गोर्खाज फाइनान्सको बदमासी, जबरजस्ती खोलाको जग्गा किन्न दबाब
विराटनगर : गोर्खाज फाइनान्सले व्यक्तिले निक्षेप राखेको रकम रोक्का गरेर खोलामा परेको जग्गा किन्न दबाब दिने गरेको पाइएको छ।
विराटनगरको महालक्ष्मी नारायण रियलस्टेट प्रालिका प्रमुख आनन्दमोहन झाले फाइनान्सको इटहरी शाखामा निक्षेप राखेको ५१ लाख रुपैयाँ ८ महिनादेखि जबर्जस्ती रोकेर खोलामा परेको जग्गा किन्न दबाब दिने गरेको गुनासो गरे।
झाले फाइनान्समा धितो राखेको अर्को व्यक्तिको जग्गा खरिद गर्ने प्रक्रिया अघि बढाउँदा गोर्खाज फाइनान्सले डिपोजिट माग गरेको र सोहीबमोजिम फाइनान्समा खाता खोलेर रकम जम्मा गरी रोक्का गरी राखेका थिए।
फाइनान्सले भने जग्गाधनी इटहरीका सुवास दुलालको नाम रहेको १५ कट्ठा जग्गा खरिद गर्ने भए बालिका दुलालको नामको खोलाभित्रको १ कट्ठा ७ घुर जग्गासमेत किन्नुपर्ने सर्त तेस्र्याएर आठ महिनादेखि अलमल्याएको पीडित झाले बताए।
उनले इटहरी उपमहानगरपालिका–१२ पकलीस्थित सुवास दुलालको नाममा रहेको १५ कट्ठा जग्गा खरिदका लागि जग्गाधनी दुलालसँग सहमति गरेका थिए। गोर्खाज फाइनान्समै धितोमा रहेको उक्त जग्गा खरिद गर्नका लागि दुलालकै नाममा रहेको अर्को कित्ताको १ कट्ठा ७ धुर जग्गासमेत खरिद गर्नुपर्ने भन्दै फाइनान्सले पछि सर्त तेस्र्याएको झाले गुनासो गरे। झाले भने– ‘फाइनान्सले खोलाभित्रको जग्गा योजनाबद्ध तरिकाले भिडाउने षड्यन्त्रमा लागेको छ।’
‘फाइनान्सले सुवासको १५ कट्ठा र डिल्ली सुवेदीको १८ कट्ठा जग्गा किन्नुहुन्छ भने हाम्रोमा खाता खोलेर पैसा राख्न भनेको थियो, मैले सोहीअनुसार ५१ लाख रुपैयाँ बैनास्वरूप बैंकमा खाता खोलेर राखें’ पीडित झाले भने, ‘तर फाइनान्सकै मिलेमतोमा १५ कट्ठा जग्गा नसोधी बेचिएपछि खोलाभित्रको जग्गा मलाई किन्न दबाब दिइएको छ।’
पीडित झाले २०७७ पुस २ गते गोर्खाज फाइनान्सको इटहरी शाखामा खाता खोल्ने र रकम जम्मा गर्ने भन्दै कम्पनीको नामबाट माइन्युट गरेका थिए। उनले फाइनान्सको विश्वासमा परेर ५१ लाख रुपैयाँ जम्मा गरेको बताउँछन्। उक्त रकम रोक्का राखिदिने निर्णयसँगै डिल्लीप्रसाद सुवेदीको कित्ता नं. ७९४ र ७९६ को क्षेत्रफल १८ कट्ठा, सुवास दुलालको पकलीस्थित कित्ता नं. ७९३ र ७९५ को १५ कट्ठा, सुन्दरहरैंचाको कित्ता नं. ३०८७ नम्बरको १ कट्ठा ७ धुर जग्गा खरिद गर्ने उल्लेख गरेर फाइनान्सलाई माइन्युट बुझाएका थिए। तर, फाइनान्सले धितोमा लिएको १ कट्ठा ७ धुर जग्गा खोलाभित्र रहेको नापजाँच गर्दा पत्ता लाग्यो।
तीनवटै कित्ताको जग्गा २०७७ चैत मसान्तभित्रै पास गर्ने भाका राखेर फाइनान्समा बैना जम्मा गरे पनि फाइनान्सले झालाई जानकारी नै नदिई सुवासको नाममा रहेको १५ कट्ठा जग्गा बिक्री गर्न फुकुवा सहमति दिएको पाइएको छ। फाइनान्सले योजनाबद्ध रूपमा १५ कट्ठा जग्गाको फुकुवा सहमति दिएर झालाई खोलाभित्र पर्ने १ कट्ठा ७ धुर जग्गा भिडाउन खोजेको छ।
फाइनान्सले सर्वसाधारणबाट निक्षेप लिएर राखेको लाखौं रुपैयाँ खोलाभित्रको जग्गामा लगानी गरेको छ। सुवास दुलालको नाममा रहेको सुन्दरहरैंचा र बेलबारी नगरपालिकाको सिमाना छुट्ट्याउने लालभित्ती खोलाभित्रको १ कट्ठा ७ धुर जग्गा धितो राखेर ४९ लाख रुपैयाँ ऋण लगानी गरेको छ। उक्त खोलामा परेको जग्गासहित खोलाको सिमानाबारे अहिले सुन्दरहरैंचा र बेलबारी नगरपालिकाबीच विवाद छ। सुवासको नाममा रहेको १ कट्ठा ७ धुर जग्गासहित सोही जग्गामा जोडिएको बालिका दुलालको नाममा रहेको १ कट्ठा ६ घुर जग्गामा फाइनान्सले शंकास्पद रूपमा थप ४९ लाख रुपैयाँ लगानी गरेको जनाइएको छ। खोलाभित्रको उक्त दुईवटा कित्तामा फाइनान्सले ९८ लाख रुपैयाँ लगानी गरेको हो।
जग्गामा लगानी गर्ने फाइनान्सका तत्कालीन शाखा प्रमुख अमेरिका पलायन छन्। खोलाको जग्गाको मूल्यांकन गर्ने मूल्यांकनकर्तासमेत कालोसूचीमा परेका छन्।
फाइनान्सले झन्डै पाँच वर्षअघि खोलाभित्र अस्वाभाविक मूल्यांकन गराई लगानी गरेको र पछि आफू फसेको थाहा पाएपछि जग्गाधनी सुवास दुलालमार्फत सर्वसाधारणलाई भिडाउने षड्यन्त्र गरिरहेको पाइएको छ। फाइनान्सले खोलाभित्रको १ कट्ठा ७ धुर जग्गामा गरेको लगानीको साँवा ब्याजसहित ६५ लाख रुपैयाँमा किन्न दबाब दिइरहेको पीडित झाले बताए। खोलाभित्रको जग्गा जानीजानी किन्न नसकिने भन्दै जम्मा गरेको रकम फिर्ता मागेको उनले बताए। तर, फाइनान्सले पैसा रोक्न नमिल्ने भन्दै बहाना बनाउने तर जम्मा भएको पैसा अहिलेसम्म झिक्न दिएको छैन।
‘असारअघि पैसा माग्दा मसान्त लागेको छ, एकैचोटी ठूलो रकम निकाल्दा हाम्रो कारोबारमा अप्ठ्यारो पर्छ भनेर जवाफ दिएर फाइनान्सले आलटाल गरिरहेको झाले बताए । यता फाइनान्सका इटहरी शाखाका म्यानेजर धीरजकुमार गुरुङले भने आफू आउनुभन्दा अगाडिकै कुरा भएकोले सबै जवाफ दिन नसक्ने बताए। ग्राहकको आर्थिक सुरक्षाको विषय भएकाले सबै सार्वजनिक गर्न नमिल्ने पनि उनले बताए।