भारतमा कोरोनाबाट मृत्यु हुनेहरुको लागि नयाँ प्रावधान
नयाँदिल्ली: भारतको सर्वोच्च अदालतले कोरोनाका कारण मृत्यु हुनेहरुको मृत्यु प्रमाणपत्रको लागि नयाँ प्रावधान जारी गरेको छ ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) र स्वास्थ्य मन्त्रालयसँगको संयुक्त सहकार्यमा कोभिड १९ मृत्यु प्रमाणपत्रको लागि अदालतले नयाँ प्रावधान जारी गरेको हो ।
कोरोनासँग सम्बन्धित मृत्युको लागि अब भारतमा नयाँ निर्देशनअनुसार आधिकारीक रुपमा मृत्यु प्रमाणपत्र दिइने सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्च अदालतद्वारा जारी नयाँ निर्देशनअनुसार पीसीआर परीक्षण, मोलिक्युल परीक्षण, र्यापिड एन्टिजेन परीक्षणको क्रममा कोरोना पोजिटिभ देखिएका व्यक्तिको ३० दिनभित्र मृत्यु भएमा नीजको मृत्युको कारण कोरोना संक्रमण मानिने छ ।
सोही आधारमा कोरोनाको मृत्यु प्रमाण पत्र दिइनेछ । तर यदी कुनै पनि संक्रमितको आत्महत्या वा हत्या, दुर्घटनाजस्ता कारणबाट मृत्यु भएमा नीजको मृत्युको कारण कोरोनासँग सम्बन्धित मृत्यु मानिने छैन । यसरी संक्रमित हुँदाहुँदै अन्य कारणबाट मृत्यु भएका व्यक्तिलाई कोरोनाको मृत्यु प्रमाणपत्र उपलब्ध नगराई केवल मृत्यु प्रमाणपत्रमा मात्र उपलब्ध गराइने समेत नयाँ निर्देशनमा उल्लेख गरिएको छ ।