युवा नेतृत्वले ढोका ढक्ढक्याएको छ
कांग्रेसमा पुस्तान्तरणको बहस नौलो होइन। ७० वर्ष उमेर समूहकै नेतृत्वको हालीमुहाली छ। १४ औं महाधिवेशनका लागि यसपटक वडाबाटै युवा प्रतिनिधिहरूको संख्या ह्वात्तै बढेको छ। युवा प्रतिनिधिहरूको संख्या बढेकाले पदाधिकारीका लागि यूवा नेताहरू हौसिएका छन। महामन्त्री लगायत पदाधिकारीमा धेरै युवा नेता आकांक्षी देखिएका छन्। प्रवक्ता विश्वप्रकाश शर्मा युवाले अवको नेतृत्वको ढोका ढक्ढक्याइसकेको तर्क गर्छन्। प्रवक्ता शर्मासँग कांग्रेसको १४औं महाधिवेशनमा युवा नेतृत्वबारे अन्नपूर्णकर्मी नरेन्द्र साउद र राधा खनालले गरेको कुराकानी :
कांग्रेसमा सदस्यताको समस्या अझै सल्टेको छैन। चरणचरणमा सदस्यताको सूची किन सार्वजनिक भइरहेको छ ?
नेताहरूको अनुहार हेरेर सदस्यता टुंग्याउने गरिएकाले ढिलो भएको भन्ने आरोप छ नि ?
नेताहरूको अनुहार पहिलादेखि नै प्रष्ट छ। कुन नेता कुन गुटको भन्ने पनि प्रष्ट छ। नेतृत्वको अनुहार हेरेर गर्नु परेको भए पहिला नै टुंगो लागिसक्थ्यो। विषयलाई हेरेर गर्नु परेकाले ढिलो भएको हो। हतारमा गर्ने भनेर पनि राम्रो हुन्न र ढिला पनि राम्रो हुँदैन। मंसिरको महाधिवेशनलाई असर नपर्ने गरी सम्पादन भइरहेको छ।
सदस्यता नटुंगिँदा महाधिवेशन नै नहुने हो कि भनेर कांग्रेसकै युवा नेताहरूले विज्ञप्ति प्रकाशित गर्नुपर्ने अवस्था आयो। किन ?
युवा साथीहरूले सजग गराउनु स्वाभाविक हो। पार्टी, संगठन र क्रियाशील सदस्यताका बारेमा चिन्ता र चासो राख्नु स्वाभाविक र जीवन्त प्रक्रिया हो। सुझाव र दबाब पनि स्वाभाविक हुन्। पार्टीका तर्फबाट के मात्र आश्वस्त पार्न सक्छु भने सदस्यता टुंग्याउने समितिमा पार्टीभित्र फरकफरक विचारधारा राख्ने साथीहरू नै हुनुहुन्थ्यो। समितिले टुंग्याउन बाँकी रहेका विषयमा समाधान गर्ने समितिमा पनि पार्टीभित्र दुईतीन विचारधारा बोकेका समूहबाटै प्रतिनिधित्व छ। सबै मिलेर साझा रूपमा समाधान निकाल्ने काम भइरहेको छ। सबै विचार समूहको सहभागिता भइरहेको छ। अब जे गाँठो अड्केको छ र टुंगिन बाँकी छ, त्यसमा पनि सबैको सहभागिता छ।
अब जे गाँठो अड्केको छ र टुंगीन बाँकी छ, त्यसमा पनि सबैको सहभागिता छ। सबैलाई यो विषय थाहा छ।
नेताहरूको अनुहार पहिलादेखि नै प्रष्ट छ। कुन नेता कुन गुटको भन्ने कुरा झनै प्रष्ट छ।
जनताका बीचमा स्थापित गरेर जनताले नै बनाएको व्यवस्थामा शासन गर्ने कुरा छाडेर पुरानोमा फर्किन्छौं भन्ने सन्देश व्यवस्थाप्रतिको होइन, अवस्थाप्रतिको हो।
प्रजातन्त्रमा प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धा हुने भइसकेपछि आफूलाई जँचेका जति त्यसमा लडुन् अरू नलडुन् भन्न पनि हुँदैन।
सबैलाई यो विषय थाहा छ। त्यसका बाबजुद पनि ढिलाइ भएको छ। आशंका हुन सक्छ, अधिवेशन नहोला कि भन्ने। अधिवेशनका लागि गाडी छुटिसकेको छ। ५० भन्दा बढी जिल्लामा वडा तहको अधिवेशन भइसक्यो। त्यसकारण अधिवेशनका बारेमा ढुक्कसँग गाडी अगाडि बढिसक्यो।
कांग्रेसले संविधान र विधान दुवै नमानेको हो ?
अरू दलभन्दा कांग्रेस संविधानको भावनाप्रति गम्भीर देखिन्छ। साढे पाँच वर्षको अवधिमा कांग्रेसको त कम्तीमा महाधिवेशन सुरु त भयो नि। अरू पार्टीको भन्दा सबैभन्दा पछाडि कांग्रेसकै महाधिवेशन भएको थियो। शेरबहादुर देउवा सभापति बन्नुभन्दा पहिले नै एमालेमा केपी शर्मा ओली महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो। देउवाभन्दा अगाडि माओवादी केन्द्रमा प्रचण्ड निर्वाचित हुनु भएको हो। हामीले त महाधिवेशन सुरु गरिसक्यौँ, उहाँहरू कता हुनुहुन्छ ?
यसको अर्थ, अरूले ढिलो गर्दैछन् र हामीले पनि ढिलो गर्नुपर्छ भन्ने मान्यता होइन। किनभने कांग्रेसले अगुवाइ गर्ने हो र नेतृत्व लिने हो। हामीले त समयमै अर्थात् साढे पाँच वर्षमा टेकेर महाधिवेशन सुरु गरेका छौँ। सदस्यताको विवाद सभापति र महामन्त्रीले टुंग्याउने भन्ने विधानमा व्यवस्था छ। तर, हामीले विधानसँगै व्यवहारमा लचक भएर बढी लोकतान्त्रिक भएर काम गर्न सफल भएका छौं।
निर्धारित मंसिरमै कांग्रेसको महाधिवेशन हुन्छ त ?
मंसिरमा हुन्छ। महाधिवेशनको प्रक्रिया सुरु भइसकेको छ।
कांग्रेसमा पुस्तान्तरणको कुरा उठिरहन्छ। तर, नेतृत्व लिने आँट युवा नेताहरूले किन नगर्नुभएको त ?
उम्मेदवारकै रूपमा त युवा साथीहरू मैदानमा आइसकेका छौँ। युवा–युवाको एउटा र पाका–पाकाको अर्को टिम बनाएर ‘रेस्लिङ’ खेल्ने कुरा होइन यो। साझा ढंगले अगाडि बढ्ने हो। जसरी एउटा परिवारमा ज्येष्ठ सदस्यले आशीर्वाद दिने काम गर्छन्। बीचको समूहले व्यवहार चलाउने काम गर्छन्। पछिल्लो पुस्ता सम्भावना बोकेर आइरहेको छ। त्यस्तै गरेर कांग्रेसभित्र पनि ३÷४ वटा पुस्ता छन्। म आफूलाई एकदम युवा भनेर दाबी गर्दिनँ। तर पाका उमेरको नेतृृत्वको कारणले जबर्जस्त ढंगले हामीलाई युवा मानिएको छ। युवा सर्कल वडा तहबाटै जबर्जस्त ढंगले आउँदैछ।
तस्बिर : दीपेन श्रेष्ठ
पार्टी सभापतिमै युवा नेतृत्व कहिले देख्न पाइन्छ त ?
युवाले कांग्रेसको स्थापना गर्नु भएको हो। मेरो अहिलेको उमेरमा बीपी कोइराला सभापति÷प्रधानमन्त्री भइसक्नुभएको थियो। कतिपयले हामीलाई बेला भएको छैन भन्दा, मैले ‘एज होइन एजेन्डा’ हेरौं भन्ने गरेको छु। सभापति पदकै कुरा गर्दा त्यसमा पनि अपेक्षा छ। केन्द्रीय कार्यसमितिमा पहिलोपटक आएर महामन्त्रीमा उम्मेदवार बन्दैछु। अरू प्रतिस्पर्धी साथीहरूको हकमा त्यस्तो होइन। कतिपय तेस्रो चौंथो पटक केन्द्रीय कार्यसमितिमा पुगेका साथीहरू बल्ल पदाधिकारीमा दाबी गरिरहनु भएको छ। अहिले नै सभापतिको उम्मेदवार बन्न त मभन्दा अगाडि नै केन्द्रीय कार्यसमितिमा बसेर लामै समय काम गरेका साथीहरूले अग्रसरता लिएको भए हुन्थ्यो। अहिलेको पाको नेतृत्वसँग त्यही ढंगले संवाद गर्दै जानुपथ्र्यो। म आफैंले सभापति पदमा सोच्ने बेला भएको छैन। केन्द्रीय सदस्य पहिलो पटक भएको हुँ। प्रवक्ता भइसकेर महामन्त्रीसम्म जाँदा ठीक हुन्छ भनेर घोषणा गरेको हुँ।
सभापतिमा पुरानै नेता आउने देखिन्छ। नयाँ नेतृत्व आउन अझै समय लाग्ने देखियो त ?
टिप्पणी धेरै हतार हुन सक्छ। किनभने सभापति पदका लागि अहिले नै सबैको उम्मेदवारी घोषणा भइसकेको छैन। उहाँहरूले उम्मेदवारी घोषणा गरेपछि त्यो विषयमा बहस होला। अहिले उहाँहरू जे जे जिम्मेवारीमा हुनुहुन्छ, साथ दिनुपर्छ। उहाँहरूको उम्मेदवारी आइसकेपछि समीक्षाबाट खारिने कुरामा उहाँहरू लाग्नुपर्छ। अहिले हामीलाई आउने प्रश्नको जवाफमा केन्द्रित हुनु परिरहेको छ। उहाँहरूलाई पनि भोलि ती प्रश्न आउँछन्। उम्मेदवारका रूपमा विधिवत् घोषणा गरिनसकेकाले अहिले नै विश्लेषण गर्नु उपयुक्त नहोला, समय आउला।
नेतृत्व उही, कार्यक्रम उही, महाधिवेशनबाट सिद्धान्त के नयाँ आउँछ त ?
कार्ल माक्सले लेखेको किताबलाई कम्युनिस्टहरूले राजनीतिक आधार मानेर हिँडे। बीपी कोइरालाले भनेको समाजवादको बाटोमा कम्युनिस्टहरू छन्। समाज बदल्ने सिद्धान्त त आजको हजार वर्षसम्म पनि रहन्छ नि। महाधिवेशन आउँदै गर्दा कार्यक्रम देखिन्छ। समयअनुसार कार्यक्रम बदलिन्छ। बीपीले छोडेर गएको लोकतान्त्रिक संसदीय शासन प्रणाली र समावेशी सिद्धान्तको सामाजिक न्यायको बाटोमा सबै आएका छन्। हाम्रो मूल बाटो ठीक छ। नवीन कार्यक्रम महाधिवेशनबाट आउँछ।
बीपीले जस्तो युवामै पद र नयाँ कार्ययोजना ल्याउने काम अब कांग्रेस नेतृत्वमा कहिले देख्न पाइन्छ ?
कांग्रेसको हरेक महाधिवेशनबाट कार्यक्रम नयाँ आएका छन्। स्थापनाकालदेखि हेर्दा राणाशासनबाट स्वतन्त्रताको कुरा थियो। समाजवाद २०१२ सालको अधिवेशनपश्चात् आयो। बीपीले समावेशितालाई विधानमा नल्याई अभ्यास गर्नुभयो। त्यही कुरालाई ६० वर्ष पछाडि संविधान र विधानमा लग्यौँ। योभन्दा अघिल्लो अधिवेशन गणतन्त्रतर्फ आफूलाई लग्यो। कांग्रेसको हरेक अधिवेशनबाट कतिपय समाज अनुकूलको विषयवस्तुहरूमा हामीले निर्णय गरेका छौँ। ती सबै देशको बाटोमा छन्। अहिलेको महाधिवेशनको विषय संविधान ठीक छ, यो व्यवस्था ठीक छ भन्ने हो। व्यवस्थाभित्रको अव्यवस्थाको अन्त्यको बाटो अबको हो।
कांग्रेसको महाधिवेशनले नयाँ के दिन्छ ?
यो पद्धतिलाई टिकाउनु नै कांग्रेसको अहिलेको मूल मुद्दा हो। यो संविधानलाई सर्वस्वीकार्य बनाउने अर्को दायित्व हो। संविधान बनाइराख्दा मैनबत्ती बाल्ने र टायर बाल्नेहरू दुवैका लागि बनेको संविधान हो। यसको अपनत्व देखाउन सक्नुपर्छ। राजनीतिक रूपान्तरण भनेको वितृष्णा केमा छ ? सोझो अर्थमा हेर्दा व्यवस्थाप्रति देखिन्छ। तर व्यवस्था हेर्दा पनि हिजो मधेसी समुदायबाट आएको राष्ट्रपति र एकजना महिला देशको प्रधान (राष्ट्रपति) बन्नुभयो। हिजो त्यो थिएन। जनताको बीचमा स्थापित गरेर जनताले नै बनाएको व्यवस्थामा शासन गर्ने कुरा छाडेर पुरानो (पहिलाकोमा) फर्किन्छौँ भन्ने कुरा व्यवस्थाप्रतिको होइन, अवस्थाप्रतिको हो। त्यसलाई अतिरञ्जना ढंगले व्यवस्थाविरुद्घ व्याख्या गर्न थालियो। व्यवस्थापकप्रतिको कमजोरी हो। हाम्रो अयोग्यतालाई ल्याएर शासन प्रणालीसँग गाँस्नु हुँदैन।
महामन्त्रीमा त केही नयाँ अनुहार देखिँदै हुनुहुन्छ। सभापतिमा युवाले आँट नगर्ने हो ?
महामन्त्रीका लागि चार÷पाँच जना मैदानमा देखिएका छौं। पार्टीमा युवाको संख्या ५० प्रतिशत छ। धेरै साथीहरू सहमहामन्त्रीमा पनि जानुहुन्छ होला। उपसभापतिमा पनि बाँडिनुहोला। सभापतिमा पनि कोही आउनुहोला। सानो संख्या महामन्त्रीमा गएको हो। संगठनको तालाचाबी बोकेर बस्ने महामन्त्री रैछ। संगठनको व्यवस्थापन, प्रचार, नीति निर्माणको कुरोमा महामन्त्रीको टेबुल वर्कदेखि फिल्ड वर्कसम्म हुँदोरैछ। हामी त्यो ठाउँमा जाँदै गर्दा कांग्रेसको भावी नेतृत्वको अनुहारमाथि पनि चर्चा होला। अब, सही ढंगले परीक्षा सुरु हुन्छ भनेर बुझौँ।
आशलाग्दा युवा नेताहरू एउटै पदमा चुनाव लड्दै हुनुहुन्छ। बाहिर पार्ने खेलमा किन नि ?
डेमोक्रेसीमा प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धा हुने भइसकेपछि आफूलाई जँचेका जति त्यसमा लडुन् अरू नलडुन् भन्न पनि हुँदैन। त्यसैले २०४८ सालको झापा महाधिवेशनबाट एक जना मात्र केन्द्रीय सभापतिको निर्वाचन भयो। कृष्णप्रसाद भट्टराई निर्वाचित हुनुभयो। त्यस पछाडिको अधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापतिमा निर्वाचित हुनुभयो। सँगसँगै, अरू पाँच जना केन्द्रीय सदस्यको पनि चुनाव भयो। पोखरामा भएको अधिवेशनमा पुग्दा सभापतिलगायत १८ जनाका लागि निर्वाचन भयो। त्यसपछि काठमाडौंमा २५ जना केन्द्रीय सदस्यका साथै एउटा महामन्त्री र एउटा कोषाध्यक्ष पदमा निर्वाचन भयो। १४औं महाधिवेशनमा आइपुग्दा २ उपसभापति, २ महामन्त्री र ८ वटा सहमहामन्त्री निर्वाचित हुँदैछन्। हरेक महाधिवेशनबाट कांग्रेसले नेतृत्व चयनको विषयमा परिवर्तन गर्दै गएको छ। ढोका खुल्ला गरे पछि किन आइस् भन्न पनि मिलेन।
युवा नेताहरू एउटै पदमा लड्नु भएन भन्ने शुभेच्छा राख्ने पनि छन् नि।
इतिहासमै पहिलो पटक एक मतदाताले महामन्त्रीमा दुई व्यक्ति रोज्न पाउँदै हुनुहुन्छ। त्यतिबेला दुवै युवा पर्नुहोला अथवा दुवै पाका पर्नुहोला। युवा र पाकामध्ये कसैलाई रोज्नुहोला। अब एउटा मात्रै महामन्त्री हुँदै गर्दा पनि ३ जना भिड्ने गरेकै हो। अब त दुई जना छान्ने मौका पनि छ। ५, ६ जना उम्मेदवार भइहाल्छौं कि ? मुख्य कुरा, लोकतान्त्रिक अभ्यासलाई आत्मसात् गर्ने हो। आत्मसात् गरिसकेपछि प्रतिस्पर्धामा जान हिच्किचाउनु पनि भएन। प्रतिस्पर्धामा गइसकेपछि फेरि फलानो पनि किन आएछ ? भन्ने हुँदैन। त्यसकारण यसमा देशभरिको पार्टीका महाधिवेशन प्रतिनिधिहरूको सर्वोत्तम विवेकमा भर पर्छ।
महामन्त्रीमा उम्मेदवारी त घोषणा गर्नुभयो कुन गुटबाट लड्दै हुनुहुन्छ ?
भर्खरै मैले उम्मेदवारी घोषणा गरेको छु। धेरै साथीहरूले वर्ष दिन, दुई वर्ष अथवा अघिल्लो महाधिवेशनदेखि नै घोषणा गर्नुभएको छ। मैले आफ्नो उम्मेदवारी बीपी जयन्तीका दिन मात्रै घोषणा गरेको हुँ। केन्द्रीय सदस्य भएपछि त्यही काममा लागें। प्रवक्ता भएपछि पार्टीको प्रचारमा लागें। बल्ल अब आफ्नो प्रचार गर्दैछु। समूहगत रूपमा मेरो निकटता कता छ भन्ने सबैलाई थाहा छ। १३औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बनाउने दौडमा सुरुदेखि म लागेको हो। पहिलो चरणमै खुलेर लागेको हो। म समूहगत आबद्धता उतै हो। देउवाको निकटका मान्छे भनिनेमा सायद मेरो नाम पनि आउँला। त्यो भनेर प्यानल बनाएर उम्मेदवारी दिएको होइन।
महामन्त्रीमा उम्मेदवार त हुनुभयो, एजेण्डा के के हुन ?
सुन्दरीजलको जेलमा बीपीलाई राखिएको माटो ढोगेर उम्मेदवारी घोषणा गरें। बीपीले रोपेको कपुरको रूखमा पानी हालें। त्यसपछि रुद्राक्षको बिरुवा रोपें र पूजा गरेर उम्मेदवारी घोषणा गरें। आफ्ना एजेन्डाका बारेमा भने झापा पुगेर बोलेको छु। सोही क्रममा आफ्नो राजनीतिक र सामाजिक दृष्टिकोण पनि प्रस्तुत गरिसकेको छु। जुन २४ बुँदे छ। यसमा कांग्रेसको सामाजिक रूपान्तरणसँगै समृद्घिका कुरा पनि समेटेको छु। ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ नाम दिएर जारी गरेको २४ बुँदे अवधारणा–पत्रमा एक व्यक्ति चार पटकभन्दा धेरै सांसद बन्न नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव राखेको छु। जसमा राष्ट्रपति एक पटकभन्दा दुई पटक बन्न नपाउने, प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नपाइने, मन्त्री तीन पटकभन्दा बढी बन्न नपाइने विषय छन्।
सुन्दरीजलमा उम्मेदवारी घोषणा गरेकै भोलिपल्ट विमलेन्द्र निधिको घरमा पूजामा सहभागी भएको तस्बिर सार्वजनिक भयो। त्यो संयोग थियो कि संकेत थियो ?
त्यो दिन यत्तिकै शीर्ष नेताहरूलाई भेट्दै गरेको बेला विमलेन्द्र दाइको फोन आयो। दाइलाई साँझपख आउँछु भने। हुन्छ, आज पूजा पनि छ भन्नुभयो। भेटमा राजनीतिक संवाद नै गरियो। रामजानकी मन्दिरको थप आध्यात्मिक अनुष्ठान कसरी बढाउन सकिन्छ भन्ने विषयमा पक्कै पनि कुरा भएन। शेरबहादुर दाई र तपाई मिल्नुहोस भनेर मैले कुरा राखे। महामन्त्रीमा आफु उठ्ने निर्णय गरेपछि त्यस विषयमा पनि कुरा हुने नै भयो। त्यति बेला आरती चलिरहेको थियो। एउटा हिन्दुको घरमा पुगेपछि म हात बाँधेर बस्ने कुरा भएन। म पनि सहभागी भए। भाउजूले भन्नु भएको थियो, तस्बिर सामाजिक सञ्जालमा हाल्दा फरक पर्दैन नि। मैले भने भाउजू यस्तो कुरासम्म नसोचौँ। हाल्नुस् केही फरक पर्दैन भनें। भएको कुरा यत्ति हो।
विषयभन्दा पनि परिस्थितिलाई विश्लेषण गरिएको हो कि ?
साथीहरूलाई योजनाबद्घ हिसाबले आएको फोटो हो भन्ने लाग्यो होला। म शेरबहादुर देउवा निकट रहेर काम गरेको मान्छे हो। अहिले पनि म उहाँकै टिममा छु। म विमलेन्द्र निधिको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्ने भए पनि त्यो भूमिगत हुँदैन, सार्वजनिक नै हुन्छ। म उहाँको प्यानलमा गएँ भने पनि पत्रकार साथीहरूलाई बोलाएरै भन्छु। मैले सुन्दरीजलमा पुगेर महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको कुरा मात्र सत्य हो। बाँकी प्यानलको विषयमा कुनै टुंगो भएको छैन। संस्थापन पक्ष अहिले अधिवेशन गराउनमा पनि व्यस्त छ। अधिवेशनले एउटा आकार लिएपछि प्यानलको विषयमा स्पष्ट कुरा बाहिर आउँछ।
तपाईले महामन्त्री नै रोज्नुको कारण के हो ?
महामन्त्रीले गर्ने खासगरी दुई, तीन वटा कुराहरू हुन्छन्। ती कुरा गर्न एक ढंगले म ठीकै पात्र हुँ भन्ने लाग्छ। संगठनको व्यवस्थापन गर्ने क्षमता थोरबहुत मसँग छ। प्रतिकूलताको बीचमा मैंले नेपाल विद्यार्थी संघको नेतृत्व सम्हालेको थिएँ। जतिबेला, संकट काल थियो। दोस्रो कुरा, महामन्त्रीले गर्ने संगठन व्यवस्थापनको हो। त्यसको लागि मैले तालिमहरू पनि लिएको छु, नेपाल विद्यार्थी संघको राष्ट्रिय अध्यक्ष भएको बेला। संगठनलाई सार्वजनिक रूपमा प्रचारात्मक कुरा गर्न जान्नुपर्छ। प्रचारात्मक कुराका लागि मैले प्रवक्ता भएर अनुभव हासिल गरेको छु। अर्को कांग्रेसको विचारलाई नीतिमा रूपान्तरण र व्यवहार खारिने बनाउने काम पनि महामन्त्रीले गर्ने हो।
पार्टीको महाधिवेशन त मंसिरमा तोक्नु भएको छ। अरू भातृ संगठनको महाधिवेशन के हुन्छ ? हुन्छन् कि हुँदैनन् अब ?
भातृ, शुभेच्छुक संस्थाहरूको महाधिवेशन गर्न नसकेको कुरा १३ औँमा पनि मुद्दा थियो। १४ औँमा पनि यही मुद्दा छ। यही विषयमा केही युवा साथीहरू बीचमा हाम्रो छलफल पनि भएको थियो। तर १५ औँमा यो मुद्दा बन्नु हुन्न भन्ने कुरामा हाम्रो दृष्टिकोण हुनुपर्छ। अहिले पार्टीको महाधिवेशन चल्दै गर्दा भातृ संस्थाहरूको महाधिवेशन सम्भव छैन। र पार्टीको अधिवेशन सम्पन्न भएपछि भ्रातृ र शुभेच्छुक संस्थाहरूको सञ्चालन पद्धतिमा परिमार्जन गर्नु आवश्यक छ। सिंगो कांग्रेस नै संक्रमणकालमा छ। पुरानो कांग्रेसको ढाँचा र ढर्राबाट नवीन कांग्रेसको ढाँचा र ढर्रामा कांग्रेस जान्छ।
कांग्रेसभित्रका विकृति कसरी हटाउने ?
रूपान्तरण नै कांग्रेसको अनिवार्य सर्त हो। अहिले कांग्रेसमा दावा गरिरहेका नेताहरू प्रायः सबै नेपाल विद्यार्थी संघबाटै प्रवेश गर्नुभएको छ। एक, दुई जना बाहेक। नेविसंघ एउटा नर्सरी हो। पार्टीको स्कुल नै नेविसंघ हो। उनीहरूलाई जुन नेतृत्वदायी भूमिका दिएर जानुपर्ने हो, सकिएको छैन। कांग्रेसभित्रै पनि जगेडामा बसेका हजारौं मान्छे छन्। संगठनको व्यवस्थापनको कुरो कांग्रेसको रूपान्तरणसँग अनिवार्य गाँसिन्छ। नेविसंघ, तरुण दललगायत अन्य सबै भातृ संस्थाहरूको साझा दस्ताबेज बनाउनु जरुरी छ। १४औँमा यो मुद्दा जीवित भयो। १५औँमा आइपुग्दा यो मुद्दा हटाउने छौँ भनेर क्षमता र साहस राख्न आवश्यक छ।
नेतृत्वका निम्ति उमेरको हद राख्ने बेला भएन र ?
नेपाल विद्यार्थी संघमा उमेरको हद ३२ वर्ष राखिएको थियो। म ३२ वर्षमै रिटायर्ड भएको हो। २०५७ देखि २०५९ सालसम्म नेविसंघको सभापति रहेँ। त्यतिबेला गिरिजाबाबुले नै तपाईंले नै दोहोर्याउनु पर्छ भन्नुभएको थियो। तर मैले मानिन। विद्यार्थीमा खोजेको अभ्यास नेतृत्व तहमा पनि लागू हुँदा सबैलाई एउटा मौका आउँछ। अब म बोल्छु, राजनीतिमा कस्तो खालको विचारको विकास गर्नुपर्छ भनेर। पाको होस् या युवा सिस्टमभित्र तोकिएको समयभित्र आउन सक्ने र जान सक्ने हुनुपर्योे। ताकि जमेर नबसोस्। कपाल कालो हुने बित्तिकै मान्छे योग्य, कपाल फुल्नेबित्तिकै मान्छे अयोग्य भन्ने हुँदैन। जतिसुकै योग्य भए पनि बाराक ओबामा तेस्रो पटक अमेरिकाका राष्ट्रपति बन्न सकेनन्। हामीकहाँ त्यो सिस्टम छैन।
अब हस्तक्षेप गरेरै नेतृत्व फेर्ने बेला भयो जस्तो लाग्दैन तपाईंलाई ?
धेरै साथीले युवाले हस्तक्षेप गर्नुपर्छ भन्नुभएको छ। युवाले हस्तक्षेप होइन, नेतृत्व गर्छौं भन्नुपर्यो। मेरो महामन्त्रीमा उम्मेदवारी कुनै हस्तक्षेप होइन नेतृत्वमा दावा हो। वर्तमानको अंशियार पनि युवा हुन्। नेतृत्वदायी भूमिकामा जान्छौँ भन्दै गर्दा पाकालाई छाडेर जाने होइन। युवा निश्चित ठाउँमा आउँछन्, पाका निश्चित ठाउँमा। अहिले महामन्त्रीमा पाको उम्मेदवार त कोही देख्नुहुन्न। सभापतिको ढोकामा पुगिसक्यो। त्यसले नेतृत्वदायी भूमिका बढाएर जान्छौँ। जिल्ला जिल्लाबाट पनि त्यो प्रयास भइरहेको छ। महाधिवेशनमा ठूलो संख्या युवाको आउँदैछ।
१५औं महाधिवेशनमा सभापतिको उम्मेदवार अहिलेको युवा नेता नै हुन्छन् त ?
संगीतको संयोजन गर्दा धुन कलात्मक बनाउन मात्र लाग्छु। त्यसैगरी अहिले महामन्त्रीबारे मात्र सोच्छु। निष्ठापूर्वक र दृढतापूर्वक नेतृत्व लिन सक्छु भन्ने उद्देश्यका साथ लागेको छु। भविष्यको कुरा गर्दा एक दिन कांग्रेसको पनि नेतृत्व गर्ने र देशको पनि नेतृत्व गर्ने आकांक्षा छ।