स्यानिटाइजर हो कि विषादी ?

स्यानिटाइजर हो कि विषादी ?

विश्व स्वास्थ्य संगठनले कोरोना महामारीबाट जोगिन तीनवटा उपाय अनिवार्य ग¥यो। सामाजिक दूरी, मास्कको प्रयोग अनि बेलाबेला साबुन वा स्यानिटाइजरले हात सफा गर्ने। विश्वका धेरै राष्ट्रले यो नियमलाई अनिवार्य गराए। जुन महामारी नियन्त्रणमा प्रभावकारी पनि बन्यो। नेपालले अहिले पनि मास्कलाई अनिवार्य गरेको छ। स्यानिटाइजरको प्रयोग घर बाहिर र घरमा हुँदा साबुनपानीले हात धुन अब अधिकांशलाई बानी परिसक्यो। मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य बनेसँगै यसको उत्पादन गर्ने उद्योग बढेका छन्। अन्य व्यापार घाटामा गएकाहरूले पनि नाफा हुने देखेर मास्क र स्यानिटाइजरको उद्योग सञ्चालन गरे।

बजारमा मास्क र स्यानिटाइजर थरीथरीका पाइन्छन्। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई बोक्न र लगाउन सहज हुने विकास भएको छ। तर, छोटो समयमा कोरोनाकै कारण बजार लिएका यस्ता वस्तुको गुणस्तरमा भने प्रश्न उठ्ने गरेको छ। गुणस्तर खस्किएका उत्पादन पनि छ्यापछ्याप्ती छन्। उपभोक्तालाई गुणस्तरका विषयमा जानकारी नहुँदा ठगिएका छन्। स्वास्थ्यमा गम्भीर असर पर्दैछ। कोरोनाको त्रास कम भएको छैन। रोगकै रूपमा कोरोना थपिएकाले मास्क र स्यानिटाइजर अन्य दैनिक आवश्यक पर्ने सामानजस्तै बन्दा नकिनी उपभोक्तालाई धर छैन।

प्रयोग र माग बढ्दै गएपछि अहिले बजारमा पाइने मास्क र स्यानिटाइजरमा आआफ्नै किसिमको गुणस्तर र मूल्यमा मनोमानी छ। यसबारे नेपालमा कुनै विस्तृत अनुसन्धान भएको छैन। तर मुख्य नियामक निकाय औषधि व्यवस्था विभागले गर्दै आएको निरीक्षण अनुगमनमा कतिपय स्यानिटाइजर गुणस्तरहीन पाइएको छ। विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्नै नहुने भेटिएको थियो। तर, मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै रोकिएको छैन। कानुनी प्रक्रिया पूरा गरेर उत्पादन गर्ने तर उत्पादनका बेला गुणस्तर मापदण्ड पूरा नगर्ने परिपाटीको विकास यस्ता उद्योगमा पनि बढ्दो छ। मास्क पनि जस्तोसुकै कपडाको बनाउने होडबाजी छ।

मास्कमा भन्दा धेरै स्यानिटाइजरमा बेथिति छ। खोलमा ठेगाना र सम्पर्क नम्बर नभएका धेरै छन्। बिना सम्पर्क र ठेगानाका उत्पादनले असर गरेमा वा ठगी गरेमा नियामक निकायले पनि कारबाही गर्न सक्दैनन्, भेट्दैनन्। बजारमा भएको स्यानिटाइजर गुणस्तरीय छ कि छैन भनेर उपभोक्ता आफैं चनाखो हुनुपर्ने बाध्यता छ। तर, सबैलाई यो विषयमा जानकारी नहुँदा उपभोक्ताको स्वास्थ्यमा असर पर्दैछ। निरन्तर अनुगमन र निगरानी नहुँदा जस्तो उत्पादन आयो त्यस्तै उपभोक्तासम्म पुग्छ। व्यवसायीले पनि उपभोक्ताको हितमा भन्दा पनि कमाउने अवसरका रूपमा मात्रै लिएका छन्।

औषधि विभागले स्यानिटाइजर उत्पादनमा मापदण्ड निर्धारण गरेको छ। विभागका अनुसार स्यानिटाइजरमा करिब ८० प्रतिशत अल्कोहल हुनुपर्छ। विश्व स्वास्थ्य संगठनले पनि स्यानिटाइजर बनाउने मापदण्ड तोकेको छ। उक्त मापदण्डअनुसार सय मिलिलिटर स्यानिटाइजर बनाउन ७८ मिलिलिटर ‘इथानल’ चाहिन्छ। त्यति नै मात्राको स्यानिटाइजर बनाउन ४ दशमलव १ मिलिलिटर हाइड्रोजन पेरोक्साइड, १ दशमलव ४ मिलिलिटर ग्लिसेरोल र बाँकी डिस्टिल्ड वाटरको आवश्यकता पर्छ। तर, नेपालमा मिथानोल प्रयोग गरी स्यानिटाइजर बन्ने गरेको विभागको अनुगमनबाट पुष्टि भएको छ। मिथानोल छालाका लागि हानिकारक मानिन्छ।

कोरोना महामारीको समयमा नेपालमा मास्क र स्यानिटाइजर उत्पादन गरेर व्यवसायीले सहयोग गरेकै हुन्। नेपालमा यसको उत्पादन गर्ने नियम कानुन नभए पनि सरकारको आग्रहमा गरेको सहयोगको कदर गर्नै पर्छ। महामारी रोक्नुपर्ने सो समयमा मुख्य चुनौती थियो। अहिले खोपको समेत उत्पादन भएर नागरिकमा पुगेको छ। मास्क र स्यानिटाइजरको उत्पादनलाई अब व्यवस्थित गर्नुपर्छ। मापदण्ड नपुगेकालाई कारबाही गर्न र सचेत गराउन सरकार पछि पर्नु हुँदैन। यसलाई व्यवस्थित नगरे उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्नेछ। स्वास्थ्यको विषयमा सबै गम्भीर बनौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.