तीन वर्षमा ८२ छोराछोरीको आमाबाबुबाटै हत्या
काठमाडौं : रुपन्देहीको गैडहवा ६ मा मंगलबार बुवा श्रीराम मल्लाह र आमा रेनु मल्लाहले आफ्नै ८ महिने बच्चालाई घाँटी रेटेर हत्या गरे। आमाबाबु दुवैलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको छ।
सामान्य घरायसी विवादमा बच्चाको हत्या गरेका उनीहरुले बच्चाको हत्या नै गर्नुपर्ने त्यस्तो बाध्यता भने अहिलेसम्म पत्ता लागेको छैन।
आमाबाबुले छोराछोरीको हत्या गरेको यो नयाँ घटना भने हैन। नेपाल प्रहरीले दिएको तथ्याङ्क हेर्दा तीन वर्षमा आफ्नै आमाबुवाबाट ८२ जना सन्तानको हत्या भयो। जसमा आमाबाबुको मिलेमतोमा तीन वर्षमा २६ जना सन्तान मारिए। भर्खर जन्मिएका नवजात २७ शिशुलाई उनीहरुका आमाले हत्या गरिन्। यस्तै आमाले मात्रै १७ जना सन्तानको हत्या गरिन। बाबुले मात्रै १२ जना छोराछोरीको हत्या गरे।
तथ्याङ्क हेर्दा पछिल्लो समयमा समाजमा अपराधका घटना बढ्दै गएको र यसले समाजमा दण्डहीनता बढेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवर पनि पारिवारिक र नातागोताबाट हुने अपराधका घटना बढ्दो अवस्थामा रहेको बताउँछन्।
‘कोरोना महामारीको समयमा पनि जागिर गुमाएका, आर्थिक विचलनमा परेका आमाबुवाबाट निर्दोष बच्चाहरु निसानामा परे। मानिसको आम्दानी घटेको र रोजगारी गुमेको अवस्था छ,’ उनी भन्छन्,‘यसले घरेलु हिसांसहित, महिला तथा बालबालिका माथि हुने अपराधको संख्या बढाएको छ।’
आमाबुवाको सम्बन्ध बिग्रनु र विवाहइतर सम्बन्धले पनि स-साना बालबालिकाको हत्या हुने गरेको बताउँदै कुँवरले मुख्यत आपसी मनमुटाव र आर्थिक कारण नै देखापरेको जानकारी दिए।