ताकमका युवा राधाकृष्ण नाच जोगाउन अग्रसर

ताकमका युवा राधाकृष्ण नाच जोगाउन अग्रसर

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका-७ ताकमका बासिन्दा मौलिक राधाकृष्ण नाचको संरक्षणमा जुटेका छन्। सांस्कृतिक महत्व बोकेको परम्परागत राधाकृष्ण नाच जोगाउन ताकमको धार्मिक नाट्य समूह अग्रसर भएका हुन्। हरेक वर्षको हरितालिका तिज पर्वको अवसरमा ताकममा राधाकृष्ण नाच देखाउने चलनलाई निरन्तरता दिइदै आएको कलाकार गोपाल आचार्यले बताए।  

‘संस्कृति लोप हुन नदिन नयाँ पुस्तालाई यो नाचको कला र सिप हस्तान्तरण गरिएको छ,’ उनले भने ‘ताकममा मानब बस्ती रहेदेखिनै राधाकृष्ण नाच देखाउने चलन रहेको छ।’ यो नाच ताकममा मात्र देखाइने भएकाले ताकमको सांस्कृतिक सम्पत्ति भएको धार्मिक नाट्य समूहका अगुवा चिन्तामणी सुबेदी बताउँछन्।

राधाकृष्ण नाचका लागि समूहले आफै मौलिक गीतको सिर्जना गरेका छन् । यो नाचका लागि हिन्दुधर्मवलम्बिहरुको भगवान शिव, पार्वति, उनिहरुका छोरा गणेश, राधा र कृष्ण अनी लाखे पात्र हुन्छन्। 

‘परापुर्व कालमा देवीदेवता र भगवानको माया प्रेम, जिवनमा आइपर्ने सुख र दुखका क्षणलाई गीतमार्फत व्यक्त गरेर नाचमा अभिनय गरिन्छ,’ सुबेदीले भने ‘सबै कलाकार पुरुष हुन्छन्। पार्वति र राधाको भूमिका पनि पुरुष कलाकारले निभाउँछन्।’ 

राधा र कृष्णको जिवनमा लाखेले गलत भूमिका खेलेर आउने उतार चढावलाई कैलाश पर्वतमा रहेका शिव पार्वतीले नियालेको अभियन नाचमा प्रस्तुत हुन्छ। २५ मिनेट देखि ४५ मिनेटसम्म यो नाच प्रस्तुत गरिन्छ।  

ताकमको भगवति मन्दिर परिक्रमा गरेपछि कलाकारहरु नाच्दै नाच्दै खुल्ला ठाउँमा पुग्छन्। यसअघि ताकमको रत्नेगैरामा देखाइने यो नाच पछिल्लो समय वडा कार्यालय रहेको सामुदायिक भवन परिसरमा देखाउन थालिएको छ। 

केही वर्षयता नयाँ पुस्ताका युवाहरुले राधाकृष्ण नाचको सिप सिकेर अभिनय गर्न थालेका छन्। ताकमका अधिकांश समुदाय जुम्लाबाट बसाई सरेर आएका हुन्। उनीहरुले नै यो नाच भित्र्याएको बुढापाका बताउँछन्। 

अहिलेको जस्तो सूचना प्रबिधिको विकास नभएको अवस्थामा समाजमा मनोरञ्जनका लागि तिज पर्वका दिन राधाकृष्ण नाच देखाउने गरिएको थियो। गाउँपालिकाले प्रचारप्रसारका लागि ताकमका सबै वस्तीमा आलोपालो गरेर राधाकृष्ण नाच देखाउने निर्णय गरेको छ। 

विशेष सभा समारोह र मेला महोत्सवमा पनि ताकमको राधाकृष्ण नृत्य आकर्षण बन्न थालेको छ। कलाकारहरुका लागि पोषाक र बाद्यबाधनका सामग्रीको आवश्यकता छ। समूहको नियमित आम्दानीको स्रोत छैन्। सरकारी स्तरबाट सहयोग आवश्यक रहेको कलाकार गोबिन्द पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.