाँडाहरू भेटेका थियौँ। चराङदेखि भने भूस्वरूप अलि बदलिएको थियो। फराकिला नांगा उपत्यका र नांगा भिराला पाखाहरूको खात देखिन थाल्यो। हिमनदीका गाढा धर्साहरू र हिमोटका झुन्ड झुन्डहरूले भूआकृति नै अनुपम कलापूर्ण बनिरहेथे। करिब ३६सय मिटर उचाइमा मानव बस्तीको आकार उभ्याएर बसिरहेछ चराङ।

एकातिर प्राचीन हिमनदीले बगाएर ल्याएको रोडाढुंगाको विशाल थुप्रो र अर्कातिर सुनौलो र रक्तिम पहाडको बीचमा आमाको काखमा बसेकी बालिका झैँ छिन् चराङ। मरुभूमि बीचको मरुद्यान हो चराङ। बस्तीभरि सल्बलाएका बैंसका रूखहरूले प्रदान गरिरहेछन् उत्साहका तरंगहरू। चराङनजिकै पाखामा थाकल काँडाहरू चपाउँदैछन् एक हूल घोडाहरू। त्यो दृश्यले अझ उत्साहित पार्छ। हाम्रो गाडी चराङ भन्ने गाउँमा रोकियो। राताम्य डाँडाहरूको फेदमै रहेछ चराङ गाउँ। सुक्खा बगरको बीचमा बगरकै चिप्ला ढुंगाहरू जोडेर बनाइएका छन् घरहरू। ‘दामोदर कुण्ड होटल’— छेउकै होटलको साइनबोर्डमा लेखिएको रहेछ। ‘दामोदर कुण्डसम्म जाने घोडा, पथप्रदर्शक सबै यहाँ पाइन्छ’— लेखिएको थियो त्यस बोर्डमा। होटलको आँगनमा दाह्री जुँगा पालेका, देख्दै मनीषीजस्ता एक जना बसिरहेका थिए। मान्छे भेटेपछि कुरा हुने भइहाल्यो।

‘दामोदर कुण्ड पुगेर फर्केको हुँ। यहाँबाट दुई दिनमा पुगिन्छ त्यहाँ।’ ‘कस्तो छ दामोदर कुण्ड ?’ ‘शुष्क संसार माझको मिठो सिर्जना। प्रकृतिले मिहिनेतसाथ तयार गरेको अति सुन्दर थलो। फूलहरू फुलिरहेछन्, औषधिहरू हुर्किरहेछन्, सूर्य, चन्द्र र वायु नै लोभिने हिमदृश्यहरू छन्। हिउँको उज्यालो छ, जोसुकैको पनि मनमा उज्यालो छर्ने तागत छ त्यसमा।’

संसार नै ढाकुँला झैँ डाँडाकाँडा ढाक्दै एक हूल कुहिरो झर्छ, दामोदर हिमालबाट। हाम्रो गाडी चराङबाट कुलेलम ठोक्छ लोमन्थाङतिर। सीधै उत्तरतिर हानिएको छ हाम्रो गति। त्यति अग्ला छैनन्। थुम्का नै थुम्काका थुङ्गा जस्ता छन् पहाडहरू। दिनभर गाडीमा दौडँदा पनि नाङ्गै उभिएकी छे धर्ति। के फरक छ नांगो धर्ति र आमाको नांगो शरीरमा। त्यो नांगोपनमा आशक्ति होइन आस्था जागेर आउँछ, प्रेम होइन, पूजा जागेर आउँछ।

‘भाइहरू कता हिँडेका ?’ ‘तिब्बतमा काम गर्न।’ ‘पासपोर्ट, भिसा र काम गर्ने ठाउँ थाहा छ ?’ ‘केही थाहा छैन। त्यो सबै भोलि आउने हाम्रो ठेकेदारलाई थाहा छ। काम, दाम र माम प्रशस्त पाइन्छ भनेको छ।’ ‘तिब्बतमा पासपोर्ट, भिसाबिना जानेलाई थुनिदिन्छ भन्छन्, समात्यो भने नि ?’ ‘त्यो त थाहा छैन, थुनिदियो भने थुनिउँला, खान त दिइहाल्ला, खान पाइयो भने अचानो बन्न पनि डर छैन।’ एउटा १८, २० बर्सेको बयान। आखिर जीवन धान्न जेल जीवन पनि सहज मान्दो रहेछ मान्छेले। भोकको अघिल्तिर सबथोकले हार्छ यो संसारमा। भोकाएको स्यालले कुहिएको मासु पनि छाड्दैन भनेको त्यही त हो नि ! भोकलाई नतिजा, प्रेमलाई जात, निद्रालाई ओछ्यान चाहिन्न भन्नुहुन्थ्यो हजुरबाले त्यो साँचो ठहरियो त्यहाँ।

१६ देखि २२ वर्षसम्मका सात दंगाली भाइहरू हामीसँगै बोलेरोमा सहयात्री बने दिनभर। मलेसिया, साउदी अरेबिया, कतार मात्र होइन तिब्बतमा पनि सीधासाधा नेपालीहरूलाई काम दिने निहुँमा फसाइने सञ्जाल फिँजिइसकेको रहेछ। अबोध युवाहरूको पलायनले देश झन्झन् जर्जर बन्दै गएको संकेत भेटिँदै थियो ती कलिला भाइहरूको अनुहारमा। एक भाइ बाटाको छेउमै लम्पसार लडिरहेछ, अर्को भाइ छेउमै रोइरहेछ। अन्दाजी २०, २२ जना स्थानीय मान्छेहरू सम्झाउँदैछन् बुझाउँदैछन्। लोमन्थाङ पुग्नै आँटेको बेला सडकमै छ एउटा भीड।

२६ दिनअगाडि एउटा दलालले काम लगाइदिन्छु भनेर तिब्बत पुर्‍याएछ उनीहरूलाई। दुवै जनासँग एक एक लाख ठगेछ। चीनको सिमाना प्रवेश गर्नेबित्तिकै उनीहरूलाई छलेर दलाल गायब। बिचराहरू रनभुल्ल परेछन्। चिनियाँ प्रहरीले समातेछ। थुनेछ। राहदानी मागेछ। उनीहरूसँग केही नभएपछि कुटपिट गर्दोरहेछ। एक दिन दुवै भागेछन् जेलबाट। भाषा बुझिँदैन। बाटो थाहा छैन। उनीहरू अँध्याराको जंघारमा झैँ हिँडेछन् खानु न खुट्नु भएर।

नेपाल पसेपछि बल्ल सन्तोषको श्वास फेरेछन् तर उचाइ र भोक सहन नसकेर एक भाइ ढलेछन्। अर्का भोकभोकै रुँदै रहेछन्। बेहोसमै लडिरहेकाको मुखमा ग्लुकोज हालिदिए एक दाइले। बिस्तारै उठे भाइ। अर्की आमैले दुई रोटी ल्याइदिनुभयो फापरका। कुपुकुपु खाए दुवैले। जे भए पनि आफ्नो देश भनेको आफ्नै हो। हिउँभन्दा सफा र हिउँभन्दा चहकिला मन भएका मान्छेहरू जतासुकै भेटिन्छन् हिमालमा। आफ्नैलाई झुक्याएर दलाली गर्ने, अपहरण गर्ने र बलात्कार गर्नेलाई किन कडा कानुनको कठघरामा हाल्न सकेका छैनौं हामीले। यो प्रश्न भने प्रबल बनिरह्यो। 

‘वेलकम टु लोमन्थाङ’ लेखेको स्वागत द्वारअघिल्तिर घ्याच्च रोकियो हाम्रो गाडी। भेडाहरूको थामी नसक्नु भीडले ओर्लनै गाह्रो पर्‍यो हामीलाई। गाडीबाट ओर्लंदा अनुहार विरूपको देखियो। झोलाको धुलो टकटक्याउँदा कुहिरीमण्डल बन्यो वरिपरि। ‘ए भाइ यहाँको राम्रो होटल कुन हो हँ ?’— गुरुजीलाई सोध्यौँ।

‘सबले मोनालिसा होटल भन्छन्, त्यतै जानुहोस् न’— गुरुजीको जवाफ। लगेज बोकेर लोमन्थाङ सहर छिर्‍यौँ हामी। लेक लागेर हो वा थकाइले अलि अलि टाउको दुख्ने र अलि अलि वाकवाक चल्ने क्रम सुरु भएको छ। चिसो सिरेटोको दबदबामा कमजोर भेटिएका छन् घामका किरणहरू। नांगो घाम र नांगो सिरेटाको युद्ध अझै रोकिने छाँट छैन। लोमन्थाङवासीहरूको बख्खुको बगलीभित्र लुक्न खोज्दैछ घाम।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.