उत्तर कोरियाले भन्यो: अमेरिका, बेलायत र अष्ट्रेलियाको सम्झौता खतरनाक
प्योङयाङ: उत्तर कोरियाले अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको ओकस सम्झौताको गम्भीर आलोचना गरेको छ ।
शक्तिशाली परमाणु उर्जाबाट चल्ने समुद्री जहाज सम्झौता ‘गम्भीर खतरनाक र वाहियात’ भएको भन्दै उत्तर कोरियाले आलोचना गरेको हो ।
उत्तर कोरियाको विदेश मन्त्रालयले सोमबार टिप्पणी गर्दै सो सम्झौता हिन्द प्रसान्त महासागर (इन्डो प्यासिफिक) क्षेत्रको लागि मात्र नभई उत्तर कोरियाको सुरक्षाको लागिसमेत खतरनाक रहेको चेतावनी दिएको छ ।
‘अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको सम्झौता वास्तवमै वाहियात र खतरनाक छ । यसले एसिया प्रशान्त क्षेत्रको रणनैतिक सन्तुलन बिगार्नुका साथै गम्भीर समस्या निम्त्याउने छ । यति मात्र नभई ‘हतियारको दौडको प्रतिक्रिया’मा ठूलो जोखिम ल्याउनेछ’ उत्तर कोरियाको विदेश मन्त्रालयले भनेको छ ।
एसिया प्रसान्त क्षेत्रमा परमाणु उर्जाबाट चल्ने समुद्री जहाज (पनडुब्बी) को लागि गत हप्ता अमेरिका, बेलायत र अष्ट्रेलियाले आफूहरुबीच त्रिपक्षीय रक्षा साझेदारीको घोषणा गरेका थिए । ओकस नाम दिइएको सो सम्झौता एसिया प्रसान्त क्षेत्रमा चीनको प्रभाव कम गर्न गरिएको बताइन्छ ।
सो सम्झौतापछि फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदुत फिर्ता बोलाइसकेको छ । सो रक्षा सम्झौताको चीनले समेत कडा आलोचना गरेको छ । एसिया प्रसान्त क्षेत्रमा सुरक्षाको लागि गरिएको ओकस सम्झौताले कुटनीतिक संकट उत्पन्न गराउन सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।