२५ कम्पनीले लगे २८ अर्ब

२५ कम्पनीले लगे २८ अर्ब

काठमाडौं : नेपालमा लगानी गरेका विदेशी कम्पनीले गत वर्ष २८ अर्बभन्दा बढी लाभांश लगेका छन्। कोरोना कहरबीच पनि राम्रो आम्दानी गरेकाले विदेशी कम्पनीले लाभांश लगेका हुन्। 

पछिल्लो समयमा नेपालमा लगानीको वातावरण बन्दै गएको विदेशी लगानीकर्ताको बुझाइ छ। लगानी बढाएसँगै विदेशी कम्पनीले राम्रो मुनाफा आर्जन गरेका छन्। उनीहरूले सेयर बिक्री, लाभांश तथा रोयल्टीबापत २८ अर्ब रुपैयाँभन्दा बढी लगेका हुन्। 

उद्योग विभागका अनुसार उक्त मात्रामा लाभांश लैजाने २५ वटा विदेशी कम्पनी हुन्। २५ कम्पनीमध्ये धेरै लाभांश लैजानेमा सूर्य नेपाल, गोर्खा बु्रअरी, एनसेल, युनिलिभर र मस्र्याङ्दी हाइड्रोपावर छन्। 

सूर्य नेपालले ३ अर्ब, गोर्खा ब्रुअरीले १ अर्ब ७२ करोड, एनसेलले १ अर्ब १९ करोड, युनिलिभरले १ अर्ब, मस्र्याङ्दी हाइड्रोपावरले ४० करोड ८५ लाख रुपैयाँ लाभांश तथा रोयल्टीबापत रकम लगेका छन्। 
सरकारले लगानीमा सहजीकरण गरेसँगै विदेशी लगानी भित्रिने र सहजैरूपमा नाफा लैजाने क्रम बढेको छ। राष्ट्र बैंकको अध्ययनअनुसार हालसम्म विदेशी लगानी २ खर्ब पुगेको छ। तर प्रतिबद्धता उल्लेख्य आउने गरे पनि ३५ प्रतिशत मात्रै लगानी भित्रिने गरेको पाइएको छ।   

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा) २०७५ मा विदेशी लगानी आकर्षित गर्न लगानी, सञ्चालन र फिर्तासम्बन्धी स्पष्ट व्यवस्था छ। फिटा कार्यान्वयनमा आएसँगै पछिल्लो समय विदेशी लगानी बढ्नुका साथै लाभांश लैजाने कम्पनी पनि बढ्न थालेका छन्।  विदेशी उद्योगले आफ्नो आम्दानीबाट नेपालमै पुनः लगानी गर्न सक्ने व्यवस्था पनि छ। त्यस्ता कम्पनीले नेपालमै लगानी गर्न चाहेमा पुनः स्वीकृति लिनु पर्दैन। तर लगानीबारे विभागलाई जानकारी भने गराउनु पर्छ।

विदेशी कम्पनीले रोयल्टीबापत गत वर्ष ३३ लाख अमेरिकी डलर, १८ लाख ८० हजार भारुका साथै २ अर्ब १४ करोड ६४ लाख रुपैयाँ रोयल्टी लगेका छन्। प्रविधि हस्तान्तरण सम्झौता भएअनुसार कम्पनीले उक्त मात्रामा रोयल्टी लगेका हुन्। रोयल्टीबापत विदेशी कम्पनीले ७९ पटक विभागबाट स्वीकृत गराएर रकम लगेका छन्। सेयर खरिद बिक्री र लाभांशबाट २५ अर्ब ९९ करोड लगेका छन्। अघिल्लो वर्ष लकडाउनअघि १६ कम्पनीले १० अर्ब लाभांश लगेका थिए। गत वर्ष असोजदेखि मात्रै लाभाशंको स्वीकृति उद्योग विभागले गर्न थालेको हो। त्यसअघि राष्ट्र बैंकबाट लाभांश स्वीकृति हुँदै आएको थियो। 

विभागका अनुसार एनसेल, गोर्खा ब्रुअरीलगायत बहुर्राष्ट्रिय कम्पनीले गत वर्ष धेरै पटक रोयल्टी लगेका छन्। नाफाबापतको रकम विदेश लैजाँदा विदेशी कम्पनीले १५ प्रतिशत कर तिर्नुपर्छ। कम्पनीको साधारणसभाले लाभांश वितरण गर्ने निर्णय  प्रतिलिपि, सञ्चालक समितिको निर्णयको प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन, कर चुक्ता, कर कार्यालयमा पुँजीगत लाभकर तिरेको रसिद, लाभांश लैजाँदा लाग्ने कर तिरेको रसिद विभागमा बुझाउनुपर्छ। त्यस्तै सञ्चालक लागतको विवरण, कम्पनी दर्ता, नियमावली, प्रबन्धपत्र पेस गरी लाभांश र रोयल्टी लैजान विभागबाट स्वीकृति लिनुपर्छ। यसका साथै नेपाल राष्ट्र बैंकसँग सम्बन्धित देशको मुद्रा सहमति लिनुपर्छ। सेयर बिक्रीमार्फतको रकम लैजानका लागि कम्पनीको कर्जा कालोसूचीमा नरहेको प्रमाणपत्रसमेत चाहिन्छ। 

विभागको विदेशी लगानी शाखाका निर्देशक सुरेश श्रेष्ठले कुनै कम्पनीले दुई÷तीन वर्षको नाफाबाट लाभांश र रोयल्टी एकैचोटी लैजाने भएकाले वर्षमा यति रकम लाभांश लिन्छन् भन्ने अवस्था नरहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.