रुस, चीन र पाकिस्तानसँग हातेमालो गर्दै भारतीय सेना, ४ हजार बढी प्यालेस्टेनी इजरायली जेलमा

रुस, चीन र पाकिस्तानसँग हातेमालो गर्दै भारतीय सेना, ४ हजार बढी प्यालेस्टेनी इजरायली जेलमा

रुस, चीन र पाकिस्तानी सेनासँग हातेमालो गर्ने तयारीमा भारतीय सेना

नयाँ दिल्लीः सीमामा जारी तनावका बीच भारतीय सेनाले रुस, चीन र पाकिस्तानी सेनासँग हातेमालो गर्ने तयारी थालेको छ । साङघाई सहयोग संगठन शान्ति मिसन अन्तर्गत आयोजित रोधी सैन्य अभ्यासको लागि भारतीय सेनाले रुस, चीन र पाकिस्तानी सेनासँग हातेमालो गर्ने तयारी थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार सो सैन्य अभ्यासको लागि उच्च प्रशिक्षित भारतीय सैन्य बल (सेना र वायु सेना) रुस जानेछ । करिब २ सय भारतीय सैनिकले रुसको ओरेनवर्गमा हुने सैन्य युद्धाभ्यासमा रुस, चीन र पाकिस्तानी सेनासँगै भाग लिनेछन् ।

ओरेनवर्गमा यही हप्तादेखि सुरु हुने सो अन्तर्राष्ट्रिय सैन्य अभ्यास सेप्टेम्बर २६ सम्म चल्नेछ । सो अभ्यासमा तीनवटै मुलुकबाट सहभागी सेनाले सँगै रोधी ड्रिलमा भाग लिनेछन् ।

भारतले गत वर्ष आयोजित सैन्य अभ्यासमा आफ्नो सहभागिता जनाएको थिएन । भारत, चीन र पाकिस्तानका सेना अभ्यासका लागि यतिबेला रुस पुगिसकेको भारतीय सञ्चारमाध्यले जनाएका छन् । अफगानिस्तानमा बनेको नयाँ तालिबान सरकारको चीन र पाकिस्तानले समर्थन जनाएका छन् भने भारतले विरोध जनाइरहेको छ ।
०००
तालिबान सत्तापछि काबुलमा पहिलो पटक पाकिस्तानी विमान अवतरण

काबुलः अफगानिस्तानमा तालिबानले कब्जा जमाएको करिब २८ दिनपछि काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार पहिलो पटक विमान अवतरण भएको छ ।

अगष्ट १५ मा तालिबानले काबुललाई आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसपछि काबुल विमानस्थलमा अफगान र अन्य विदेशी नागरिक निकासीको लागि मात्र विमान सञ्चालनलाई अनुमति दिइएको थियो ।

२८ दिनपछि पहिलो पटक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पिआईए)को विमान सोमबार हामिद कारजई (काबुल) अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । उक्त विमानमा अधिकांश विमान सदस्यसहित केवल १० यात्रु मात्र सवार रहेको बताइएको छ ।

टर्की, कतार र संयुक्त अरब एमिराट्सका प्राविधिक टोलीले विमानस्थल पुन: सञ्चालनमा अफगानिस्तानलाई सहयोग गरेको र सो विमानस्थलमार्फत चाँडै आन्तरिक र अन्तर्राष्ट्रिय सेवा सुचारु गरिने तालिबानका प्रवक्ताले बताएका थिए । 
०००
आङ सान सूकी अदालतमा अनुपस्थित

वर्माः सत्ताबाट हटाइएकी म्यानमारकी नेत्री आङ सान सूकी अदालतमा अनुपस्थित भएकी छन् । स्वास्थ्य खराबीको कारण देखाउँदै उनी अदालतमा उपस्थित हुन नसकेको सूकी निकट स्रोतले जनाएको छ ।

हिरासतमा रहेकी उनलाई सामेबार अदालतमा उपस्थित हुन आदेश दिइएको थियो ।‘उहाँलाई कोभिड भएको छैन तर लामो समयपछि गाडिमा यात्रा गरेकोले उहाँको स्वास्थ्य अवस्था राम्रो छैन । यतिबेला आराम गरिरहनु भएको छ । त्यसैले अदालतमा उपस्थित हुन सक्नुभएन’ उनका वकिल मिन मिन सोईले भनेका छन् ।

म्यानमार सेनाले गत फेब्रुअरी १ मा कू शासन लागु भएपछि सत्ताच्युतमा परेकी ७६ वर्षीया आङ सान सूकीलाई विभिन्न आरोपमा हिरासतमा राखिएको छ । प्रसिद्ध नोवेल शान्ति पुरस्कार विजेता उनले तानाशाही विरुद्ध तीन दशक लामो अहिंसात्मक संघर्ष गरेकी छन् ।

कानूनी सल्लाहकारमार्फत मात्र उनले बाह्य दुनियासँग कुरा गर्न पाउने अनुमति दिइएको छ । उनलाई सैन्य अधिकारीद्वारा कडा निगरानीमा राखिएको बताइन्छ ।
०००
स्पेनमा डढेलोः २ हजारभन्दा बढीले घर छोडे

स्पेनको एन्डालुजिया क्षेत्रमा फैलिएको डढेलोका कारण २ हजारभन्दा बढी स्थानीय वासिन्दाले घर छोडेका छन् । एन्डालुजिया क्षेत्रको इस्टेपोना शहरनजिकैका करिब २ हजार ५ सय मानिसको उद्धार गरिएको दी गार्जियनले जनाएको छ ।

डढेलोबाट निस्केको धुवाँको कारण एक उद्धारकर्मीको निधन भएको छ । गत बुधबारदेखि फैलिएको डढेलो सोमबार बिहानसम्म पनि नियन्त्रणमा आउन नसकेको बताइएको छ ।

डढेलो नियन्त्रकहरुलाई साथ दिन स्पेन सरकारले डढेलो प्रभावित क्षेत्रमा सैनिक युनिट खटाएको छ । सोमबार बिहानसम्म उक्त क्षेत्रस्थित ६ वटा शहरका मानिसको उद्वार गरिएको र डढेलोले ७ हजार ४ सय हेक्टर वनजंगल सखाप पारेको स्थानीय मिडियाले जनाएका छन् । जलवायु परिवर्तनका कारण युरोपको सुख्खा, तातो हावा चल्ने विभिन्न क्षेत्र यस वर्ष डढेलोले बढी प्रभावित भएको बताइएको छ ।
०००
४ हजारभन्दा बढी प्यालेस्टेनी इजरायलको जेलमा

जेरुसेलमः हाल जेरुसेलमको जेलमा ४ हजार भन्दा बढी प्यालेस्टेनी कैदीहरु रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । विभिन्न अभियोगमा बालबालिकासहित सो संख्यामा प्यालेस्टेनी कैदीहरु इजरायलका विभिन्न जेलमा रहेका हुन् ।

सेप्टेम्बर ६ मा ४ किलोमिटर लामो सुरुङ खनेर प्यालेस्टेनीहरु इजरायलको गिलवोवा जेलबाट भागेपछि इजरायली जेलमा बन्दी बनेका प्यालेस्टेनी कति हुन सक्छन् भन्नेबारे अधिकांशको चासोको विषय बनेको थियो ।

सो तथ्यांकबारे अलजजिराले सोमबार एक तथ्यांक प्रकाशित गरेको छ । कैदीको हकसम्बन्धी समूह अदामिरले अलजजिरालाई उपलब्ध गराएको तथ्यांकअनुसार हाल ४ हजार ६ सय ५० प्यालेस्टेनी कैदीहरु इजरायलका विभिन्न जेलमा राखिएका छन् ।

यद्यपि, सन् २०२१ को सुरुवातीदेखि हालसम्म इजरायली सैन्य बलले महिला र बालबालिकासहित ५ हजार ५ सयभन्दा बढी प्यालेस्टेनी नागरिकहरु इजरायलको जेलमा राखिएको प्यालेस्टेनी गैर सरकारी संस्थाहरुको तथ्यांकमा उल्लेख छ ।

मे महिनामा मात्र इजरायली सेनाले ३ हजार १ सय प्यालेस्टेनी नागरिकलाई पक्राउपछि जेल पठाएको थियो । इजरालयलको अवैध धन्दा र राजनीतिक कैदीको रुपमा इजरायलको जेलमा राखिएको छ । 

सन् २००० यता करिब १२ हजार प्यालेस्टेनी बालबालिका इजरायली आर्मीले कैदी बनाएको अदामिरले जनाएको छ । ढुंगामुढा गरेको अभियोगमा ती बालबालिकालाई २० वर्षको जेल सजाएको सुनाएको समेत अदामिरले जनाएको छ । 
०००
सोमालियाको राष्ट्रपतीय चुनावमा महिलाको उम्मेदवारी

मोगादिसुः सोमालियामा एक महिलाले राष्ट्रपतीय चुनावमा आफ्नो उम्मेदवारी दिएकी छन् । परम्परागत रुढिवादी मान्यतालाई तोड्दै पहिलो विदेशमन्त्री र उपप्रधानमन्त्री बनेकी सोमालियाकी फोजिया युसुफ एच आदम राष्ट्रपतीय चुनावको उम्मेदवारी दिएकी हुन् ।

संसदीय सदस्य समेत रहेकी आदमले लामो समयपछि हुन गइरहेको राष्ट्रपतीय चुनाव जित्नु आफ्नो लागि चुनौतीपूर्ण हुने बताएकी छन् । ‘सोमालियामा महिला अझै पनि पछाडि नै छन् । यसअघिका चुनावमा लड्नु जत्तिको चुनौतिपूर्ण थियो आगामी चुनाव त्यो भन्दा निकै चुनौतीपूर्ण हुनेछ’ एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘तर पनि म सोमालियामा जडो काडेर बसेका सबै रुढिवादी परम्पराहरुलाई तोड्न चाहन्छु । ताकी भविष्यमा यहाँका महिलाहरुलाई केही न केही प्रेरणा र उर्जा मिलोस् ।’

गत वर्षदेखि हुन नसकेको सोमालियाको राष्ट्रपतीय चुनाव आगामी अक्टोबरमा हुने तयारी गरिएको छ । यद्यपि कोभिडका कारण आगामी चुनाव प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
०००
मलेसियाका नयाँ नेतालाई विपक्षीको समर्थन

क्वालालम्पुरः मलेसियाका नयाँ नेताले विपक्षी दलको समर्थन पाएका छन् । लामो समयपछि संसद पुन रुपमा सुचारु भएसँगै सोमबार उनले विपक्षी दलको समर्थन जितेका हुन् । मलेसियाका नयाँ प्रधानमन्त्री इजमेली साब्री याकुवले मलेसियाका राजा अनवार इब्राहिम अनवरको नेतृत्वमा रहेको मुख्य विपक्षी दलको समर्थन पाएका हुन् ।

आगामी दुई वर्षमा हुने भनिएको चुनावअघि आफ्नो शासन सत्ता कमजोर नपार्ने सम्झौतामा विपक्षी दलले समर्थन जनाएको बताइएको छ । सो सम्झौता पत्रमा प्रधानमन्त्री याकुव र मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद साहले केही दिनमा हस्ताक्षर गर्ने जनाइएको छ । प्रधानमन्त्री याकुबले संसदमा उपस्थित हुँदै मलेसियाका राजा साहसमक्ष सोमबार सो सम्झौता पत्र पेश गरेका थिए ।
०००
डेङ्गुका कारण उत्तर प्रदेशमा दर्जनौँको मृत्यु

उत्तर प्रदेशः भारतको उत्तर प्रदेशमा सेप्टेम्बर महिनाको सुरुवातदेखि फैलिएको डेङ्गुका कारण दर्जनौँको मृत्यु भएको छ । डेङ्गुका कारण उत्तर प्रदेशको फिरोजावाद जिल्लामा १० दिनभित्रमा बालबालिकासहित ५८ को मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

उत्तर प्रदेशको फिरोजावाद जिल्ला सबैभन्दा प्रभावित बनेको फिरोजावादका मेडिकल अधिकृत दिनेश कुमार प्रेमीले बताएका छन् । ‘डेङ्गु फैलिन नदिन फिरोजावादमा मात्र हामीले विभिन्न ९५ वटा जनचेतनामुलक  हेल्थ क्याम्प चलाइरहेका छौँ’प्रेमीले भनेका छन्, ‘तैपनि डेङ्गु तिब्र रुपमा फैलिरहेको छ । डेङ्गुकै कारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।’ उनका अनुसार उत्तर प्रदेशको जनसंख्या करिब २ करोड २२ लाख रहेको छ । डेङ्गुका कारण वर्षेनी ५० को मृत्यु हुने गर्छ ।

संयोजन: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.