राडुकानुको उदय

न्युयोर्क : महिला एकल टेनिसको ग्रान्डस्लाम जित्ने बेलायतको ४४ वर्षको प्रतिक्षा समाप्त भएको छ। आइतबार बिहान १८ वर्षीया किशोरी इम्मा राडुकानुले अमेरिकी (यूएस) ओपनको उपाधि जित्दै बेलायतको करिब साढे चार दशक लामो प्रतिक्षा अन्त्य गरेकी हुन्।
आइतबार बिहान भएको फाइनलमा क्यानडाकी १९ वर्षीया लेयला फर्नान्डेजलाई ६–४, ६–३, को सोझो सेटमा पराजित गर्दै राडुकानुले बेलायतको लामो खडेरी तोडेकी हुन्। सन् १९७७ मा भर्जिनिया वेडले विम्बल्डन जितेपछि बेलायतका कुनै पनि महिला खेलाडीले ग्रान्डस्लामको उपाधि जित्न सकेका थिएनन्।
छनोट खेलाडीका रुपमा यूएस ओपनमा प्रवेश पाएकी राडुकानु ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी समेत बनिन्। सन् २००४ पछि ग्रान्डस्लाम जित्ने राडुकानु सबैभन्दा कान्छी खेलाडी पनि हुन्। सन् २००४ मा रुसी टेनिस सुन्दरी मारिया सारापोभाले विम्बल्डन जित्दै ग्रान्डस्लाम जित्ने सबैभन्दा कान्छी खेलाडीको कीर्तिमान बनाएकी थिइन्। यसैगरी राडुकानुले कुनै पनि सेट नगुमाई यूएस ओपनको उपाधि जितेकी हुन्। सन् २०१४ मा अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले एउटै सेट नगुमाई उपाधि उचालेकी थिइन्। यूएस ओपनको उपाधि जितेसँगै राडुकानु बेलायतको नम्बर एक खेलाडी बन्न सफल भइन्। ‘यहाँ भर्जिनिया वेड र टिम हेनम्यानको उपस्थितिले अर्थ राख्दछ’, राडुकानुले खेलपछि भनिन्, ‘उनीहरू बेलायतका आइकन हुन्। उनीहरूकै पाइला पछ्याउँदा मैले पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास पाएँ।’
राडुकानुको जन्म पनि क्यानडामै भएको हो। उनको परिवार रोमानियाको बुकारेष्टबाट क्यानडा पुगेको थियो। उनी दुई वर्षको मात्रै हुँदा उनको परिवार बेलायत बसाइँ सरेको थियो। उनीसँग अहिले पनि क्यानडा र बेलायतको नागरिकता छ। राडुकानु रोमानियाकै पूर्व विश्व नम्बर एक सिमोना हालेपको खेलबाट प्रभावित भएर टेनिसमा होमिएकी हुन्। उनले पाँच वर्षको उमेरदेखि टेनिस खेल्न थालेकी हुन्।
प्रतिक्रिया दिनुहोस !
