जोकोभिचको लक्ष्य
न्युयोर्क : विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिच अमेरिकी (यूएस) ओपन टेनिसको फाइनलमा पुगेका छन्। २१औं ग्रान्डस्लाम उपाधिको अभियानमा रहेका सर्बियन स्टार जोकोभिचले अलेक्जेन्डर जुरेभलाई पाँच सेटको भिडन्तमा पाखा लगाउँदै फाइनलमा स्थान बनाएका हुन्।
जोकोभिचले शनिबार बिहान भएको सेमिफाइनलमा जर्मन खेलाडी जुरेभसँग पाँच सेटसम्म संघर्ष गर्दै उपाधि नजिक पुगेका हुन्। निकै प्रतिस्पर्धात्मक खेलमा जोकोभिचले ४–६, ६–२, ६–४, ४–६, ६–२ को जित निकालेका थिए। पहिलो सेट गुमाएका जोकोभिचले त्यसपछि दुई सेट सहज रुपमा जिते पनि चौथो सेटमा भने पराजय बेहोरेका थिए। अन्तिम तथा पाँचौं सेटमा उत्कृष्ट पुनरागमन गर्दै उनी उपाधि नजिक पुगेका हुन्।
सोमबार बिहान हुने फाइनलमा जोकोभिचले दोस्रो वरीयताका ड्यानिल मेडभेडेभसँग प्रतिस्पर्धा गर्नेछन्। सोमबार बिहान मेडभेडेभलाई पराजित गरेमा जोकोभिच सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने खेलाडी बन्ने छन्।
जोकोभिचले सन् २०२१ मा मात्रै तीन ग्रान्डस्लामको उपाधि जितिसकेका छन्। उनले अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डनको उपाधि जितिसकेका छन्। जोकोभिचले यही वर्ष बेलग्रेड ओपनको उपाधि पनि उनैले जितेका थिए।
उनी वर्षका चार वटै ग्रान्डस्लाम जित्ने ५२ वर्ष पुरानो इतिहासलाई पुनर्लेखन गर्ने अभियानमा पनि छन्। सन् १९६९ मा अस्ट्रेलियाका रड लाभरले वर्षका चार वटै ग्रान्डस्लाम जित्नै कीर्तिमान बनाएका थिए।