जुलाई यता करिब २४० प्रतिशतले बालबालिकामा कोरोना संक्रमण बढ्यो : बालरोग विशेषज्ञ समूह
न्यूयोर्क : अमेरिकामा जुलाई यता बालबालिकामा तीव्र रूपमा कोरोना संक्रमण भएको एक अध्ययनले देखाएको छ । सोमबार अमेरिकन एकेडेमी अफ पेडिआट्रिक्समा (एएपी) प्रकाशित बालरोग विशेषज्ञ समूहले गरेको अध्ययन प्रतिवेदनमा जुलाई यता करिब २४० प्रतिशतले बालबालिकामा कोरोना संक्रमण बढेको देखाएको हो ।
अघिल्लो साता मात्र २ लाख ४३ हजार ३७३ बालबालिकामा थप कोरोना संक्रमण भएको अध्ययन समूहले उल्लेख गरेको छ । तर त्योभन्दा अघिल्लो साता भने २ लाख ५१ हजार ७८१ मा संक्रमण भएको पाइएको थियो । यो संख्या गत जुलाईको पहिलो साताभन्दा करिब २४० प्रतिशतले बढी हो । जुलाईको पहिलो साता ७१ हजार ७२६ मा संक्रमण भएको पुष्टि भएको थियो ।
‘गर्मीयामको सुरुवातमा संक्रमित बालबालिको संख्या घटेजस्तो देखिए पनि संक्रमण तीव्र नै छ’, एएपीले भनेको छ, ‘उच्च संक्रमणकै कारण दुई सातामा करिब ५ लाखमा संक्रमित भएका छन् ।’
बालबालिकालाई संक्रमणबाट रोक्न खोप लगाउन अनुमति पाएका सबै नागरिकले चाँडै खोप लगाउनुपर्ने विज्ञ समूहले सुझाएको छ । १२ वर्षभन्दा मुनिका बालबालिकालाई खोप अनुमति नभएकाले सोभन्दा माथिका सम्पूर्ण अभिभावकले खोप तीव्र रूपमा लगाउनुपर्ने विज्ञ समूहको सुझाव रहेको छ ।
(सीएनएनबाट)