धरापमा परेर एकै परिवारका तीन जनाको मृत्यु
गुलरिया : बर्दियामा वन्यजन्तुलाई थापेको धरापमा परी तीन जनाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका - ३ गोदानास्थित राजबहादुर शाहीको धानखेतमा थापिएको विद्युतिय धरापमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको हो।
ठाकुरबाबा नगरपालिका- ३ का ३५ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती ३० वर्षीया सुनिता थारु, ४५ वर्षीया भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बालीनाली जोगाउन धराप थाप्ने शाहीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ। उनले वन्यजन्तुको लागि धराप थापेको स्विकारेका छन्। मृतकहरुका शव पोष्टमार्टमका लागि बर्दिया अस्पताल ल्याइएको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र बाहिर र कोपिला सामुदायिक वनको सिमा नजिकै केही दिनदेखि जंगली हात्ती ओहोरदोहोर गरेको भन्दै स्थानीयले विद्युतीय धराप थापेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले बताए। बाली नालीको क्षतीको क्षतीपूर्ति दिने व्यवस्था राज्यले गरेकोले वन्यजन्तुलाई कसैले पनि धराप थाप्न नपाइने बाग्लेको भनाई छ।