दमिनी आमा
‘बाउआमाको माया छोर्छोरी माथि, छोर्छोरीको माया ढुंगामुढामाथि ! जति बूढेसकाल भो छोर्छोरीको मायाले उति तान्दोरहेछ क्यारे अनि फुन गरिरहन मन लाउनी।’
‘तँलाई याँ दुखो वा दुखो भनेर सुनाउन पाउँदा नि दुखेको आधा निको भएझैं लाउँछ।’
म ओछ्यानमै छँदा आमाको मुखबाट हरेक बिहान सुनिने भजन जस्तै धुन हुन् यी।
‘शान्ति भजन’ भन्ने गरेको छु मैले यसलाई। मलाई सबैभन्दा धेर फोन गर्ने मान्छे पनि आमा हुन्। तर मोबाइलमा ‘बूढीमाउ’ लेखेर सेभ गरेको छु। त्यो आमाको प्रेमले लेखेको अर्को नाम हो।
सधैं म ओछ्यानमै हुँदा फोन गर्ने आमा, आज उठेर आधाउधी धन्दा गरिसक्दा नि फोनको घण्टी बजेन। मन चिसो भो। आफैंले फोन हानें। धन्न फोन उठ्यो। टाढा भएपछि यो मन चिसो हुने त कति कति जमेर हिउँ नै पनि भैदिन्छ कहिले त।
त्यसो हैन नि बा। बिहे गरेर अर्काको घर जाने जात, छोरी नराम्री होली र बिहे नै नहोला भन्ने कत्रो पीर। छोरी नै पाइनस् र पो त। छोरी पा’भए था’पाउथिस्।
‘बूढीमाउ ! फुन हान्नु पर्दैन ? के भो नि आज ?’
‘लौ तँ पनि ‘फुन’ भन्न थालिस् ?’
आमालाई आमाकै लवजले जिस्क्याएको अनौठो लाग्यो सायद।
‘अनि आफ्नी आमाको नक्कल गर्नु परेन त ?’
‘ल धेर नक्कल नपार्।’
‘अनि हजुरको घुँडाको दुखाइ कस्तो छ ऐले ? फिजियोथेरापी नछोड्नुस् है। औषधि पनि लगाइरहनुपर्छ नि।’
मैले आमाकै सजिलोका लागि कुरा मोड्न खोजेँ !
‘खै यो बुढेसकाल पनि... नाक छोडे कान, कान छोडे नाक दुखिरहन्छ। अस्ति भर्खर कतै केही नदुखी हिँड्दा हिँड्दै जानुभो पौडेल बा।
पोहोर यिन्ताका नै हो कैली सर्किनी मरेकी पनि। मलाई मात्रै किन लाँदैन खै। गामका बूढाखाडा त बिस्तारै रित्तिँदैछन्। अब मेरै पालो आइदिए हुन्थ्यो।’
आमाले निराशाको लामो सास फेरिन्। उनको आवाजमा ऊर्जा हराएको थियो। आमाको मर्ने रहरले लल्याकलुलुक भएँ म पनि। कतै केही नराम्रो त भएन ? मन आँत्तियो।
‘आमा, फेरि कता दुख्यो ? अनि हजुर त कहिल्यै यति निराश नहुने मान्छे आज के भो ? घुँडो दुख्दैमा मरिन्न है। फेरि काल पनि बोलाएर आउँछ त ? रहरले मरिने हो भने त संसारमा यत्तिका मान्छे बाँकी रहन्थे होलान् नि ?’
‘त्यो पनि था’छ नानी रहरले काल आउँदैन। काल नआई मरिन्न, यो पनि थाहा छ। तैपनि आइदेओस् भन्या नि।
अँ साँच्ची तैँले उजेली दिदीलाई सम्झिन्छेस् हगि ? उजेली दमिनी के, माथि थुम्काकी।’
सधैं मै सोध्थें गाउँतिरको खबर। आज एक्कासि आमाले सोधिन्। आमाको कुरा अघिदेखि नै खल्लो लागिराथ्यो। केही त छ पक्का भयो।
‘सम्झिन्छु नि। कहाँ बिर्सिनु। अस्ति मात्रै हजुर गाउँ जानेबित्तिकै फोनमा बोलेको के त नि। हजुरलाई चैं कहाँबाट आयो नि आज उजेलीको याद ? कि आज आएकी थिइन् हजुरलाई भेट्न ?’
प्रतिप्रश्न गरें।
‘उजेलीलाई त कहिले पो बिर्सिन्छु र मैले ? उजेलीकै कारण बाँचेकी हुँ म। ऊ त मेरो जिन्दगीको जराजस्तै हो। म बाँच्नुको सार। मैले टेक्ने जमिन। मान्छेले सबैथोक बिर्से पनि आफू उभिएको जमिन बिर्सनु हुन्न।’
आमाले धेरै नै घतलाग्दो कुरा गरिरहेकी थिइन्। र, मेरो मनमा शंका पनि थपिरहेकी थिइन्। कस्तो भित्रैसम्म छोयो, आमाको वाक्यले– ‘जमिन बिर्सनु हुन्न।’
‘अनि आमा, उजेलीको के कुरा भन्दै हुनुहुन्थ्यो नि !’ मैले उजेलीतिरै प्रसँग जोड्न खोजेँ।
‘भाग्यमानी रैछिन् उजेली दिदी। हिजो राति राम्रै खाइपिइ गरेर सुतेकी रे। बिहान अबेरसम्म पनि नउठेपछि हेर्न जाँदा सास गइसकेको रहेछ रे।’
आमाको कुरा सुनेर मेरो बोली हरायो। तर आमालाई जीवनबोधभाको जस्तो लाग्दैथियो।
‘यो एक मुठी परानको पनि केही भर छैन। यसो आउँथिन्। दुःख सुख साट्ने साथी भाकी थिन्। मेरा त दामली सबै सकिए अब। आफू पनि यसैगरी सजिलोसँग जान पाए हुन्थ्यो।’
मलाई केही बोल्नै आएन। थाहा पाएँ– आमाको उदासीको कारण उजेली रहिछिन्। मन केले केले थिचेजस्तो गह्रौं भैरह्यो। उजेली आमामेरी कोही हैनन् र पनि कोही हुन्। ‘को हुन् त ?’ निरुत्तर टोलाइरहेँ।
म निकैबेर केके केके सोचेर टोलाइरहें। आँखा आफैं टिलपिलिएछन्। मेरो कानमा उजेली आमा गुञ्जिरहिन् निरन्तर।
‘नानी ! कति जानेर जिउमै टपक्क हुने स्वेटर पठाइछ्यौ। तिमीलाई मेरो सप्पै आशिष लागोस्। नानीलाई छोर्छोरीले कहिल्यै हेलाँ नगरुन्। सधैं माया गरुन्।’
बा आमा फर्किंदा मैले पठाइदिएको स्वेटर लाएपछि उनले आमाकै फोनबाट भनेकी थिइन्।
उजेलीसँगै आमा पनि गुञ्जिइन् कानमा।
‘उजेलीले ठूल्नानीलाई असाध्यै देख्न मन लागेको छ भनेकी छिन् है।’
फोन गर्दा आमासँगै बसेर छेवैबाट बोलेकी थिइन् उजेली आमा सायद।
मान्छे मरेपछि बाँच्ने भनेका यिनै सम्झनाहरू त रहेछन् नि।
त्यतिखेर मैले आमालाई सोधेको थिएँ।
‘उजेली आमाका छोराछोरीले माया गर्दैनन् हो आमा ?’
‘खै यो माया पनि के हो के हो। छोरो अरब गयो। बुहारी पोइल गई। पछि फर्केर छोराले बिहे त गर्यो तर बुहारी गतिली परिनछ। धेरै दुःख पाइन् उजेलीले।’
आमाको ‘बुहारी गतिली परिनछ’ ले मेरो मुटुको छेउ लुछ्यो।
‘छोरो गतिलो भए बुहारी आफैं गतिली हुन कर लाग्छ। किन अर्काकी छोरीलाई नै अगतिली देख्छन् सासूहरू ?’
कसैले थाहा नपाउने गरी पानीको फोका जस्तो प्रश्न मनमा उठ्यो र मनमै फुट्यो।
फोन कतिखेर कटिइसकेछ, मलाई थाहै भएन। मेरो मन उनै उजेली आमातिरै हराइरह्यो। त्यो उजेलो अनुहार, जहाँ शालीनता भरी हुन्थ्यो। आफ्नोपनको मीठो आभास हुन्थ्यो।
लुगा सिउन जाँदा मेसिनको घर्रा तानेर सुन्तला मिठाई र पिपलमेँठ झिकेर दिन्थिन्। धेरै नपाकेको बेलौती मलाई मन पर्छ भनेर पोल्टामा लुकाइलुकाई दिन्थिन्। ऐंसेलु र काफल टिपेर सालको पातमा पोको पारेर ल्याइदिन्थिन्। ऐँसेलुभन्दा मीठा लाग्दैथिए यादहरू।
उनी हाम्रो जाँतोमा कोदो पिन्न आउँथिन्। म पनि उनलाई हजुरआमाले नदेख्ने गरी लुकाएर चामल दिन्थेँ। चामल लिनुअघि उनी भन्थिन्– ‘यत्तिकै यसरी त लान हुन्न ठुल्नानी। बरु अलिकति कोदोको पीठो राख र आमालाई रोटी पकाइदिनु भन। सित्तैमा त कसैको पनि केही खान हुन्न नानी।’
मेरो मनमा अझै पनि मन्त्र भएर बसेको छ– यो वाक्य। म दोहोर्याइरहन्छु, हो त सित्तैंमा त कसैको क्यै नि खानु हुन्न।
मैले आमालाई फेरि फोन लाएँ र भनें– ‘आमा अब म भान्छातिर लागेँ। हजुर सुत्नुस्। भोलि बिहानै बोलम्ला। यस्तै हो, जन्मिम्दै मनेँ कबुल गरेर आको हो क्यारे एकदिन हाम्रो पनि बाटो त्यै हो। पीर नमानी सुत्नुस् है।’
आफ्नो मन च्यातिरहँदा पनि मैले आमाको मन टाल्ने कोसिस गरें।
म उजेली आमाकै सम्झनामा बगिरहें, नदीजस्तै एकनासले।
बाहुनको घरमा कोदो भिœयाउन हुन्न भन्नु हुन्थ्यो हजुरआमा। त्यसैले म उजेलीले दिएको कोदोको पीठो राख्न डराउथेँ।
‘राख राख गोठको अँगेनोमा पकाएर खाऊ।’
जबरजस्ती छोडेर जान्थिन् उजेली।
म हजुरआमाले नदेख्ने गरी पिँढीमाथिको खोपीमा लुकाउँथेँ।
उजेली आमाको घरमा धानको भकारी थिएन तर मनमा नाप्नै नसकिने गहिरो भकारी थियो मायाको।
त्यो दिनभरि मेरो हातमा कामै आएन। न आयो आँतमा फुर्ती।
रातको ३ बजे आमालाई निद्राले छोडेछ। फोन आयो।
हेर हेर बूढीमाउ नसुतेर ! बल्ल ३ बजेको छ। किन उठ्ने होला आधारातमा ?’
‘खै आज निद्रै परेन। म भर्खर बिहे गरेर आउँदै देखिकी साथी हुन्उजेली। उनैसँगको सम्झना आइरह्यो।’
‘ए ए आमा, हजुरले सम्झना भनेर मेरी मितिनी सम्झनालाई सम्झेँ। तिनी कहाँ छिन् होला है ? मितबा मितिनी आमाले कति माया गर्थे। दाइहरूले पनि खुब माया गर्थे।’
मैले आमाभित्र उर्लिएको उजेलीको सम्झनालाई किनारा लाउन बल गरें।
‘खै, नानी तिनको बिहे भएपछि त भेटेको छैन। बा आमा दुवै बिते। कता छन् केही थाहा छैन।’
‘मलाई मितिनी खास फापेन है आमा ? ठूली फुपूको घर देउराली जाँदा पनि फुपूले एउटीसँग मितिनी लाइदिनुभा’थ्यो नि।’
मैले अज्जै आमालाई हँसाउने प्रयास गरें।
‘पूजासुजा के के गरेर लाउँथे क्यारे। हाम्रो त यसै ‘मुख बोले मितिनी’ भएर होला यसरी दिगो नभाको।’
आमा अलिकति उजेलीबाट छुट्टिइन्। तर, जबरजस्तीमा कहाँ मन बस्छ र ! रबर जस्तो तान्न छोडेपछि फर्केर त्यहीँ पुग्यो।
आमा उतै लागिन्– ‘बरै, फुसुक्क गयो सास। आज मरे भोलि दुई दिन भन्थे भइ त हाल्यो दुई दिन। बरा उजेली गइन्।’
लामो सास फेरिन् आमाले।
‘अनि नि आमा, ती उजेली आमाको नाम किन उजेली राखेको रे ?
‘गोरी ‘थिइन् केरे त्यै भएर उजेली भनेका नि ! तँलाई काली भने जस्तै त हो। अहिले पो अमेरिका पुगेर यत्तिकी भइस्। जन्मिँदा त कति पोकली थिइस्, सन्तानमै कोही नभाको काली। दिनदिनै मेथी पिनेर मुख धोइदिन्थेँ र यत्तिकी हेर्न हुने भइस्।’
सिलौटोमा मेथी पिनेर मेरो मुख धोएको कथा आमाको मुखबाट धेरै पटक सुनेको थिएँ मैले। आफूलाई राम्री बनाउन आमाले गरेको दुःखको कथा सधैं मीठो लागिरहन्छ। सन्तानका लागि कतिसम्म गर्छन् आमाहरू भनेर सम्झिँदा पनि मुटुभरि माया र सम्मान एकसाथ उम्लेर आउँछ।
‘किन रे आमा ? त्यत्ति बिघ्न दुःख गरेर मेथीले मुख धोइदिन परेको ? मान्छेको रङ कि कालो हुन्छ कि गोरो। छालाको रङले के फरक पर्छ र ? मन मैलो धमिलो नभए त भैगो नि।’
‘त्यसो हैन नि बा। बिहे गरेर अर्काको घर जाने जात, छोरी नराम्री होली र बिहे नै नहोला भन्ने कत्रो पीर। छोरी नै पाइनस् र पो त। छोरी पा’भए था’पाउथिस्।’
आमाले छोरीको अभावमा खाटा बसेको मेरो घाउलाई कोट्याएरै नुन छरिदिइन्।
‘बिहे भएको दुई वर्षसम्म पनि बच्चा पाइनँ भनेर सासूले छोराको अर्को बिहे गराउन लाइथिन्। सौता त मुटुको काँडा हो नानी। कोख बाँझो बनाउने बोक्सी पो लागेकी, हिँड्नुस् कोख फुक्न लैजान्छु भनी लामा दाइकहाँ फुक्न लगेकी थिइन्, उजेलीले। तिनको गुन त करोड छ नानी मेरा लागि।’
मैले जति नै कुरा मोडे पनि आमाले आफ्नो अँधेरिएको मनभरि उजेलीलाई नै बोकिरहिन्।
आश्चर्य मान्दै सोधें– ‘आमा, यो कथा त कहिल्यै सुनाउनुभा’थे न त।’
‘दुःखका कथा पत्रपत्र हुन्छन् छोरी। सयपत्री जस्तै। र, ती जम्मै दुःख तिमीहरूसँग बताउने प्रसँग मिलेन कहिल्यै। फेरि छोर्छोरीलाई यै थाङ्ने दुःखका कुरा मात्रै कति सुनाम् ? ल ल हुन्दे। तेरो काम के छ गर्। आमाछोरीका गफ कहिल्यै सकिन्नन्।’
आमाले यसो भनिरहँदा छोरी नभएको मेरो मुटु फेरि चिमोटियो। साँच्चै छोरासँग यस्ता गन्थनहरू किन साटिन्नन् होला ? किन आमाले छोरालाई आफ्नो मनको बाहिरी पत्र मात्र देखाउँछिन् ? किन आमाछोराको सामु आँसु लुकाउँछिन् र ती जम्मै आँसुको हिसाब गरेर छोरीलाई नै बुझाउँछिन् ? तर छोरी नहुनेले कस्लाई बुझाउँछन् ?
मेरो मनमा प्रश्नहरू तँछाडमछाड गर्न थाले।
‘छोड्दे यस्तै हो दुःख सुख। पालोपालो आउँछन्। सुत्।’
मैले ‘हस्’ भनें र फोन काटें। फोन त काटें, तर काटिएन मेरो कल्पनाको लमतन्न डोरी राति अबेरसम्म।
कतिबेला निदाइछु, थाहै भएन।
‘आखिर उजेली दमिनी पनि गइन् हगी !’
बिहानको रुटिन समातेर आमाको फोन आयो। मेरो फोन उठ्नेबित्तिकै उजेलीको रिक्तता पोखिन्, पहिलो वाक्यमै।
‘ह्या, आमा ! यसरी उजेली उजेली भनेर मलाई नरुवाउनु त।’ मैले आमाको नमिठोलाई पन्छाउने बल गरें।
‘कुरा गरिने तिनैको त हो नि, जो राम्रो÷नराम्रो भएर मनभरि बस्छन्।’
आमा कतै नमोडिई उजेलीसँगका ती दिनहरू स–विस्तार व्याख्या गर्न थालिन्।
‘कस्तो कस्तो मनै कुँडिरा’छ। त्यो समय बडो निर्दयी थियो। जमिन्दारकी बुहारी थिएँ म। तर बुहारी भएकै र छोरो नपाएकै कसुरमा पेटभरि भात खान पाउँदिनथेँ। यो बाँझीलाई खान दिनु त भीरमा मल हाल्नुजस्तै हो भन्थिन् सासू।
‘घाँस काट्न जाँदा हँसियाको तालमा चल्थ्यो मेरो हात तर मेरो पेटभित्र चल्थ्यो तेरो ढुकढुकी !’
आमा एकछिन रोकिइन्। मेरो मन स्पिडमा दगुर्यो। मानौं, कुनै अब्बल कविको कविताका केही लाइन सुन्दासुन्दै बत्ती गएर वाचन् रोकिएजस्तो ।
‘अनि आमा ?’ म हतारिएँ।
‘उजेली, मलाई दुलही नानी भन्थिन्। एकदिनको कुरा हो, घाँसको भारीमा डोरी कस्दै भनिन्– ‘दुलही नानी, मेरो त छाती चक्र्याे, नानी भोकाए जस्तो छ। हेर्नुस् त– दूधको धारा बग्न थाल्यो। अब भारी कसम् घर जाम्।’
‘उजेलीको छोरी भोकाएको कुराले म तेरो जन्म भइसकेपछिको कल्पनामा हराउँथे। तँलाई घरैमा छोडेर घाँस काट्न आएको सम्झिन्थें। मेरो पनि छाती चर्किन्थ्यो चरक्क, उजेलीको जस्तै। हेर् न पहिलोपाला आमा हुन कत्रो सकस्। सकस् नै भए पनि कत्रो आनन्दको स्विकार।’
म भावनामा चुर्लुम्म डुबें। आफू आमा भएको दिन सम्झें।
आमा कथामै हराइरहिन् –
‘उजेलीले घाँसको भारी कसेर नसक्दै मलाई व्यथा लाग्यो। त्यसपछि के भयो मलाई केही थाहा भएन। ब्युँझँदा, तँ उजेलीको मजेत्रोमा थिइस्, च्याँ च्याँ गरिरहेकी, मेरो जिन्दगीको सबैभन्दा ठूलो खुसी बनेर। तँ त जन्मिइस् तर मेरो छाती रसाएन। उसै पनि कलिलो उमेर। त्यसमाथि पहिलो बेतकी सुत्केरी म। त्यतिखेर, आफ्नी छोरीको भोक सम्झेर दूध बगेका मुन्टा तेरो मुखमा राखेकी थिइन् उजेलीले। र, च्याँच्याँ गरिरहेकी तँ उनकै दूधमा अल्मलिएर शान्त भएकी थिइस्।
आमालाई सुन्दासुन्दै निथ्रुक्क भइसकेछु म त। मनको हिउँ पग्लेर आँखाको बाटो हुँदै, धेरै तलसम्म बगिसकेछन्। उजेलीको मृत्युले आमालाई दिएको सकसको कारण बल्ल बुझें।
सानी छँदा आमाले सुटुक्क भनेकी थिइन्– ‘तैंले उजेलीको दूध चुसेकी छेस्। अरूलाई नभन्नू।’ दमिनीको दूध’ भनेर दुन्याँले खेदो गर्छन्।’
त्यतिबेला मैले आमाले भनेको उति वास्ता गरेकी थिइनँ। यस्ता कुरा वास्ता गर्ने उमेर नै थिएन त्यो। बालापन न हो। खेल्नकै ध्याउन्न। यतिबेला बेस्सरी थिचिएको छ मुटु।
मेरो आनीबानी घरका कोहीसँग पनि मिल्दैन रे। कहिलेकाहीँ आमाले जिस्क्याउँथिन्– ‘दूध गुनाको बुद्धि र बिउ गुनाको जिउ’ भन्छन् हो रैछ क्यारे। तेरो स्वभाव त सन्तानमा कसैसँग मिल्दैन। बरु उजेलीको जस्तो छ।’
आमाको कुराले भाइबैनी चिड्याउन थाल्थे– ‘दमिनीको दूध खाकी, दमिनीजस्ती।
म सधैं सोचिरहन्थेँ के हो यो दमिनी ? के हो बाहुनी।
‘किन उजेली आमाले छोएको पानी खान नहुने ?
उनको दूध खान कसरी भयो त फेरि ?’
‘उनले पकाको त्यै धानको भात खान किन नहुने ?’
अलि ठूली भएपछि मैले आमालाई धेरै प्रश्नहरू गरिरहें। तर, धेरै प्रश्नको एउटै जवाफ हुन्थ्यो आमाको– ‘तँ स्यानी छेस्। ठूली भएपछि बुझ्छेस्, चुप लाग।’
म आमालाई हेरेर मौन हुन्थें।
‘सासूले हेलाँ गरेर पेटभरि खान नदिँदा, उनको आँगनमा आगो फुकेर कति पटक मकै भुटेर खाएको छु। मेरा लागि छुट्टै ओदाने अँगेनो बनाइदिएकी थिइन् उजेलीले। पाकेको मीठो चोखो खान नपाएपछि बारीमा गएर दुधिलो मकै खान पनि तिनैले सिकाएकी हुन्। पोसिलो हुन्छ, तागत आउँछ खानुस् नानी भन्थिन् र दाँतले कोपरेर खान सिकाउँथिन्। म पनि माइतबाट ल्याएको नरिवल र मिश्री उनलाई दिन्थेँ।’
‘मलाई पनि याद छ आमा हजुरले उनलाई लुकाएर चामल दिएको। उनका घरमा कोदो मात्रै फल्थ्यो नि हैन ?’
म आमाको अतीतसँगै होमा हो मिलाउथेँ।
आज पनि पत्तो भएन कतिखेर निदाइछु। आमाको फोनले ब्युँझायो। मैले हिजो राति अबेरसम्मको जम्मै सम्झना साक्षी राखेर सोधें आमालाई– ‘अनि जानु भो त आमा उजेलीको घरमा ? चढाउनुभो त फूल ? भन्नु भो त उजेली दिदी तिम्रो स्वर्गमा बास होस् भनेर ?’
‘जान त मन थ्यो नि छोरी। देखी सहँदैनन्। यै हो समाज। एकलाई सय बनाउँछन्। दसलाई हज्जार। मनमनै धेरै रोएँ र आत्माशान्तिको कामना गरें।’
आमाको कुराले म हुरुक्क भएँ। आमाले थपिन्– ‘कति दिन मेलापातसँगै गरियो। गाह्रो हुँदा मेरो भारीसमेत खप्ट्याएर बोकिन् उजेली दिदीले। पात टिप्न जाँदा कहिल्यै रूखमा चढाइनन्। सधैं आफैंले टिपेर ल्याई दिइन् घरसम्म। धेरै काम टारिन् हाम्रो। तर, उनको सास फुत्किँदा एउटा फूल चढाउन मलाई आँट आएन। रोएर बगाएँ जम्मै नमिठो। कति भारा लाउला मलाई उनको ?’
आमा सुँक्सुँकाउन थालिन्। सँगै रोएँ म पनि। फोन कट्यो। त्यो समाज सम्झेर मेरो मनमा प्रश्नका ज्वारभाटाहरू उठिरहे– ‘के छ दमिनीमा ? के छ बाहुनीमा ? जातमा के छ आखिर ?’
यो सत्य हो, मेरो शरीरमा।
मेरी बाहुनी आमाको रगत बगेको छ। तर त्यो रगतमा उजेली दमिनीको दूध पनि मिसिएको छ। आज पनि दमिनी भनेर उजेली आमाले पकाएको भात खानबाट रोक्छ यो समाज र, समाजको डरले रोक्छिन् मेरी आमा।
उजेली मर्दा यो समाजका लागि एउटी अछूत दमिनी मरी। तर मेरा लागि उजेली आमा मरिन्।
अहिले पनि लाग्छ– मान्छेलाई मान्छे हुन एक चोला काफी छैन।