पर्यटकको पर्खाइमा रक गार्डेन
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका— ११ डिभर्नामा रहेको रक गार्डेनको प्रचारप्रसार गर्न सके पर्यटकीयस्थलको रूपमा विकास हुने देखिएको छ।
प्राकृतिक रूपमा रहेको चट्टान आफैं गार्डेन जस्तै बनेर बसेको छ। एक पटक हेर्न जाने मानिस चट्टानको बनावट र त्यहाँको वातावरणमा प्रफुल्लित हुन्छन्। चिसो वातावरण र छिटोछिटो परिवर्तन हुने मौसममा देखिने ढुंगाको बगैंचामा जाने पर्यटक आकर्षित हुने गरेका छन्।
कलात्मक रूपमा मानिसले आफैं सजाएर र योजनाअनुसार बनाएर राखेको जस्तो देखिने ती चट्टान अनौठो प्रकृतिका छन्। सयौ रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थानलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न र प्रचारप्रसार गर्न सन्धिखर्क नगरपालिकाले गुरुयोजना बनाएर अगाडि बढ्न थालेको सन्धिखर्क नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।
रक गार्डेनमा स्थानीय तथा आन्तरिक पर्यटक आउन थालेका छन्। ती पर्यटकलाई सहजताका लागि शौचालय, ट्रस्ट तथा मन्दिर पनि निर्माण गरिएको छ।
प्राकृतिक रूपमा बनेको ढुंगाको बगैंचाको प्रचारप्रसार र विकासमा ध्यान दिन सकेमा सन्धिखर्क नगरपालिकाको महŒवपूर्ण पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने सन्धिखर्क नगरपालिका— ११ का वडाध्यक्ष धु्रुव आचार्यले बताए। अहिले पनि जिल्लाभित्रका मानिस दैनिक रूपमा घुम्न आउने गरेका छन्।
डिभर्नामा रहेको यो रक गार्डेन साँच्चिकै नेपालकै नमुना छ। लुम्बिनी र सुपा देउराली मन्दिरमा आएका पर्यटकलाई सन्धिखर्क बजार हुँदै अर्घा भगवती मन्दिर र डिभर्नाको यस रक गार्डेनमा ल्याउन सके सन्धिखर्कमा चहलपहल बढ्नेछ। यसले स्थानीयको जीवन पनि उकास्न सकिनेछ। रक गार्डेनमा पर्यटक भिœयाउन र संघीयताका कारण कम चहलपहल भएको सन्धिखर्कमा चहलपहल वृद्धि गर्न योजनाका साथ काम गरिरहेको नगर प्रमुख कमलप्रसाद भुसालको भनाइ छ। पछिल्लो समयमा गन्तव्य स्थलको रूपमा विकास भइरहेको छ। अझै पनि प्रचारप्रसारमा लागेर प्रमुख गन्तव्यस्थलको रूपमा विकास गर्ने काममा नगरपालिका अगाडि बढेको नगर प्रमुख भुसालले बताए।
यस स्थानबाट सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका, पाणिनि गाउँपालिका र छत्रे गाउँपालिका मात्र हैन पाल्पा र प्यूठानका केही भागहरू हेर्न सकिन्छ।
ढुंगाको जंगल जस्तै देखिने यस स्थानको प्रचारप्रसार गर्न सके यो एउटा नेपालकै प्रमुख पर्यटकीय स्थलको रूपमा विकास हुन सक्ने स्थानीय बताउँछन्।