अफगानिस्तानका महिला खेलाडीहरु भागेर पाकिस्तान पुगे, क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्धिपमा तनाव

अफगानिस्तानका महिला खेलाडीहरु भागेर पाकिस्तान पुगे,   क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्धिपमा तनाव

कोरियाली प्रायद्धिपमा तनाव

प्योङयाङ: उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्धिपमा तनाब बढेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।उत्तर कोरियाले गरेको शक्तिशाली क्षेप्यास्त्र  परीक्षणले कोरियाली प्रायद्धिप क्षेत्रमा पहिलेदेखि नै जारी तनाव झनै बढेको सीएनएनमा समाचार छ ।

उत्तरले बुधबार बिहान शक्तिशाली क्षेप्यास्त्र  प्रहार गरेको थियो । उक्त क्षेप्यास्त्र पूर्वी कोरियन प्रायद्धिपमा खसेको पाँच मिनेटपछि दक्षिण कोरियाले पनि क्षेप्यास्त्र  प्रहार गरेको हो।

दक्षिण कोरियाले क्षेप्यास्त्र परीक्षण सफल भएको भन्दै बुधबार विज्ञप्ति जारी गरेको थियो । ‘क्षेप्यास्त्रले सम्भावित बाह्य खतरालाई रोक्न, देशको आत्मरक्षा गर्न र कोरियन पेनिनसुलामा शान्ति कायम राख्न मद्धत पुर्‍याउनेछ’ दक्षिण कोरियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अत्याधुनिक प्रविधि र क्षेत्रीय हातहतियार क्षमता विस्तारको दौडमा अब दक्षिण कोरिया संसारको सातौँ मुलुक भएको छ ।’

यद्यपि उत्तर कोरिया र दक्षिण कोरियाले बुधबार गरेको क्षेप्यास्त्र परीक्षणले प्रायद्धिप क्षेत्रमा तनाव सिर्जना गर्ने विज्ञहरुले बताएका छन् । ‘दुबै कोरियाले एकैपटक शक्तिशाली क्षेप्यास्त्र  परीक्षण गरेका छन् । यो एक निकै असामान्य संयोग हो’ योनसेई युनिभर्सिटीका प्रोफेसर जोन डेलुरीले एएफपीसँग भनेका छन्, ‘प्रायद्धिप क्षेत्रमा हतियारको दौड भइरहेको छ । यसले ठुलो तनाव उत्पन्न गराउनेवाला छ । त्यसैले सबैले सतर्क रहन जरुरी छ ।’
०००
जलवायु कोषको लागि थप ४.७ विलियन डलर दिने ईयुको घोषणा

स्ट्रासवर्गः युरोपेली आयोगकी अध्यक्ष उर्सुला वोर डेर लायनले जलवायु कोषको लागि थप ४.७ विलियन डलर उपलब्ध गराउने घोषणा गरेकी छन् । युरोपेली संघद्धारा बुधबार स्ट्रासवर्गमा आयोजित जलवायु परिवर्तसम्बन्धी एक छलफल कार्यक्रममा उनले सो रकम उपलब्ध गराउने घोषणा गरेकी हुन् ।

जलवायु परिवर्तनका लागि उपलब्ध गराइने सो रकम विकासोन्मुख मुलुकमा पठाइने बताएकी छन् । ‘जलवायु कोषमा युरोपेली संघको ठूलो योगदान रहनेछ । त्यसको लागि युरोपेली संघले उपलब्ध गराउन लागेको थप ४.७ विलियन डलर जलवायु वित्तको रुपमा विकासोन्मुख मुलुकमा पठाइने छ’ उनले भनेकी छन् ।

उनले अमेरिका र अन्य शक्ती मुलुकलाई पनि प्रभावकारी कदम चाल्न आग्रह गरेकी छन् । सो रकम सन् २०२७ सम्ममा विकासोन्मुख मुलुकमा पठाइनेछ ।

जलवायु कोषको लागि विकासोन्मुख मुलुकहरुलाई ठूलो रकम उपलब्ध गराउन विकसित मुलुकहरु सहमत भएका थिए । सो सहमति अनुसार विकसित मुलुकहरुले सन् २०२० देखि प्रतिवर्ष १०० विलियन डलर उपलब्ध गराउन सन् २०१५ को पेरिस सम्झौतामा हस्ताक्षर गरेका थिए ।
०००
अफगानिस्तानका महिला खेलाडीको टिम पाकिस्तान उड्यो

लाहोरः तालिबानले अफगानिस्तान आफ्नो कब्जामा लिएको एक महिनापछि अफगानिस्तानको राष्ट्रिय महिला फुटबल खेलाडीको समूह भागेर पाकिस्तान पुगेको छ ।

मानवीय संकटको भीसा बोक्दै उनीहरुले पाकिस्तान प्रवेश गरेको डन न्युजमा समाचार छ । अफगानिस्तानका महिला खेलाडीको समूह बुधबार उत्तरपश्चिमी नाका तोर्खान हुँदै पाकिस्तान प्रवेश गरेको सूचनामन्त्री फवाद चौधरीले जनाएका छन् ।

‘हामीले अफगानिस्तानको महिला फुटबल टिमलाई स्वागत गरेका छौँ । उनीहरु यतिबेला अफगानिस्तान हुँदै तोर्खाम नाकासम्म आइपुगेका छन्’ चौधरीले बुधबार ट्विटमार्फत जानकारी दिएका छन् ।

मंगलबार करिब ७५ खेलाडी उक्त नाकामा प्रवेश गरेको बताइएको छ । बुधबारसम्म १४, १६ र १८ वर्ष उमेर समूहका महिला खेलाडीको समूहले सो नाका प्रवेश गरेको बताइएको छ । यद्यपि, कतिजना महिला खेलाडीलाई पाकिस्तान प्रवेशमा अनुमति दिएको भन्ने स्पष्ट पारिएको छैन ।

गत हप्ता अफगानिस्तानको तालिबान सरकारले महिलालाई खेलकुदमा प्रतिबन्द लगाउने घोषणा गरेको थियो । डन न्युजका अनुसार काबुल कोच, फुटबल सदस्य र आफ्नो परिवारका सदस्यसहित अफगानी महिला फुटबलको टोली पाकिस्तान पुगेको छ । पछिल्लो समय काबुलमा भएको आक्रमणपछि उनीहरुले अफगानिस्तानबाट भाग्न खोजिरहेका थिए ।
०००
न्युजिल्याण्डको आधिकारिक नाम परिवर्तन गर्न सिफारिस

वेलिङटनः टापुहरुको मुलुक न्युजिल्याण्डको आधिकारिका नाम परिवर्तन गर्न सिफारिस गरिएको छ । न्युजिल्याण्डको माओरी पार्टीले देशको परम्परागत पोलिनेसियन शीर्षकअन्तर्गत न्युजिल्याण्डको नाम परिवर्तन गरेर आउटेइरो राख्न सिफारिस गरेको हो ।

न्युजिल्याण्डको नाम आउटेइरो राख्ने पक्षमा एकै रात २५ हजारले हस्ताक्षर गरेका छन् । नोभा जिल्याण्डिया शब्द अपभ्रंस हुँदै न्युजिल्याण्ड देशको आधिकारिक नाम रहन गएको बताइन्छ ।

युरोपियन उपनिवेशमा पर्दा आफ्नो मुलुकको नाम न्युजिल्याण्ड रहन गएकोले मुलुकको मौलिकता झल्काउने नाम राख्न आफूहरुले सिफारिस गरेको माओरी पार्टीका नेता राविरी वेइटिटीले बताएका छन् । ‘हामी पोलिनेसियन मुलुकका हौँ भने हामी आउटेइरो हौँ । त्यसैले हाम्रो मुलुकको नाम युरोपियन उपनिवेशमा आधारित नभई मौलिकता झल्किने हुनुपर्छ’ भाइस न्युजसँग उनले भनेका छन् ।
०००
मेक्सिकोमा होटलबाट अपहरणमा परेका २२ विदेशीको उद्वार

मेक्सिको सिटीः मेक्सिकोको एक होटेलबाट अपहरणमा परेका २२ विदेशीको उद्वार गरिएको छ । मंगलबार राति अपहरणमा परेका २२ विदेशीको मेक्सिकन अधिकारीहरुले उद्वार गरेका हुन् ।

क्युवा र हैटी गरी २२ विदेशी पर्यटकसहित १६ मेक्सिकन नागरिकलाई मेक्सिकोको सान लुईस पोटोसीस्थित सोल लुना होटलबाट बन्दुकधारीले अपहरण गरेका थिए । अपहरणपछि उनीहरुले १९५ किलोमिटर टाढा रहेको दुर्गम क्षेत्रमा पुर्‍याएका थिए ।

विदेशीहरु अपहरणमा परेको सूचनाका आधारमा मेक्सिकन अधिकारीहरुले खोजी कार्य थालेका थिए । अधिकारीहरुले उनीहरुलाई घाइते अवस्थामा फेला पारेका थिए । घाइते बनेका २२ विदेशीहरुलाई हाल उद्वार गरिएको मेक्सिकन अधिकारीहरुले बताएका छन् ।
०००
दुई दिनमा ८० हुथी लडाकु मारिए

अल मुकाल्लाः यमनको मध्य सहर मारिबमा दुई दिनको अन्तरालमा करिब ८० हुथी लडाकु मारिएका छन् । मारिबको अलकसरा क्षेत्रमा सरकारी सेना र अरब गठबन्धनबीच सोमबार र मंगलबार भएको दोहोरो हवाई हमलामा करिब ८० हुथी लडाकु मारिएको अबर न्युजमा समाचार छ ।

दुई दिनअघि हुथी विद्रोहीहरु मारिब सहरतर्फ प्रवेश गर्न खोजिरहेका थिए । अबर न्युजका अनुसार उनीहरुलाई रोक्न सरकारी सैनिकले गरेको प्रतिकारमा हुथी विद्रोही मारिएका हुन्।

‘हुथी विद्रोहीहरु आक्रमण गर्दै मारिब प्रवेश गर्दै थिए । त्यसको प्रतिकार गर्न हवाइ हमला गर्दा ८१ हुथी लडाकु मारिएका छन्’ यमन आर्मिका कोलोनियल याहिया एल हतेमीले बुधबार अरब न्युजसँग भनेका छन् ।
०००
हैटीका राष्ट्रपतिको हत्यामा प्रधानमन्त्रीकै संलग्नता

हभानाः हैटीका राष्ट्रपति जोभेनेल मोइजको हत्यामा प्रधानमन्त्रीको संलग्नता रहेको आशंका गर्दै उनीमाथि छानविनको लागि माग गरिएको छ । सो आशंकामा हैटीका प्रधानमन्त्री एरियल हेन्रीलाई देश छोड्न रोक लगाइएको छ ।

५३ वर्षीय राष्ट्रपति मोइजको गत जुलाई पहिलो सातामा हैटीको पोर्ट ए प्रान्तमा हत्या भएको थियो । राष्ट्रपतिको हत्यारा र प्रधानमन्त्रीबीच पटकपटक फोनवार्ता भएको अनुसन्धानको रिपोर्टले देखाएको छ ।

सो हत्याको अनुसन्धानमा संलग्न न्यायाधीसहरुले प्रधानमन्त्रीको संलग्नता रहेको हुनसक्ने आशंकामा रोक लगाएको हो । साथै यस घटनामा प्रधानमन्त्री एरियलमाथि छानविनको लागि माग गर्न थालिएको छ ।

संयोजन: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.