अफगान महिलाले शर्तसहित पढ्न पाउने तालिबानको घोषणा, चिनियाँ र रुसी गुप्तचरबीच गोप्य भेट

अफगान महिलाले शर्तसहित पढ्न पाउने तालिबानको घोषणा, चिनियाँ र रुसी गुप्तचरबीच गोप्य भेट

महिलाले विश्वविद्यालयमा अध्ययन गर्न पाउनेः तालिवान

काबुल: अफगानिस्तानको तालिबान सरकारले आइतबार महिला शिक्षा सम्बन्धी नयाँ नियम जारी गरेको छ । तालिबान सरकारले विभिन्न शर्त सहित अफगानिस्तानका महिलाले उच्च शिक्षा हासिल गर्न पाउने अनुमती जारी गरेको हो । तालिबानका शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले महिलाले शर्तसहित उच्च शिक्षासम्मको अध्ययनलाई निरन्तरता दिन पाउने बताएका छन् ।

‘महिला शिक्षाको लागि नयाँ शर्त र नीति जारी गरिएको छ’ आइतबारको प्रेस सम्मेलनमा हक्कानीले भनेका छन्, ‘महिलालाई पनि विश्वविद्यालयसम्मको पढाइ गर्ने अनुमती दिइएको छ । तर महिला र पुरुषले एउटै कक्षाकोठामा भने पढ्न पाउने छैनन् । साथै अध्ययनका लागि आउने महिलाले अनिवार्य रुपमा हिजाव लगाउनु पर्नेछ ।’

विश्वविद्यालयमा अध्ययन हुने पाठ्य सामग्रीको चाँडै समीक्षा गरिने तालिबान सरकारले जनाएको छ । यसअघि तालिबानले कला र संगीत अध्ययनमा प्रतिबन्ध लगाउने बताउँदै आएको थियो ।
०००
पाकिस्तानी गुप्तचर एजेन्सीको आयोजनामा चीन र रुसी गुप्तचरहरुको भेट

इस्लामाबाद: पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआईको आयोजनामा विभिन्न मुलुकका गुप्तचर प्रमुखबीच भेटवार्ता भएको छ । आइएसआईद्वारा आयोजित उक्त भेट कार्यक्रममा चीन, रुस, इरान र अन्य मध्य एसियाका गुप्तचर प्रमुखबीच भेटवार्ता भएको पाकिस्तानी मिडियाले जनाएका छन् ।

यद्यपि, उनीहरुबबीचको भेटबारे आधिकारिक सूचना जारी नभए पनि अफगानिस्तानको अवस्थाबारे छलफल गरिएको पाकिस्तानी मिडियाले जनाएको छ ।

डन न्युजका अनुसार गुप्तरचर प्रमुखबीच शनिबार राति भेटवार्ता भएको थियो । उक्त भेटमा रुस, चीन, ईरान र अन्य मध्य एसियन मुलुकका गुप्तचर प्रमुखको उपस्थिति रहेको थियो । ‘पाकिस्तानले यस्तोखाले भेट आयोजना गर्नुले अफगानिस्तानमा शान्ति चाहेको भन्ने बुझिन्छ’ उच्चस्तरीय स्रोतले भनेको छ ।
०००

चीनले बनायो देशकै पहिलो रेडियोएक्टिभ फोहोर डिस्पोजल उपकरण

बेइजिङ: चीनले मुलुकको पहिलो पटक फोहोरमैला डिस्पोजल गर्ने उच्चस्तरीय रेडियोएक्टिभ उपकरण निर्माण गरेको छ । चीनले पहिलो पटक आणविक उद्योगबाट निस्कने तरल फोहोरलाई उचित तरिकाले डिस्पोजल गर्ने उपकरण बनाएको हो ।

चीनको सिचुआन प्रान्तस्थित गुनग्याउनमा उक्त उपकरण आइतबार आधिकारिक रुपमा जडान गरिएको छ । यस्ताखाले प्रविधिको विकास र उपयोग गर्ने चीन संसारको एकाध मुलुकमा पर्ने ग्लोबल टाइम्सले जनाएको छ ।

यस प्रविधिले आणविक फोहोरलाई उचित तरिकाले डिस्पोजल गर्ने र भविष्यमा हुने वातावरणीय मानव स्वास्थ्य जोखिमलाई न्यूनिकरण गर्ने विश्वास चिनियाँ विज्ञहरुले गरेका छन् ।

चीनले आणविक उद्योग सञ्चालन गरेपछि आफूले बनाएको सबैभन्दा ठूलो र उत्कृष्ट परियोजनाको रुपमा लिएको छ । यस्तोखाले प्रविधि अमेरिका, फ्रान्स, जर्मनी र अन्य केही मुलुकले मात्र प्रयोगमा ल्याएका छन् ।

सन् २००४ मा चाइना एटोमिक ईनर्जी आयोगले सो परियोजना विकास गर्न स्वीकृती दिएको थियो भने चीन र जर्मनको संयुक्त डिजाइनमा सो परियोजना अघि बढेको थियो ।
०००
परमाणु निगरानी क्यामेरा राख्न ईरानको अनुमती

तेहरानः परमाणु प्रतिष्ठानमा निगरानीको लागि क्यामेरा राख्न ईरानले अनुमती दिएको छ । ईरानले आफ्नो परमाणु प्रतिष्ठानको निगरानीका लागि परमाणु हात हतियारसम्बन्धी संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय संवेदनशील निकाय इन्टरनेसनल अटोमिक ईनर्जी एजेन्सी (आइएईए)लाई नयाँ मेमोरी कार्डसहितको क्यामेरा राख्न अनुमती दिएको हो । 

आइएईएका प्रमुख राफेल ग्रोसी र आइएईए ईरानका प्रमुख मोहम्मद इस्लामीबीच आइतबार भेटवार्ता भएको थियो । सो भेटमा सन् २०१५ को परमाणु सम्झौतामा पनि आइएईए ईरानका इस्लामीले आइतबार हस्ताक्षर गरेको अलजजिराले जनाएको छ ।

सो सम्झौतापछि आइएईए प्रमुख ग्रोसीले निरन्तर ईराकको राजधानी तेहरानको भ्रमण गर्न पाउने बताइएको छ । यसअघि ईरानले आफ्नो परमाणु निगरानीमा कुनै पनि निकायलाई अनुमती दिएको थिएन ।
०००
रुसी आक्रमणमा दुई युक्रेनी सैनिकको मारिए

मस्को: युक्रेनको पूर्वी क्षेत्रमा प्रो रसियनले गरेको आक्रमणमा दुई युक्रेनी सैनिक मारिएका छन् भने अन्य १० घाइते भएका छन् । युक्रेनी सैनिक र प्रो रसियन समूहबीच विगत २४ घण्टामा भएको दोहोरो भीडन्तमा परी दुई सैनिक मारिएको र १० घाइते भएको आइतबार युक्रेन सेनाले बताएको छ ।

‘युक्रेनको डोनेस्ट्क क्षेत्रमा विगत २४ घण्टामा प्रो रसियन र विरोधी समूहबीच दोहोरो लडाईँ भएको थियो’ युक्रेन सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘दुश्मनहरुले गरेको आक्रमणमा पनि हाम्रा दुई सैनिक मारिएका छन् भने १० सैनिक घाइते भएका छन् । यद्यपि स्थानीयहरुमा भने कुनै असर पुगेको छैन ।’

सन् २०१४ फेब्रुअरीदेखि प्रो रसियन र सरकार विरोधी समूहले युक्रेनको दक्षिणी र पूर्वी क्षेत्र डोनेस्ट्क र लुगान्स्क क्षेत्रमा युक्रेनले आफ्ना सैनिक खटाएको छ । सन् २०१४ मा रुसले क्रिमियन प्रायद्धिप कब्जा गरेपछि सो समूहबीच युद्ध भड्किएको थियो ।

त्यसयता विद्रोही समूहको हमलामा ५२ युक्रेनी सैनिक मारिएको युक्रेनले जनाएको छ । सरकारविरोधी समूहलाई हतियार र सैनिक उपलब्ध गराउनुमा रुस दोषी रहेको आरोप युक्रेन र युक्रेन समर्थकहरुले लगाएका छन् ।
०००
पाकिस्तानमा चट्याङका कारण तीन परिवारका १४ को मृत्यु

पेशावरः पाकिस्तानको पख्तुनख्वा प्रान्तमा अवस्थित एक गाउँमा चट्याङका कारण तीन परिवारका १४ को मृत्यु भएको छ । मेघ गर्जनसहित चट्याङ पर्दा एकै गाउँका तीन घरमा चट्याङ लागेको थियो ।

चट्याङका कारण आइतबार बिहान महिला र बालबालिकासहित तीनै घरका १४ को मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । चट्याङका कारण माटोबाट बनेका घरहरुमा पूर्ण रुपमा क्षति पुगेको बताइएको छ । पख्तुनख्वा पाकिस्तानको पहाडी क्षेत्र हो । वर्षातको समयमा सो क्षेत्रमा पहिरो, बाढी र चट्याङको चपेटामा पर्ने गर्छ । 
०००
१८ वर्षीया एम्माले जितिन् युएस ओपन टेनिस

लण्डन: बेलायतकी एक किशोरी अमेरिकाको खुला टेनिस प्रतियोगिताो विजेता बनेकी छन् । १८ वर्षीया किशोरी एम्मा राडुकानु अमेरिकामा आयोजित युएस ओपन टेनिस अन्तर्गत ‘ग्रान्ड स्ल्याम’को विजेता बनेकी हुन् ।

४४ वर्ष लामो कीर्तीमानी तोड्दै उनले सो उपाधी हात पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । १९ वर्षीया लेला फर्नान्डिजलाई ६–४, ६–३ ले हराउँदै एम्माले सो उपाधी जितेकी हुन् ।

४४ वर्षअघि ब्रिटेनका लागि ग्रान्ड स्ल्यामको उपाधी भर्जिनिया वेडले जितेकी थिइन् । सो उपाधीसँगै राडुकानुले पुरस्कार स्वरुप १८ लाख अमेरिकी डलर पाएकी छन् । साथै उनी टेनिस खेलमा ब्रिटेनको पहिलो वरियतामा परेकी छन् भने विश्वको २३ औं वरियताको सूचीमा पर्न सफल भएकी छन् ।
०००
बंगलादेशमा १८ महिनापछि विद्यालय खुले

ढाकाः कोरोना महामारीका कारण बन्द भएका बंगलादेशका विद्यालय १८ महिनापछि खुलेका छन् । विश्वमा महामारी भित्रिएदेखि बन्द भएका बंगलादेशका विद्यालयहरु आइतबारदेखि भौतिक रुपमा सञ्चालनमा आएका हुन् ।

कोभिडका कारण लामो समयसम्म विद्यालय बन्द हुँदा बंगलादेशसहित दक्षिण एसियाका लाखौँ बालबालिकाको पढाइमा असर पुगेको भन्दै युनिसेफले चेतावनी दिएको थियो । युनिसेफको चेतावनी र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मादण्डअनुसार बंगालदेशका विद्यालयहरु पुन: सञ्चालमा ल्याएको बताइएको छ ।

बंगलादेशको राजधानी ढाकामा फूलको गुच्चा र चकलेटले बालबालिकालाई विद्यालयमा स्वागत गरेको बताइएको छ । लामो समयपछि विद्यालय पुगेका बालबालिकाहरुलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ ।

बंगलादेशको टेलिकम सेवाका अनुसार मुलुकमा केबल ४१ प्रतिशत मानिसहरु मात्र स्मार्ट फोन र इन्टरनेटको पहुँचमा छन् । इन्टरनेटको पहुँच बाहिरका लाखौँ विद्यार्थीहरुको पढाइ १८ महिनादेखि प्रभावित बन्दै आएको थियो । 
०००
दक्षिण चीनमा कोरानाको प्रकोप, यातायात र अन्य सेवा बन्द

बेइजिङः दक्षिण चीनमा कोरोना संक्रमण पुन: फैलिएको छ । कोरोना संक्रमण उच्च रहेको भन्दै पुतियन शहरमा यातायात, सिनेमा हल लगायत विभिन्न सार्बजनिक सेवा बन्द गरिएको छ ।

साङघाईदेखि दक्षिण क्षेत्रमा रहेको पुतियन शहरमा २९ लाख जनसंख्या रहेको छ । उक्त शहरबाट बाहिर जाने यात्रुले कोरोना मापदण्ड अपनाउनु पर्ने गरी निर्देशन जारी गरिएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पुतियन शहरमा पछिल्लो २४ घण्टामा डेल्टा भेरियन्टका १९ संक्रमित फेला परेका छन् । चीनको स्वास्थ्य आयोगले आइतबार कोरोना नियन्त्रणको लागि विशेषज्ञ टोलीलाई सो क्षेत्रमा खटाएको छ । चीनको वुहानबाट सुरु भएको कोरोना कहर हाल पनि संसारका विभिन्न मुलुकमा विकराल रुप लिइरहेको छ । यद्यपि, चीनले २०२० मै आफूलाई कोरोना भाइरस मुक्त मुलुक घोषणा गरेको थियो । चीनका विभिन्न प्रान्तमा डेल्टा भाइरस देखा परेको थियो ।

संयोजन: अस्मिता खड्का


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.