माधव नेपालहरु एमालेमै ओत लाग्न आउनेछन् : सुरेन्द्र पाण्डे
बागलुङ : नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टी विभाजन गरेर नयाँ पार्टी बनाएका वरिष्ठ नेता माधव नेपाल एमालेमै फर्किने दाबी गरेका छन्।
पछिल्लो डेढ वर्षमा आपसी झगडामै समय व्यतित गरिएकोमा पश्चाताप लागे पनि विगतबाट पाठ सिक्नुको विकल्प नभएको उनले बताए। नेकपा एमालेले बागलुङमा बिहीबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले एकीकृत कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने क्षमता र तागत एमाले सँग मात्र रहेको जिकिर गरे।
‘पछिल्लो केही वर्ष यता पार्टी भित्र जे जस्ता समस्या र प्रवृत्ति देखा परे, त्यसको समयक्रममा यथोचित समिक्षा हुने नै छ, २०५४ सालमा पार्टी विभाजन हुँदाको समिक्षा अहिलेसम्म भएको छैन’, उनले भने, ‘पार्टीभित्र विवाद र बहस हुन्छ, तर यसको समाधान विभाजन हुनै सक्दैन, माधव नेपाल र केही साथीहरुले यही बाटो रोज्नुभएको छ, अहिले हामी मिलेर एमाले आन्दोलन जोगाउ, माधव नेपालहरु ढिलोचाडो एमालेमै ओत लाग्न आउनुहुनेछ।’
पार्टी भित्रको विवाद हल गर्न माधव नेपालकै सहमतिमा १० बुँदे प्रस्ताव तयार गरिए पनि अन्तिम समयमा अस्वीकार गरिएको बताए। ‘पार्टी भित्र समस्या निश्चय छन्, सँगै आन्दोलन अभियानमा हिँडेका साथीहरुलाई दुश्मन देख्ने प्रवृत्ति बढेको छ’, उनले भने, ‘यसलाई विधि र प्रणाली मार्फत समाधान गर्न सकिन्छ।’
एमालेलालाई अब परम्परागत हिसाबले नभइ शिक्षित र सक्षम नेता कार्यकर्ता बनाएर आगामी निर्वाचनका लागि तयार रहनुपर्नेमा उनको जोड थियो। एमाले २०७५ जेठ २ मा फर्किए पनि नेकपा एकताको क्रममा आएर पूर्ववत अवस्थामै फर्किंदा पनि एमालेमै रहेका पूर्व माओवादीलाई यथोचित जिम्मेवारी र भूमिका दिइने उनले बताए।