कामकाजी भाषामा छुटाएको भन्दै राना समुदायको आपत्ती

कामकाजी भाषामा छुटाएको भन्दै राना समुदायको आपत्ती

धनगढी : सरकारी कामकाजी भाषामा राना थारु भाषा छुटाएको भन्दै राना समुदायले आपत्ती जनाएको छ। संघीय सरकारले, यसअघि राना थारु भाषालाई आदिवासी जातीको ६० औं भाषाका रुपमा सूचीकृत गरेर राजपत्रमा प्रकाशित पनि गरेको थियो। तर केही दिनअघि भाषा आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा भने राना भाषा छुटाईएपछि उनीहरुले आपत्ती जनाउदै आन्दोलन गर्ने बताएका छन्। सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा मात्रै राना थारुको बसोबास छ। 

संस्कृतीमा धनी मानिएको आदिवासी राना थारुको भाषा ओली सरकारका पालामा २०७७ जेठ ५ गते सूचीकृत भएको थियो। आदिवासी जनजातीको ६० औं भाषाका रुपमा राना थारुको भाषा सूचीकृत भएको हो। तर हालै भाषा आयोगले प्रदेशमा सरकारी कामकाजका लागि प्रयोग हुने भाषाको सूचीमा राना थारु नराखेपछि उनीहरु आन्दोलित भएका हुन्। 

‘भाषा आयोगले पाँच वटा भाषा सूचीमा राखेको छ। त्यसमा प्रदेशमा सरकारी कामकाजी भाषाका लागि डोट्याली र थारु भाषा मात्रै राखेको छ। थारु र राना थारुको भाषा एकदमै फरक छ। हामी पनि सुदूरपश्चिममा १० प्रतिशत भन्दाबढी छौं, तर हाम्रो भाषा सूचीमै समेटिएन’ रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपा रानाले भने। उनले, वर्तमान सरकारले पुर्वाग्रही भएर राना थारु भाषा हटाएको आरोप समेत लगाए। 

‘एक दिन अघि डोट्याली र थारु-राना थारु भनेर राख्ने कुरा भएको थियो, तर रातारात त्यो सूचीबाट हटाईयो, यसले भुमीपुत्रका रुपमा रहेको राना थारुको अपमान भएको छ, गठबन्धन सरकारले रानाथारुको पहिचान मेटाउने चेस्टा गरेको छ’ अध्यक्ष रानाले भने।

२०६८ सालको जनगणना अनुसार सुदुरपश्चिमको जनसंख्या साढे २५ लाख हो। त्यतीबेला त्यसमा राना र चौधरी थारुको जनसंख्या लाई एउटै श्रेणाीमा राखिएको छ। त्यतीबेला दुबै समुदायको जनसंख्या १७ लाख ३७ हजार रहेको छ।

‘विश्वभरीको आदिवासी जनजातीको जनगणना गर्दै आएको ईथ्नोलग डट कमले २००६ सालमै कैलाली र कञ्चनपुरमा रानाथारुको संख्या तीन लाख ३७ हजार रहेको उल्लेख गरेको छ। यस्तै राष्ट्रिय प्रारम्भीक शिक्षा कार्यक्रमले पनि २०१४ मा गरेको सर्वेक्षणमा राना थारुको संख्या ३ लाख ७० हजार देखाएको छ, प्रदेशको जनसंख्याको १३ प्रतिसत रानाथारु छन’ राना थारु समाजका केन्द्रिय उपाध्यक्ष कमलसिह रानाले भने। उनले एक प्रतिशत जनसंख्या रहेको समुदायको भाषा, आयोगमा सुचीकृत हुने प्रावधान रहेको बताए । 

‘भाषा सूचीकरणका लागि विभिन्न १२ मानकहरु पुरा भएका छन, तर पनि वर्तमान सरकारले रानाथारुको अस्तित्व मेटाउने प्रयास गर्यो, जुन खेदजनक छ’ रानाले भने। ‘हामीसँग भाषिक पहिचानका लागि आन्दोलनको विकल्प छैन ।’

राना थारु भाषामा कैलाली र कञ्चनपुरका विभिन्न २७ विद्यालयमा अध्यापन भईरहेको छ । ‘पर्यप्त जनसंख्या, भाषाको ईतिहास, व्याकरण, शब्दकोष, पाठ संकलन, लोकवार्ता, वर्ण निर्धारण, मानकीकरण सहितका मापदण्ड अपनाउने गरी पाठ्यक्रम नै निर्धारण भएको छ भने राना थारु भाषा किन सूचीबाट हटाईयो, प्रदेशको कामकाजीको भाषा किन राखिएन ?, यसमा राजनीतिक पुर्वाग्रह छ’ धनगढीका रानाथारु भलमन्सा भज्जी रानाले भने।

राना थारुहरुले, सुदूरपश्चिममा आफुहरुको जनसंख्या अहिले चार लाखभन्दा माथी रहेको दावी गरेका छन । भाषा छनौटका लागि सरकारले तोकेका १२ वटा मानकहरु पुरा भएपनि, षडयन्त्रपूर्णक पुर्वाग्रही भएर भाषा सूचीबाट हटाएको उनीहरुको आरोप छ ।

राना थारु समुदायले भाषा र आरक्षणको माग गर्दै सोमबारदेखि आन्दोलन पनि गर्ने जनाएको छ । सुदूरपश्चिम प्रदेश सभामा विचाराधीन प्रदेश प्रहरी सम्वन्धमा ब्यवस्था गर्न बनेको विधेयक र निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धी संसदमा दर्ता भएका विधेयकमा रानालाई आरक्षणको व्यवस्था हुनुपर्ने उनीहरुले माग गरेका छन् ।

भाषा आयोगले डोट्याली र थारु भाषालाई प्रदेशमा सरकारी कामकाजीको भाषाका रुपमा राखेको छ भने बैतडेली, अछामी र बझाङी बढी बोलिने भाषामा सूचीकृत छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.