पहिरो पीडितले गरे बुटवलका मेयरमाथि मुक्का प्रहार
बुटवल : बुटवलको ज्योतिनगरका पहिरो पीडितले मेयरमाथि हातपात गरेका छन् । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी पहिरो निरीक्षणका लागि पुगेका बेला पीडितले मुक्का प्रहार गरेका हुन् ।
पीडितहरुलाई राहत दिनुको सट्टा पहिरो हेर्ने फोटो सेसन गरेको भन्दै पीडित आक्रोशित बनेका थिए । सोही बेला एकयुवाले उनलाई मुक्का प्रहार गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुंवरले जानकारी दिए ।
बुटवलको ज्योतिनगरमा पहिरो झर्दा ८ घर विस्थापित बनेका छन् । करिब ६० घरमा पहिरोको लेदो पसेको थियो । विस्थापितले अहिलेसम्म राहत पाएका छैनन् । पीडित तुल्सा सुबेदीले कुनै सरकारले पनि आफूहरुलाई नहेरेको बताइन् ।
बुटवलमाथिको चुरेबाट पहिरो झरेको हो । यो पहिरोले त्यस क्षेत्रका सयौं घर असुरक्षित रहेका छन् । २० वर्षअघि सोही स्थानमा पहिरो झर्दा बस्ती नै विस्थापित भएको थियो । अहिले फेरिक सहर बनिसकेको छ ।