अमेरिकामा आतंकवादी आक्रमणपछि कसरी बदलियो संसार ?

अमेरिकामा आतंकवादी आक्रमणपछि कसरी बदलियो संसार ?

अस्मिता खड्का

काठमाडौँ: सन् २००१ सेप्टेम्बर ११ मा आक्रमणकारीहरुले अमेरिकी यात्रुबाहक विमानलाई नियन्त्रणमा लिए । संयुक्त राज्य अमेरिकाको पूर्वी भागमा उडिरहेका विमान एकपछि अर्को गर्दै अपहरणमा परे ।

विमान अपहरणमा पारेर आक्रमणकारीहरुले न्यूयोकर्कको ट्वीन टावर (दुई गगनचुम्बी भवन–वर्ल्ड ट्रेड सेन्टर)मा ठोकिदिए । दुईवटा विमानमार्फत अपहरणकारीहरुले सुरुमा स्थानीय समयअनुसार बिहान ८ बजेर ४६ मिनेटमा नर्थ टावरमा आक्रमण गरेका थिए भने दोस्रो विमान स्थानीय समयअनुसार बिहान ९ बजेर ३ मिनेटमा साउथ टावरमा आक्रमण गरेका थिए ।

सन् १९६० र ७० को दशकमा निर्माण भएका ट्वीन टावर करिब १ घण्टा २ मिनेटको अन्तरालमै धुवाँको मुस्लोमा परिणत भए । उक्त आक्रमणमा हजारौँ मानिसले ज्यान गुमाए ।

९/११ वा सेप्टेम्बर ११ ले परिचित उक्त घटना अमेरिकीहरुलाई लागि मात्र नभई समग्र विश्वका लागि शताब्दीको दर्दनाक घटना बन्यो । अपहरणकारीहरुले सो विमान प्रयोग गरी अमेरिकी संसद भवनमा आक्रमण गर्ने लक्ष्य राखेको आशंका विश्लेषकहरुले गरे ।

हजारौँको ज्यान गुम्यो

सेप्टेम्बर ११ को घटनामा विमान अपहरणकारी सहित ३ हजारभन्दा बढीले ज्यान गुमाए । जसमध्ये करिब ४ सय प्रहरीले ज्यान गुमाएका थिए भने करिब ६ सय अग्नी नियन्त्रकले ज्यान गुमाएका थिए ।

अपहरणमा परेका चारवटै विमानमा सवार सबै यात्रुहरुको घटनास्थलमै मृत्यु भएको थियो । न्यूयोर्कस्थित स्वास्थ्य विभागका अनुसार उक्त हमलापछि देखिएको स्वास्थ्य जटिलताका कारण प्रहरी र उद्धारकर्मीसहित करिब १ हजार मानिसको मृत्यु भएको थियो ।

ट्वीन टावर हमलापछिको हताहतमा मारिनेमा करिब ७० भन्दा धेरै देशका मानिस थिए । पहिलो विमानमार्फत आक्रमण गर्दा नर्थ टावरमा १७ हजारभन्दा बढी मानिसहरु रहेको र तीमध्ये कोही पनि जीवित नरहेको बताइएको थियो । प्रहरीले टावरको भग्नावशेषबाट १८ को जीवितै उद्धार गरेको थियो । हमलामा हजारौँ मानिस घाइते भएका थिए । हमलापछि अमेरिकाका हजारौँ सैनिक र नागरिकहरुको काम गर्ने समय तालिकामा बदलाव आयो ।

बीमा कम्पनीलाई नोक्सान

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको आतंककारी हमलामा अमेरिकाले आफ्ना निर्दोष नागरिक र विभिन्न सेवादेही कर्मचारीलाई क्षणभरमै गुमायो । तर अमेरिकी बीमा उद्योगको लागि भने सो नोक्सान सावित बन्यो ।

इन्सुरेन्स इन्फर्मेसन इन्स्टिच्युटको एक रिपोर्टअनुसार मानवनिर्मित मानिएको उक्त विनाशकारी हमलामा २५ बिलियन डलरको इन्सुरेन्सको क्षति भएको छ । मानवनिर्मित घटनामध्ये संसारको सबैभन्दा महंगो बीमा तिर्नेमा सेप्टेम्बर ११ मानिन्छ ।

को थिए आक्रमणकारी

उक्त आक्रमणको मुख्य योजनाकार इस्लामिक संगठन अल कायदा समूह रहेको निश्कर्ष अमेरिकाले निकालेको थियो । ओसामा विन लादेन नेतृत्वको अलकायदाले अफगानिस्तानबाट योजना बुनेको अमेरिकी बुझाइ थियो ।

उक्त घटनाको एक महिनापछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले अन्तर्राष्ट्रिय गठबन्धनको सहयोग माग्दै अल कायदा संगठन उन्मुलनको घोषणा गरेका थिए । लगत्तै ओसामा विन लादेनको खोजी र अलकायदाको उन्मुलनमा अमेरिकाले अफगानिस्तानमा आफ्नो सेना खटाएको थियो ।

पछि २०११ मा अमेरिकी सेनाले ओसामा विन लादेनलाई पाकिस्तानमा हत्या गरेको थियो भने हमलाका मुख्य योजनाकार खालिद शेख महम्मद भने अझै पनि अमेरिकी हिरासतमा छन् ।

२० वर्षपछि संसार कसरी परिवर्तन भयो ?

सेप्टेम्बर ११ मा मरेकाहरुको सम्झनामा शनिबार अमेरिकाले २० औं स्मृति दिवस मनाउँदै छ । अमेरिकाका विभिन्न स्थानमा स्मृति कार्यक्रम आयोजना गरिएको छ । विभिन्न स्थानीय सञ्चारमाध्यमले लाइभ सेवा प्रशारण गरेका छन् । स्मृति दिवसको अवसरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले सो हमलामा परी मृत्यु हुनेहरुलाई सम्झिँदै सलामी दिए ।

शनिबार साँझ राष्ट्रपति बाइडेन र पूर्व राष्ट्रपति बाराक ओबामा आक्रमण भएको घटनास्थल पुग्नेछन् । आतंककारीविरुद्ध अफगानिस्तानमा युद्धको थालनी गर्ने तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुसले पनि घटनामा मारिएका क्रु मेम्बरसहित हजारौँ मानिस र त्यसपछिको युद्धमा मारिएका सैनिकहरुको सम्झना गर्दैछन् । साथै पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि स्मृति सभामा उपस्थित हुँदैछन्।

उक्त घटनाको २० औं स्मृति दिवसलाई विशेष मानिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सेप्टेम्बर ११ को घटनालाई एकपटक पुन स्मरण गर्दै विशेष कभरेज गरेका छन् । विशेष सम्पादकीय र विश्लेषण प्रकाशित गरेका छन् । 
सो घटनाको विगत दुई दशक अर्थात् २० वर्षपछि संसार कसरी परिवर्तन भयो त ? घटनापछि अमेरिकाले कसरी बदला लियो ?

सेप्टेम्बर ११ को बदलामा अमेरिकाले विश्वव्यापी रुपमा ‘आतंकवादविरुद्ध युद्ध’ सुरु गर्‍यो । आफ्नो मिसन प्राप्तीका लागि अमेरिकाले विभिन्न स्तरमा काम गर्‍यो । ‘आतंकविरुद्धको हाम्रो युद्ध अल कायदाबाट सुरु भए पनि यसैमा अन्त्य हुने छैन’ उक्त हमलापछि सेप्टेम्बर २० मा अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसले भनेका थिए, ‘संसारका हरेक आतंकवादी समूहको अन्त्यविना यो युद्ध रोकिनेवाला छैन ।’

सेप्टेम्बर ११ अर्थात् बदलामा अमेरिकाले सुरु गरेको युद्धको नयाँ अध्याय । सेप्टेम्बर ११ पछि अमेरिकाले अफगानिस्तान र इराकमा मात्र युद्धको सुरुवात गरेन ‘आतंकवादविरुद्ध विश्वयुद्ध’नै सुरु गर्‍यो । चाहे युद्धबाट कम क्षति पुग्ने पूर्वाधार विकास होस्, प्रविधि विकास होस् या आतंकवादविरुद्ध अमेरिकाले हरेक क्षेत्रमा युद्धस्तरमा काम थाल्यो ।

अलजजिराको लागि हमिद दावशीले लेखेका छन्, ‘तथाकथित आतंकवादविरुद्धको युद्धले द्रुत र हिंसात्मक गति लियो । ट्वीन टावर हमलापछि अमेरिकाले हिंसात्मक रुपमा बदला लियो । ९/११ मा अमेरिकाले के त्रास र दुख भोगेका थिए र ? त्योभन्दा बढी दुख र त्रासमा अफगान र इराकी नागरिकहरु बाँचिरहेका छन् । उक्त घटनापछि अमेरिकाले जे जस्तो कदम चाल्यो त्यसले केवल शुन्यता हात पार्‍यो ।’

अमेरिकी इतिहासमा हालसम्मकै सबैभन्दा लामो युद्ध हो, अफगानिस्तान युद्ध । २० वर्षे अवधिमा ६९ हजार अफगान सुरक्षा बल र करिब ५१ हजार अफगान नागरिक मारिए । अमेरिकी नेतृत्वको इराकमा पनि १० हजारभन्दा बढी नागरिक मारिए भने अमेरिकाको खर्बौँ डलर युद्धमा खर्च भयो । सो अवधिमा हजारौँ अमेरिकी सेनाले ज्यान गुमाए ।

अमेरिकले शक्तीमार्फत अलकायदाको अस्तित्व समाप्त गर्न सक्ला अथवा कमजोर बनाउन सक्ला तर अलकायदा जस्तै विचारधारा बोकेका अफ्रिका, मध्यपूर्वी मुलुक र एसियामा छरिएर रहेका समूहहरुको अमेरिकाले के गर्छ ? अलजजिराकै लागि स्तम्भकार क्रिस मुडीले लेखेका छन्, ‘अल कायदासँग विचारधारा मिल्ने विभिन्न संगठनहरु अहिले अफगानिस्तान, मध्यपूर्वी मुलुकमा मात्र सिमित छैनन् । ती संगठन यतिबेला संसारको विभिन्न भूगोलमा छरिएर बसेका छन् । जुन अमेरिकी लडाकुको आगामी दिनमा झनै चुनौतीपूर्ण बन्दै जानेछ ।’

उक्त घटनाले संसारमा पूर्वाधार, आर्थिक, सुरक्षा निकाय आदि क्षेत्रमा उथलपुथल मच्चायो, विशेषगरी शक्ति राष्ट्रबीच । उक्त घटनापछि अमेरिकाले खर्बौँ डलर युद्धमा खर्च गर्‍यो । यता संसारकै शक्तिशाली मुलुक चीनको नाम पनि उक्त घटनामा जोडियो, आर्थिक रुपमा ।

आतंकवाद विरुद्धको अमेरिकी युद्धले चीनलाई तिब्र उदय हुने अवसर प्राप्त भयो । यद्यपि यो बुझाइको खण्डन गर्दे चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले सम्पादकीय मार्फत भनेको छ, ‘अमेरिकाको मुख्य उद्देश्य चीनको उदय गर्नु नभई आतंकारीहरुको विनाश गर्नु थियो । त्यसैले यता चीनको उदय हुनु र उता अफगानिस्तानमा अमेरिकाले २० वर्ष लामो युद्धको कुनै सम्बन्ध छैन । अमेरिकाको कारण चीनको उदय भयो भन्ने बुझ्नु संसारको भ्रम हो । चीनको उदय हुनुमा अन्य विभिन्न कारक तत्वहरु छन् । चीनको अर्थतन्त्र सुदृढ बन्नुमा र चिनियाँ नागरिकको जीवन समृद्ध बन्नुमा आन्तरिक कारक तत्वहरु छन् ।’

यद्यपि, ग्लोबल टाइम्सले सेप्टेम्बर ११ को घटनालाई दर्दनाक घटनाको रुपमा व्याख्या गरेको छ । उक्त घटना भएको दुई दशकपछि अमेरिकाले पनि चीनसँग आफ्नो सम्बन्ध सुधार्नमा इच्छुक रहेको उल्लेख गरेको छ ।

सेप्टेम्बर ११ पछि अमेरिकाले सिख, मुस्लिम, पश्चिम एसिया र दक्षिण एसियाली समुदायका मानिसलाई घृणा गर्न थालेको र विशेषगरी मुस्लिम र शिखविरुद्ध जातीय हिंसाका विभिन्न घटनाहरु बढाएको आलोचकहरु बताउँछन् ।

(एजेन्सीहरुको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.