पाकिस्तान र तालिबानविरुद्ध भारतमा प्रदर्शन, बाइडेनको लोकप्रियता खस्कँदै

पाकिस्तान र तालिबानविरुद्ध भारतमा प्रदर्शन, बाइडेनको लोकप्रियता खस्कँदै

रुसी राष्ट्रपति पुटिन आइसोलेसनमा

मस्कोः रुसका राष्ट्रपति भ्लादमिर पुटिन सिरियाली राष्ट्रपति बसर अल असदसँगको भेटपछि सेल्फ आइसोलसनमा बसेका छन् । आफ्नो पार्टीका कार्यकर्ताहरु समेत कोरोना संक्रमित भएपछि उनी मंगलबारदेखि सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका हुन् । ६८ वर्षीय पुटिन आइसोलेसनमा बसे पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र कोरोना संक्रमण नदेखिएको बताइएको छ ।

आइसोलेसनमा बसेका पुटिनले यसै हप्ताको लागि आयोजना गरिएको ताजकिस्तानको क्षेत्रीय सुरक्षा बैठक स्थगित गरेका छन् । यद्यपि उनी सो बैठकमा भर्चुअल माध्यममार्फत उपस्थित हुने कार्यतालिका थियो ।

सोमबार पुटिन र सिरियाका राष्ट्रपति बसर अल असदसँग भेटवार्ता भएको थियो । साथै सोमबार पुटिनले रसियन प्यारालिम्पियनसँग पनि भेट गरेका थिए भने उनी सैन्य ड्रील्स अवलोकन गर्न बेलारुस पनि पुगेका थिए ।
000
अमेरिकी राष्ट्रपति बाइडेनको लोकप्रियता खस्कँदै

वासिङटनः अफगानिस्तानबाट २० वर्षपछि आफ्ना सेना पूर्ण रुपमा फिर्ता गरेसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनको लोकप्रियतामा गिरावट आएको विज्ञहरुको भनाइ छ ।

अफगानिस्तानबाट सेना फिर्ता गरेपछि उनको लोकप्रियता ह्वात्तै घटेको विज्ञहरुले बताएका हुन् । राष्ट्रपति बनेपछि पहिलो पटक बाइडेनको लोकप्रियतामा ५० प्रतिशत गिरावट आएको बताइएको छ ।

जसले गर्दा आगामी हुने मध्यवर्ती चुनावमा धक्का पुग्नसक्ने विज्ञहरुको प्रक्षेपण छ । अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता ल्याउने बाइडेन प्रशासनको निर्णयको विरोध रिपब्लिकन पार्टीका नेताले मात्र नभई डेमोक्रेटिक पार्टीका नेताहरुले समेत गरेका थिए ।

अमेरिकी सेना अफगानिस्तानबाट पूर्ण रुपमा फिर्ता भएपछि उनले आफ्नै पार्टीका शीर्ष नेताहरुको पनि विरोध झेल्नु परिरहेको अधिकारीहरुले जनाएका छन् । जसको कारण उनको लोकप्रियताको रेटिङ मंगलबारसम्म ५० प्रतिशतले घटेको बताइएको छ ।
०००
अमेरिका, जापान र दक्षिण कोरियाका परमाणु दूतको भेट

टोक्योः उत्तर कोरियाले सबैभन्दा लामो र अत्याधुनिक क्षेप्यास्त्र परीक्षण गरेको केही दिनमै अमेरिका, जापान र दक्षिण कोरियाका परमाणु दूतबीच संयुक्त भेटवार्ता भएको छ ।

उत्तर कोरियाको क्षेप्यास्त्र र परमाणु कार्यक्रमबारे छलफल गर्न तीनवटै मुलुकका परमाणु दूतबीच मंगलबार जापानको टोक्योमा संयुक्त भेटवार्ता भएको हो । तीन मुलुकका परमाणु दूतबीच भएको भेटवार्तामा उत्तर कोरियाको परमाणु हतियार र शक्तिशाली क्षेप्यास्त्र कार्यक्रममा केन्द्रित रहेको बताइएको छ ।

उक्त भेटमा जापानी दूत ताकेहाइरो फुनाकोशी र दक्षिण कोरियाली दूत नो क्यु डुकले उत्तर कोरियासँगको हतियारसम्बन्धी सम्झौताको मुद्दामा सर्तक रहन र अमेरिकालाई आग्रह गरेका छन् ।

उत्तर कोरियाका स्थानीय मिडियाले गत शनिबार र आइतबार गरेको लामो र अत्याधुनिक छेप्यास्त्र परीक्षणलाई ‘रणनैतिक हतियार’र परमाणु क्षमता विस्तारको रुपमा व्याख्या गरेका छन् । उत्तर कोरियाको सो गतिविधिपछि विभिन्न अन्तर्राष्ट्रिय निकायको ध्यान खिचेको छ ।
०००
सन् २०३० सम्ममा ३० प्रतिशत मिथेन कटौती गरिनेः रिपोर्ट

वासिंटन: पृथ्वी ताताउने मिथेन ग्यास उत्सर्जन कम गर्नमा संयुक्त राज्य अमेरिका र युरोपेली संघ सहमत भएका छन् ।

सन् २०३० सम्ममा ३० प्रतिशत मिथेन ग्यास उत्सर्जन कटौती गर्न ती राष्ट्रहरु सहमत भएका हुन् । मंगलबार रोयटर्समा प्रकाशित ग्लोबल मिथेन प्लिजको प्रतिवेदन अनुसार आगामी नोभेम्बरमा ग्ल्यास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि गराउन जिम्मेवार मानिएको मिथेन ग्यास उत्सर्जन कमी गर्नमा अमेरिकार र युरोपेली संघका सदस्य राष्ट्रहरुले सहमति जनाएका छन् ।

ती मुलुकहरुले सन् २०२० को तुलनामा सन् २०३० सम्ममा मानवीय र पशुपंक्षीबाट उत्पादन हुने मिथेन ग्यास उत्सर्जन ३० प्रतिशतले कम गर्ने लक्ष्य राखेका छन् ।

‘मानवीय कारण उत्पादन हुने मिथेन ग्यासलाई यदी हामीले समयमै उत्सर्जन कम गर्नमा प्रभावकारी कदम चालेमा वैश्विक तापक्रम घटाउन सकिन्छ’ उक्त प्रतिवेदनमा भनिएको छ । अमेरिका र युरोपेली संघको लक्ष्यमा सहभागी हुन सबैभन्दा बढी मिथेन उत्सर्जन गर्ने अन्य दर्जनौँ मुलुकलाई आग्रह गरिएको छ ।

जसमा चीन, रुस, भारत, ब्राजिल, साउदी अरेविया, नर्वे, कतार, ब्रिटेन, न्युजिल्याण्ड र दक्षिण अफ्रिका लगायत मुलुकहरु छन् ।

जलवायु परिवर्तनमा मुख्य भूमिका खेल्ने हरितगृह ग्यास मिथेन कार्बनडाइअक्साइड पछिको दोस्रो ठूलो कारक तत्व हो । कृषि, गोबर, फोहोरमैला र ढलबाट सबैभन्दा बढी मिथेन ग्यास उत्सर्जन हुने गर्छ । सन् २०१५ मा आयोजित पेरिस सम्झौतामा प्रतिनिधि मुलुकहरुले पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियस कायम राख्ने प्रतिबद्धता जनाएका थिए । 
०००
गुगललाई दक्षिण कोरियाको १७६ मिलियन डलर जरीवाना

सियोलः दक्षिण कोरियाले आफ्नो कम्पनी सामसुङको दुरुपयोग गरेको भन्दै संसारको सबैभन्दा ठूलो कम्पनी गुगललाई १७६.६४ अमेरिकी डलर (२०७ विलियन कोरियन रकम)जरीवाना लगाएको छ ।

सामसुङ कम्पनीको एन्ड्रोइड अपरेटिङ प्रणाली (ओएस)को कस्टुमाइज भर्सन ब्लक गरेको भन्दै सो रकम बराबरको जरीवाना लगाएको हो ।

कोरियाको निष्पक्ष व्यापार आयोग (केएफटीसी)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै गुगलले प्रतिस्पर्धी कोरियन टेक कम्पनी सामसुङ मोबाइलको ओएस् प्रणालीमा प्रतिबन्ध लगाएको र दुरुपयोग गरेको बताएको छ । गुगलले सो प्रणालीमा प्रतिबन्ध लगाउँदा एप सञ्चालनमा समस्या भएको केएफटीसीले जनाएको छ ।

सोही अभियोगमा कोरियाले गुगललाई १७६ मिलियन अमेरिकी डलर जरीवाना सुनाएको बताइएको छ । कोरियन कम्पनी सामसुङको ओएस सिस्टममार्फत संसारका ८० प्रतिशतभन्दा बढि स्मार्टफोन सञ्चालन हुने गर्छ ।
०००
उपप्रधानमन्त्री बरादरको मृत्युको खबर झुटोः तालिबान

काबुलः तालिबानले हालै गठित नयाँ सरकारका उपप्रधानमन्त्रीको मृत्युको खबरको खण्डन गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा फैलिएको उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरको मृत्युको खबर साँचो नभएको भन्दै तालिबानले समाचारबारे खण्डन गरेको हो ।

पञ्जशीर कब्जाको क्रममा विपक्षीसँगको हमलामा परी मुल्ला अब्दुलको मृत्यु भएको हल्ला फैलिएको थियो । तालिबानका प्रवक्ता शुलेल शाहिनले तालिबानका प्रमुख नेतासमेत रहेका मुल्ला अब्दुल घानी बरादरको मृत्यु भएको तथा घाइते भएको भन्ने प्रश्नको जवाफ अस्वीकार गरेको रोयटर्सले जनाएको छ । ‘मुल्लाहको मृत्युको खबर पूर्ण रुपमा झुटो हो’उनले ट्विटरमार्फत भनेका छन् ।
०००
तालिबान र पाकिस्तानविरुद्ध दिल्लीमा प्रदर्शन

नयाँ दिल्लीः तालिबान र पाकिस्तानविरुद्ध भारतको राजधानी नयाँ दिल्लीमा प्रदर्शन गरिएको छ । अफगानिस्तानका शरणार्थीले तालिबान र पाकिस्तानविरुद्ध मंगलबार दिल्लीमा प्रदर्शन गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीहरुले हातमा पर्चा बोकेका थिए । पर्चामा ‘आतंकवाद र पाकिस्तान एउटै सिक्काका पाटा हुन्’ र ‘आइएसआइ अफगानिस्तान छोड’ जस्ता नारा लेखिएको थियो ।

‘मेरा आफन्तहरु पन्जशीरमा बस्थे । पाकिस्तानी एयरफोर्सले मेरा आफन्तहरु सबैलाई मारिदियो । त्यसैले हामी पाकिस्तानको विरुद्ध प्रदर्शन गरिरहेका छौँ’ एक प्रदर्शनकारीले भारतीय समाचार एजेन्सी एएनआईसँग भनेका छन् ।

यस्तै अर्का प्रदर्शनकारीले मिडियासँग भनेका छन् ‘आइएसआई र तालिबानको साठगाँठ चलिरहेको छ । हामी चाहन्छौँ अफगानिस्तान कसैको कब्जामा नपरोस् । अफगानिस्तान स्वतन्त्र बनोस् ।’ प्रदर्शनकारीहरुले अफगान प्रतिरोध आन्दोलनको समर्थनमा पनि नाराबाजी गरेका थिए ।
०००
सामाजिक मान्यता सहित ‘सभ्य’ इन्टरनेटमा केन्द्रित हुने चीनको लक्ष्य

बेइजिङः चीनले सामाजिक मान्यतासहित  ‘सभ्य’ इन्टरनेट सेवामा केन्द्रित रहेको जनाएको छ । चीनले इन्टरनेट र अनलाइन सेवालाई नियमन गर्न सामाजिक मान्यतासहितको सभ्य इन्टरनेट सेवाको प्रवर्द्धनमा जोड दिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

सत्ताधारी चिनियाँ पार्टी कम्युनिस्ट पार्टीले साइबर सुरक्षालाई ध्यानमा राखी इन्टरनेट सेवालाई सभ्य बनाउने लक्ष्य राखिएको बताइएको छ । सामाजिक मुल्य सहित इन्टरनेट सेवालाई सभ्य बनाउन चीनको राज्य परिषद्ले नयाँ नियम जारी गरेको सिन्ह्वा न्युजले जनाएको छ ।

परिषद्का अनुसार इन्टरनेटमार्फत देशको सुरक्षा, मानिसको व्यवहार आदि जोखिममा हुने भएकोले इन्टरनेट सेवालाई मर्यादित बनाउन र अनुशासनमा राख्न नयाँ नियम जारी गरिएको हो । जसअनुसार चीनको इन्टरनेट सेवा सभ्य र सामाजिक मुल्य मान्यतामा केन्द्रित हुनेछ ।

संयोजन: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.