एक्ला अनागरिकहरु: नागरिकता नहुँदा बुढेसकालमा बेवारिसे
महोत्तरी: बुद्धिमाया बलम्पाकी ७२ वर्षकी भइन् । श्रीमान बितेको २७ वर्ष भयो । उपचारको अभावमा उनका पति संसारबाट बिदा भएका थिए । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा भेटिएकी बुद्धिमायाको न आफ्नै घर, सम्पत्ति छ न त सन्तान नै ।
दुखको कुरा उनी अझै अनागरिक छिन् । अर्थात् उनको नागरिकता नै छैन । आफ्न्तको घरमा आश्रय लिएर बस्दैआएकी बुद्धिमाया नागरिकता नभएकै कारण राज्यबाट पाउने सेवासुविधाबाट पनि वञ्चित हुनु परेको छ। ‘उपचारको अभावमा श्रीमानको मृत्यु भयो । उहाँको पनि नागरिकता नहुँदा मृत्युदर्ता समेत बनेन् । मेरो त झन् बन्ने कुरै भएन’ समाजिक सुरक्षाभत्ता लगायत राज्यका कुनै सेवा नपाएको उनको दुखेसो छ ।
बुद्धिमाया हाल आफ्नै दिदीको छोरा देवबहादुर वुर्जाको घरमा आश्रय लिएकी छन् । तैपनि बाँकी जीवन कसरी बिताउने पीरले उनलाई घोचिरहन्छ । ‘कोरोना महामारीमा अरुले राहत पनि पाए । नागरिकता नभएकैले मैले एक मुठ्ठी चामल पनि पाइन,’ बुद्धिमायाले भनिन्,‘मेरो नागरिकता कसैले बनाइदिए म पनि नेपाली हुन पाउँथें । सरकारबाट सहयोग पाउँथें होला।’
उनकै समकालीन गाउँका जेष्ठ नागरिकले बृद्धभत्ता सहित सरकारका सबै सुविधा पाउँछन् । उनलाई पनि अरु झैँ मिठो खान मन लाग्छ । परिवारसँग बस्न मन लाग्छ । ‘तर, कहाँबाट किनेर खाने । कमाउन सक्ने भए पो हातमा रुपैयाँ हुन्छ ?’ बुद्धिमाया सोध्छिन् ।
००
महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरकी बुद्धिमाया बलम्पाकी ।
बुद्धिमाया जस्तै अनागरिक हुन् गौशाला– ११ की ६५ वर्षीया राजो देवी पनि । उनी भने सुस्त मनस्थितिकी हुन्। जन्मजात रुपमै उनी बोल्न सक्दिनन् । फरक क्षमताको हुनुले पनि उनी समाजबाट वहिष्कृत जस्तै हुनु परेको छ ।
उनका बुवा राजेन्द्र महतो तत्कालीन लक्ष्मिनियाँ गा. वि. स. उपाध्यक्ष थिए । उनले अरु सन्तानको जन्मँदै जन्मदर्ता बनाए । १६ कटेपछि नागरिकता बनाउन सनाखत गरे । तर, बोल्न नसक्ने छोरी पाएको भन्दै घरपरिवारले न जन्मदर्ता बनाइदिए न त नागकिता । राजोको नागरिक हुने परिवारबाटै अधिकार खोसियो ।
उनै बृद्ध राजो बुढेसकालमा अनागरिक छिन् । उनका बुवा राजेन्द्रलाई छोरीको जन्मदर्ता नबनाएकोमा अहिले पछुतो लागिरहेको छ। अविवाहित रजोलाई अहिले ८७ वर्षीय बाबुराजेन्द्रले रेखदेख र स्याहार गर्नुपरेको छ ।
राजेन्द्र बुढेसकालमा आफूभन्दा बढी छोरीको चिन्ताले सताउने गरेको बताउँछन् । ‘छोरीको जन्मदर्ता र नागरिकता बनाउन सकिएन । अहिले बुढेसकालमा उनलाई धेरै समस्या भइरहेको छ,’ राजेन्द्रले भने । नागरिकता नहुँदा सरकारले दिने राहतदेखि समाजिक सुरक्षा भत्ताबाट पनि उनी टाढिनु परेको छ ।
००
यस्तै अर्का पीडित अनागरिक हुन् गौशाला ९ विषहरपुरका ६१ वर्षीय पल्टु सदा । उनी गौशाला विषहरपुरस्थित गाँउ ब्लकको जग्गामा बसोबास गर्दैछन् । सम्पत्ति अभावले गर्दा उनीसहित उनका चार सन्तानको जन्मदर्ता नै बनेको छैन । नागरिकता अभावमै पल्टुको परिवारका सदस्यहरु कोरोना कालमा राहत र खोपबाट बञ्चित हुनुपर्यो।
००
यसै क्षेत्रका अर्का अनागरिक हुन् । ७१ वर्षीय राधाप्यारी (रामऔतार) महतो । कहिले पुरुष त कहिले महिलाको वेशमा देखिने रामऔतार भने नागरिकता नहुँदा पुर्ख्यौली सम्पत्तिबाटै बञ्चित हुन पुगेका छन् । उनको पुर्ख्यौली घर गौशाला नगरपालिका १० वटौवामा छ । ६ बिघा पुर्ख्यौली सम्पत्ति भए पनि हाल भाई र भतिजहरु उपभोग गर्दैआएका छन् ।
‘गाँउमा तीन भाईहरु छन् । बुवा (रामचन्द्र)ले मर्नुभन्दा अगाडि उनीहरुलाई अंश दिएका रहेछन् । आफ्नो अंशको जग्गा पनि उनीहरुले जोत्दैआएका छन् । मेरै अंश पनि उनीहरुले नै गर्दैआएका छन् । तर मसँग कागज नहुँदा आफ्नै अंश दावी गर्न सकिरहेको छैन ।'
वर्षौँ भइसक्यो रामऔतारका भाई, भतिजा कसैले पनि उनको खोजी गरेका छैनन् । न त उनको नागरिकता बनाइदिने चासो नै देखाए । रामप्यारी होटेलमा कहिले जुठो भाँडा माझ्दै गरेको भेटिन्छन् त कहिले भीख माग्दै । गौशालास्थित रामजानकी मन्दिरमा बस्दै मागेरै गुजारा चलाउँदैआएका छन् उनी।
उनीहरु जस्तै यस क्षेत्रमा अरु थुप्रै अनागरिक वृद्धवृद्धाहरु यस्तै बेवारिसे अवस्थामा गुजारा चलाउँदैआएका भेटिन्छन् । स्थानीय सरकारले भने उनीहरुको नागरिकता बनाइदिन चासो देखाउनुको सट्टा वैकल्पिक व्यवस्था समेत गरेको छैन ।
महिला अधिकारकर्मी सविता महतो भन्छिन् ‘उमेरको उत्तरार्धमा उहाँहरुको बसोबास, खानपान र उपचारसम्म भए पनि स्थानीय सरकारले प्रबन्ध मिलाउनु पर्छ ।’ गौशाला नगरपालिकाकी उपप्रमुख आशा लामा भने केन्द्रीय नीति र कानूनका कारण नागरिकता नहुनेलाई राज्यको सेवा सुविधा दिन स्थानीय सरकारलाई समस्या रहेको बताउँछिन् ।
‘यस्ता दिनदुखीलाई देखेर मलाई पनि माया लाग्छ तर के गर्ने ? संघीय कानूनले रोकिराखेको,’ उनी भन्छिन् ‘हामीले चाहेर पनि केही निर्णय लिनसक्ने अवस्थामा छैन ।’ स्थानीय जनप्रतिनिधिहरु समेत केही गर्न नसक्ने भन्दै पन्छिन थालेपछि यहाँका एक्ला अनागरिक निमुखाहरुको पक्षमा बोलिदिने कोही छैन ।