समृद्धिको जहाजमा जातको जहर

समृद्धिको जहाजमा जातको जहर

सत्वगुणयुक्त व्यक्तिले त्यसैका कारण सुख एवं शान्तिको प्राप्ति गर्दछ। रजोगुणको स्वरूप भने रागमय हुन्छ।


एक्काइसौं शताब्दी, वर्गविहीन समाज, साम्यवाद–समाजवाद, समानता–समावेशिता, सभ्यता–मानवता’ आदिका नारा उरालेर, त्यसैका बारेमा तर्क, बितर्क अनि कुरा गरेर कहिल्यै नथाक्ने हामीहरू आफैंले आफैंलाई ‘जन्मजात बाहुन–क्षत्री, उपल्लो जात मानेर गमक्क फुल्ने’ अनि आफंैले नै आफैंलाई कामी–दमाई, तल्लो जात, ‘दलित’का रूपमा स्वघोषणा गरेर खिस्रिक्क पर्ने गर्दै आइरहेका छौं।

आफैंले जन्मका आधारमा बनाएको उचनीच, छुवाछूत, छोइछिटो अनि वर्ग विभाजनको यो कुसंस्कार, असंस्कृति अनि गलत परम्परालाई धर्मको लेपन लगाएर आफ्नो समृद्ध, सम्पन्न अनि सनातन संस्कृति, परम्परा र स्वधर्मका विरुद्ध आफैं नै खडा भइरहेका छौं। अझै अरूले हाम्रो यो विशाल सनातन परम्परामाथि विष वमन गर्ने प्रवृत्तिमा मलजल गर्दा हामी झनै खुसी भएर ‘हो मा हो’ मिलाउने मात्र नभई आफ्नो स्वधर्मकै परित्याग नै गर्ने दिशातर्फ लम्किरहेका छौं।

तर आजभन्दा करिब पाँच हजार वर्ष अगाडि नै लेखिएको अनि पाँचौं वेदका रूपमा मानिने महाभारतको प्रमुख अंश श्रीमद्भगवद् गीतामा नै उल्लेखित, अनि भगवान् विष्णुकै पूर्णावतारका रूपमा धर्तीमा पदार्पण गरेका र योगेश्वरकै स्वरूप मानिएका श्रीकृष्णकै मुखारबिन्दबाट उद्गारित गीताले त स्पष्टसँग नै भनेको छ कि जात व्यवस्था जन्मका आधारमा बनेको कदापि होइन। वर्तमान नेपाली समाजमा चलिआएको जात परम्पराको प्रमुख जराका रूपमा रहेका चार वर्णहरू (ब्राह्मण, क्षेत्रिय, वैश्य र शुद्र) लाई किटेर नै श्रीकृष्णोद्गार आएको छ गीतामा। त्यही महान् ग्रन्थको आद्योपान्त अध्ययन गरेपछि म 
चाहिँ स्पष्ट भएको छु।

वर्तमान समयमा हाम्रो समाजमा चलिआएको जातीय कुप्रथाको दोष हाम्रो सनातन धर्मलाई दिनु भनेको कि त अध्ययनको कमी हो, या त राजनीतिक दाउपेच भनौं या षड्यन्त्रको उपज हो। अरूहरूले भन्ने गरेजस्तो डलरवाद या विधर्मीहरूको विस्तारवादका कारण हाम्रो परम्परामाथिको आक्रमण हो भनेर चाहिँ किटी नै नहालौं अहिले नै। प्रस्तुत लेखको उद्देश्य हाम्रो सनातन धर्म परम्परामा ज्यादाजसो प्रश्न उठाइने गरिएको वर्णाश्रम व्यवस्थाका बारेमा श्रीमद्भगवद् गीतामा रहेका श्रीकृष्णवाणीकै आधारमा स्पष्टता ल्याई भ्रम निवारण गर्ने मेरो प्रयत्न नै हो। ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्र यी चार वर्णहरूको निर्माणका बारेमा श्रीकृष्णले गीताको चौथो अध्यायको तेह्रौं श्लोकमा स्पष्टरूपमै भनेका छन्। कि उनी ‘श्रीकृष्ण’ अर्थात् ईश्वरले ब्राह्मणादी चार वर्णहरूको सृष्टि मानिसको प्रकृतिजन्य गुण अनि कर्मका आधारमा गरेका हुन्, जन्मका आधारमा कदापि होइन।

अझ स्पष्ट भन्नुपर्दा, वर्णको शाब्दिक अर्थ रङ हो। योगशास्त्रमा प्रकृतिका तीन गुणहरू– सत्व, रज, अनि तमलाई तीन रङहरूद्वारा चिनाइने गरिएको छ, क्रमशः सेतो, रातो, र कालो। भागवत गीतमा श्रीकृष्णले स्पष्टसँग नै भनेका छन् कि पृथ्वीका प्राणीमात्र नभई स्वर्गमा देवताहरूसमेत यस्ता छैनन् जो प्रकृतिबाट उत्पन्न यी तीन गुणहरूको प्रभावबाट मुक्त रहुन्। तर, प्रकृतिप्रदत्त ती गुणहरू सदासर्वदा एकनाश रूपमा नै रहने गर्दैनन् मानिसहरूमा। जीवनका आरोह–अवरोहका क्षणहरूमा ती गुण अनि गुणगत प्रवृत्तिहरूमा पनि घटीबढी हुने गर्दछ। फेरि मानिसमा एउटै गुण भरपुर रहने भन्ने पनि होइन। उसका विधि व्यवहारहरूमा कुन गुणको अधिक प्राधान्यता रहने हो, उसको व्यक्तित्व त्यही अनुरूप नै बन्ने भन्ने हो।

प्रकृतिप्रदत्त सत्व, रज अनि तम यी तीन गुणहरूको स्वभाव अनि तिनले मानिसको व्यक्तित्व निर्माणमा पार्ने प्रभावका बारेमा गीताको चौधौं अध्याय (गुणत्रयभिगायोग)मा बृहत् व्याख्या गरेका छन् श्रीकृष्णले। सत्वगुणको भाव निर्मल हुन्छ। सत्वगुण प्रधान शान्त एवं स्थिर बुद्धिमा चैतन्यको प्रकाशद्वारा उत्पन्न भएको ज्ञानका कारण निर्दोष अनि ज्ञानमय हुन्छ सत्वगुणी व्यक्तिको प्रवृत्ति। सत्वगुणयुक्त व्यक्तिले त्यसैका कारण सुख एवं शान्तिको प्राप्ति गर्दछ। रजोगुणको स्वरूप भने रागमय हुन्छ। विषयभोगको तृष्णा, उद्वेग, कामना आदि नै त्यसका लक्षणहरू हुन्। ती इच्छातृप्तिका लागि सम्पत्ति आर्जन अनि व्यय, वस्तुहरूको संग्रह अनि रक्षा आदि कर्ममा नै दिनरात लागिरहने उसको स्वभाव बन्दछ (भ.गी.१४–७)।

तमोगुण भने अज्ञानमय रहन्छ। तमोगुणी व्यक्तिले सत्य–असत्यबीचको विवेक गर्ने क्षमता राख्न सक्दैन। त्यसैले ऊ असावधानी अनि आलस्य र निद्राको सिकार बन्दछ (भ.गी.१४–८)। तर, मानिसमा यी तीन गुणहरूको मात्रा एवं प्रभाव समयसमयमा आरोह–अवरोह भई नै रहेको हुन्छ। तीन गुणहरूमध्ये एकको वृद्धिका कारण अरू गुणहरू दबिएर रहेका पनि हुन सक्छन्। उदाहरणका लागि, कुनै व्यक्तिले कुनै समयमा सत्वगुणी स्वभाव देखाइरहेको अवस्थामा उभित्रका रजोगुणी अनि तामसिक प्रवृत्तिको प्रभाव कम रहेको हुन सक्ने तथ्यतर्फ विचार पुर्‍याउनु पर्दछ (भ.गी.१४–१०)।

अझ, शास्त्रमा हुँदै नभएको जातिगत उचनीचलाई धर्मको लेपन लगाएर स्वधर्मको अपमान गर्नु त कदापि स्वीकार्य छँदै छैन। सबैलाई चेतना भया।

सत्वगुण बढेको बेला व्यक्ति चेतनशील एवं मनन्शील बन्ने गर्दछ (भ.गी.१४–११)। रजोगुण बढेको बेलामा मानिसमा लोभ, स्वार्थ, विषाद, अशान्तिको मात्रामा पनि वृद्धि भएको पाइन्छ (भ.गी.१४–१२)। अनि तमोगुणको अधिकता भएको अवस्थामा व्यक्ति अनिर्णयको बन्दी बन्ने, उत्तरदायित्वबाट भाग्ने, अनुत्साही, आलस्य अनि मोहग्रस्त रही भ्रममा बाँच्ने प्रवृत्ति नै बढ्दै गएको पाइन्छ (भ.गी.१४–१३)। यी त भए प्रकृति प्रदत्त तीन गुणका कारण मानिसको स्वभावका आउने पृथकता भनौं या भिन्नभिन्न रूपमा तिनको व्यक्तित्वको निर्माण हुनुका कारण।

त्रिगुणमा रहेका प्रवृत्तिगत भिन्नताका आधारमा नै भन्दा पनि, सत्वगुणको अर्थात् ज्ञानको प्राधान्यता रहने व्यक्ति ब्राह्मण, रजोगुण अर्थात् क्रियाशक्तिको अधिकता रहने मानिस क्षत्रीय, अनि तमोगुण अथवा जडत्वको प्रचुरता रहने मानिस शुद्र मानिन्छ। त्यस्तै वैश्य वर्णमा राजसिक अनि तामसिक प्रवृत्तिको सम्मिश्रण पाइन्छ। यसरी गरिएको वैज्ञानिक परिभाषामा जन्मको आधारमा कोही ब्राह्मण या क्षत्रीय भई माथिल्लो श्रेणीमा रहने अनि कोही भने वैश्य या शुद्रका रूपमा छोइछिटो सहेर तल्लो जातको मानिनुपर्ने या ‘दलित’ रहनुपर्ने भनी कहीं पनि उल्लेख नै छैन। गीताको अठारौं अध्यायमा यी त्रिगुणका कारण मानिसमा रहने कर्मका विविधताको अझै विस्तृत व्याख्या गरी त्यसैका आधारमा ब्राह्मणादी चार वर्णको कार्य विभाजनसमेत गरेका छन् श्रीकृष्णले (भ.गी.१८–४१)।

सर्वप्रथम ब्राह्मणको वास्तविक कर्मका बारेमा व्याख्या गर्दै श्रीकृष्ण भन्छन्, मन एवं इन्द्रियहरूको संयम गर्न सक्ने, तपद्वारा आत्मोन्नतिको मार्गमा लाग्न सक्ने, शरीर, मन, वचन सबैमा शुद्धता रहेको, क्षमाशीलता अनि निष्कपट भाव रहेको, शास्त्रको ज्ञान अनि आत्मोन्नतिको विज्ञानमा पारंगत, अनि आस्तिकताले भरपूर व्यक्ति नै साँचो ब्राह्मण हो (भ.गी.१८–४२)। क्षत्रीयको कर्मका बारेमा श्रीकृष्णवाणी ः सौर्य एवं तेजले सम्पन्न, धैर्यवान्, दक्ष, युद्ध या संघर्षतर्फ सदा तत्पर, दानशील अनि दृढ आत्मविश्वासले युक्त व्यक्ति नै साँचो क्षत्रीय हो (भ.गी. १८–४३)। अनि वैश्य एवं शुद्र वर्णको कार्यक्षेत्र के त ? कृषि, पशुपालन तथा अर्थ वाणिज्यका काम वैश्यवर्णका हुन् भने सेवा या परिचर्याका काम शुद्रका हुन् (भ.गी.१८–४४)।

यहाँ कतै पनि जन्मका आधारमा ब्राह्मण, क्षत्रीय, वैश्य या शुद्र बन्ने भन्ने कुरा उल्लेख भएको छैन। न त वर्णका आधारमा कसैलाई सानो–ठूलो, छुत–अछूत नै मानिएको छ। बरू आ–आफ्नो गुण या स्वभावजन्य कर्मको परिपालन गरेर नै सिद्धि प्राप्त गर्न सकिने धारणा छ श्रीकृष्णको (भ.गी.१८–४५)। जुनसुकै जाति या वर्णका भए तापनि मानवमात्रको परमलक्ष्य हो मुक्ति। त्यसका लागि आफ्नो स्वभावजन्य कर्ममा रत हुनु नै पर्याप्त छ। आफ्नो कर्तव्यपालनमा रहेको व्यक्तिले वास्तविक कर्मयोग गरेको हुन्छ। कर्मयोगको मार्गमा दृढ रूपमा लागेको मानिस क्रमशः तमोगुणलाई छोडेर रजोगुण, अनि त्यसबाट पनि अगाडि बढेर सत्वगुणी बनेर आत्मज्ञान हासिल गरी मोक्ष या मुक्तिमार्गतिर बढ्न सक्छ। त्यसका लागि जन्म नभई कर्मकै आधार हुन्छ। जुनसुकै जाति या वर्णका व्यक्तिले पनि आफ्नो व्यक्तित्वको सकारात्मक विकास गरी मुक्ति पाउन सक्छ।

हाम्रा इतिहास पुराणमा नै यसका प्रशस्त आधार छन्। जस्तैः क्षत्रीय जन्मका विश्वरथ राजा विश्वामित्र ऋषि बनेका, शुद्रजन्मा मत्स्यकन्याका पुत्र ऋषि व्यास बनेका, डाँकु रत्नाकर बाल्मीकि बनेका। व्यक्तित्वको सकारात्मक विकास गरेर मुक्तिको मार्गतर्फ डोर्‍याउनकै लागि नै होला, परापूर्वकालदेखि नै हाम्रो सनातन धर्मले मानवजीवनमा चार आश्रमको व्यवस्था गरेको हो। यसमा जीवनको पूर्वार्ध कर्मयोगका लागि छुट्ट्याइएको छ। लेखपढ गरी आफ्नो पेसा–व्यवसायका लागि आधार तयार गर्न पहिलो २५ वर्षको ब्रम्हचर्य आश्रम अनि विवाह आदि गरी सन्तानोत्पादन गर्ने अनि आफ्ना पितृ, परिवार, समाज अनि राष्ट्रका लागि कर्तव्यकर्म गर्न, दोस्रो २५ वर्ष (२६ देखि ५०)को गृहस्थ आश्रम।

यसरी कर्मयोगद्वारा आफ्नो कर्तव्यधर्म पूरा भइसकेपछि त्यो व्यक्ति ज्ञान प्राप्तिका लागि जीवनको उत्तरार्धमा बानप्रस्थ आश्रम (५१ देखि ७५ वर्ष)। अनि त्यसपछि मोक्षमार्गको साधनाका लागि सन्न्यास आश्रम (७६ देखि १०० वर्ष) मा जान तयार हुन्छ। यसरी एक सय वर्षको पूर्ण मानव जीवनलाई नै वैज्ञानिक तवरले विभाजित गरी कर्मयोगको अभ्यासद्वारा नै ज्ञानयोगको सिद्धि हुने आधार तयार हुन्छ भन्ने सटिक उदाहरण प्रस्तुत छ हाम्रै सनातन धर्म–परम्परामा। यही नै हाम्रो सनातन वर्णाश्रम धर्मको वैज्ञानिकताको साँचो प्रमाण हो।

यी सब तथ्यबाट स्पष्ट हुन्छ कि परापूर्वकालमा जन्मका आधारमा नभई कर्मका आधारमा नै जातिप्रथा कायम रहेको थियो। रचनात्मक विचार गर्न सक्ने चिन्तक अनि ऋषिगण ब्राह्मण कहलाइन्थे। राजनीतिज्ञ अनि शासकवर्ग क्षत्रीय मानिन्थे। व्यापारीवर्ग वैश्य अनि श्रमिकवर्ग शुद्र मानिन्थे। हुन सक्दछ, ऋषिका छोरा प्रायः ऋषि नै, राजाका छोरा राजा नै, अनि व्यापारीका छोराले व्यापार नै गर्ने हुँदा जन्मका आधारमा नै जातिप्रथा चलेजस्तो भएको अनि त्यही परम्परा केही स्वार्थीवर्गले समाजमा जबर्जस्ती लाद्न खोजेकाले यो कुसंस्कारले समाजमा जरा गाडेको। तर शास्त्रको राम्रो अध्ययन गर्ने व्यक्तिले बुझ्न–बुझाउन पर्दछ कि वास्तविकता त्यो होइन। यस लेखको उद्देश्य त्यही वास्तविकता उजागर गर्ने नै हो।

अतः जातिगत उचनीचलाई हाम्रो सनातन धर्मले मानेको छैन। वर्ण व्यवस्थाको आधार जन्म होइन, कर्म हो। त्यसैले बाहुनको छोराले अध्ययन–अध्यापनको काम नगर्ने हो भने ऊ ‘ब्राह्मण हुँ’ भनेर छाती फुलाउन पाउँदैन। अनि सेवा कार्यका लागेकाहरूले ‘आफू शुद्र हुँ’ भनेर आफैंलाई ‘दलित’ घोषणा गर्न जरुरी छैन। अझ, शास्त्रमा हुँदै नभएको जातिगत उचनीचलाई धर्मको लेपन लगाएर स्वधर्मको अपमान गर्नु त कदापि स्वीकार्य छँदै छैन। सबैलाई चेतना भया।

लेखक धुलिखेल अस्पतालको मानसिक रोग विभागका सहप्राध्यापक हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.