सानामा डरको सामना

सानामा डरको सामना

सानामा हामीले ठूलाबाट धेरै डरत्रासको सामना गर्‍र्यांै। त्यो समयको सबभन्दा डरलाग्दो डर चाहिँ वनझाँक्रीको डरलाग्ने कहानी थियो। जसमा भनिएको हुन्थ्यो, ‘तिमीहरूले धेरै चकचक गर्‍र्यौ भने ऊ त्यो परको पात्लेघारीमा एउटा लामालामा कपाल पालेको वनझाँक्री बस्छ। त्यो आएर लान्छ अनि गड्यौलाको तरकारी खुवाउँछ। यदि खाएन भने पात्लेको रूखमा उल्टो झुन्ड्याएर कोर्रा लगाउँछ। त्यही भएर धेरै चकचक नगर्नू, घर छोडेर हामी नभएको बेला बाहिर नजानू नत्र भोगौला।’

आम्मै यति सुनेपछि त के थियो र ? दिउँसो शौच गर्न जान पनि डरले छुलछुल। त्यो बेला शौचालय पनि कति टाढा हुन्थ्यो बारीको पनि तल्लो छेउमा। आपतै पर्‍यो र गइयो भने पनि पछाडिबाट वनझाँक्री त आउँदै छैन ? मुटु ढुक्क फुलिरहेको हुन्थ्यो।

हावाले केही हल्लायो भने पनि वनझाँक्री तान्न आयो भनेर सातो नै जाने। अर्काे डराउने कुरा भनेको बुइकलमा नजानु त्यहाँ एउटा भूत बस्छ समातेर तान्ला फेरि। उफ ! अनि हामी केटाकेटी हुन्थ्यौं बन्दीझै। न त बाहिर जान पाउने न त घरको माथि नै चढ्न पाउने। बिरालो तलमाथि गर्‍यो भने पनि भूत त झरेन ? भनेर अत्ताली हाल्थ्यौं।

अन्य डरहरू
o त्यो खोलामा नजानू त्यहाँ भूत बस्छ।
त्यो पीपलको फेदमा त तर्साउँछ नि।
त्यो गोठको पर गए जोगीले लान्छ।
अँध्यारोभित्र त कुटुनी बूढी बसेकी हुन्छे।
घरमा अटेरी गरिस् भने सरलाई भन्दिन्छु।
ऊ त्यहाँको ओडार देखेको छौं ? त्यहाँ राक्षस बस्छ।
त्यो फलानो ठाउँमा त घाम न अस्ताउँदै तर्साउन थाल्छ रे।
o धेरै चकचक गरे बुबाले त लठ्ठीले हान्नु हुन्छ नि।

उफ् ! डर देखाउने तरिका पनि कति हो कति। यी कुराहरूले हामीलाई यति मानसिक तनाव हुन्थ्यो नि के भन्ने र ? केही हिंस्रक जनावर अथवा फटाहा मान्छे आइहाल्यो भने पनि बुइँगलमा गएर लुक्न पनि जान नसक्ने। बारीतिर जाउँ त वनझाँक्रीको डर बुइँगलमा चढौं त भूतको डर। यी त भए गाउँघरमा देखाइने डर। सहरका बालबालिकालाई देखाइने डरका प्रकार बेग्लै छन्, इन्टरनेटमा देखिने अनेक खलनायकको सहारा लिएर सहरका बालबालिकालाई डर देखाइन्छ। पहरा दिइरहेको प्रहरीको नाम लिएर डर देखाइन्छ।
त्यो पुलिसले त अलिकति चकचक गर्‍यो कि गाडीमा हालेर लगिहाल्छ।
त्यो जुँगा भएको तरकारी पसले छ नि ? त्यो त ‘डेन्जर’ हो त्यही तरकारी बोक्ने भ्यानमा हालेर लान्छ।
चुप लाग् है त्यो फलानो फिल्ममा भएको गुन्डालाई बोलाइदिन्छु अनि थाहा हुन्छ।
बढी जिद्दी गरिस् भने बाथरुममा थुनिदिउँला।
पढ्न बसिनस् ? प्रिन्सिपललाई फोन लगाइदिऊँ ?

डरको प्रकार फरक भए पनि डराउने मुटु त उही हो नि ! बालबालिका डराउनु स्वाभाविक हो। यस डरलाई निमिट्यान्न पार्नको साटो हामी आफ्नो सहजताका लागि यस डरलाई झनै बढावा दिइरहेका हुन्छौं। जुन कुराको हामीलाई अत्यधिक खाँचो हुन्छ र डराउनु पर्ने कारणै हुँदैन। त्यही कुरामा हामी बालबालिकालाई अत्यधिक डरछेरुवा वनाइरहेका हुन्छौं। उदाहरणका लागि सबैभन्दा बालबालिकालाई अभिभावकले डर देखाउने भनेको पुलिससँग हो, ‘चुप लाग् है। अहिले पुलिस दाइ आउनु हुन्छ। कति सहज तरिकाले हामी भन्छौं तर त्यही डर बालबालिकाको दिमागमा यस्तरी गढेर बसेको हुन्छ कि आपत् परेको अवस्थामा पनि ऊ पुलिससँग सहयोग माग्न हिच्किचाउन सक्छ। नराम्रो घटनासमेत घट्न सक्छ। टोलकै मान्छेलाई देखाएर पनि डर देखाउन हुन्न। किनकि अप्ठ्यारो अवस्थामा जो कोही आफ्नो अगाडि हुन सक्छ। उसैसँग सहयोग माग्नुपर्ने हुन सक्छ। बच्चा अगाडिदेखि नै त्यही मान्छेसँग डराइरहेको छ भने कसरी सहयोग माग्ला ?

उफ् ! डर देखाउने तरिका पनि कति हो कति। केही हिंस्रक जनावर अथवा फटाहा मान्छे आइहाल्यो भने पनि बुइँगलमा गएर लुक्न पनि जान नसक्ने। बारीतिर जाउँ त वनझाँक्रीको डर बुइँगलमा चढौं त भूतको डर।

बालापनदेखि नै डरको विकास गराइदिने हामी अभिभावक नै हौ। हाम्रै कारण ऊ घरमा बुबासँग डराउँछ। घर छेउमै भएको सब्जी पसलेसँग डराउँछ। बाटोमा उभिरहेको पुलिससँग डराउँछ। विद्यालयमा शिक्षकसँग डराउँछ। गृहकार्य बिग्रियो कि भनेर डराउँछ। कुनै काम नराम्रो त भएन ? न कसैले कराउने पो हो कि ? यो डरैडरले भरिएको दिमागले कस्तो सिर्जनात्मक कामहरू गर्ला ? कसरी विद्यालयका पाठ्यक्रमहरू उसको दिमागले सम्झिएला ? कसरी सामाजिक होला ऊ ? मैले भने सकेसम्म छोरालाई डर देखाइनँ। ऊ केही कुरामा डरायो भने सानैमा पनि भन्थें र अब पनि भन्छु ‘जिन्दगीमा कस्ताकस्ता अप्ठ्याराहरू पार गर्नुपर्ने हुन्छ। यति ससाना कुरामा डराएर कहीँ अगाडि बढ्न सकिन्छ ? तर एकदिन भइदियो यस्तो कि मेरो छोराको साथी घरमा आएको थियो। उसले भनिदिएछ, साङ्लोले त हामीलाई ख्वाप्पै निल्छ अरे।

हाम्रो घरको भान्छाकोठा र शौचालयमा फाट्टफुट्ट साङ्ला देखिन्थे। अब ऊ भान्छाकोठामा जाँदा सतर्क भएर र शौचालय जाँदा त्यहाँको पर्दा सारेर निक्कै बेरसम्म विचार गरेर जान थाल्यो। सुरुमा त मैले खासै याद गरिनँ। एकदिन त ऊ शौचालयबाट यस्तरी कुदेर बाहिर निस्क्यो कि म आफैं आत्तिएँ।
उसको अचम्मको व्यवहारले म छक्कै परेर कराएँ ‘के भयो ? किन अतालिएको ?’
ऊ फुलिरहेको छाती समाउँदै बोल्यो– ‘उ उत्या साङ्लो छ।’
उसलाई समाउँदै मैले भने– ‘अनि साङ्लो देख्दा आत्तिनु पर्छ त ?’

ऊ बोल्यो, ‘अनि साङ्लोले खर्लप्पै खान्छ रे हामीलाई। साथीले भनेको मलाई।’ यो कुरा गलत हो भनेर बुझाउन साङ्लो टिपेर हातमै राख्नु पर्‍यो। तै पनि निक्कै समयसम्म ऊ शौचालय पस्दा सतर्क नै रहेको पाएँ। यो सत्य उदाहरणले पनि बताउँछ कि बालबालिका कति संवेदनशील छन् र जे कुरालाई पनि कति सजिलै पत्याउँछन्। बालबालिकालाई हामीले सँगसँगै राखेर सही सत्य बताउने र डरको साटो सावधानी अपनाउनु पर्छ भन्ने ज्ञान दिन जरुरी छ। कुनै हिंस्रक जनावरहरू नै देखिहालियो, भेटिहालियो भने उनीहरूले आफ्नो सुरक्षा कसरी गर्न सक्छन् ? वा उनीहरूलाई निडर बनाउन कसरी उत्प्रेरित गर्न सकिन्छ ? भनेर सिकाउन जरुरी छ। यसले गर्दा उनीहरू संकटको समयमा पनि नडराई त्यो डरको सामना गर्ने हुन्छन्। बस् ! हामीले उनीहरूलाई सही कुरा, सही सल्लाह र आत्मविश्वासी बनाउन जरुरी छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.