चीनको सैन्य विस्तारविरुद्ध बोल्न जापानको आग्रह, स्पेनमा शक्तिशाली ज्वालामुखी विस्फोट

चीनको सैन्य विस्तारविरुद्ध बोल्न जापानको आग्रह, स्पेनमा शक्तिशाली ज्वालामुखी विस्फोट

चीनको सैन्य विस्तारबारे बोल्न युरोपेली मुलुकलाई जापानको आग्रह

टोक्योः चीनको सैन्य विस्तारले द्वन्द्व बढाउने जोखिम रहेको भन्दै जापानले युरोपेली मुलुकहरुसँग आग्रह गरेको छ । दी गार्जियनमा सोमबार प्रकाशित अन्तर्वार्तामार्फत जापानका रक्षामन्त्री नोवो किसीले चीनको सैन्य विस्तारले जोखिम बढाउन सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायलाई सतर्क रहन चेतावनी दिएका छन् ।

चीनले पछिल्लो समय साउथ चाइना सी र पूर्वी क्षेत्रमा आफ्नो दाबी गर्दै सैन्य विस्तार गरिरहेको छ । रक्षामन्त्री किसीले चीनको सो गतिविधिले छिमेकी मुलुक र अन्य अन्तर्राष्ट्रिय समुदायलाई चिडाउन सक्ने भन्दै युरोपेली मुलुकहरुलाई मुख खोल्न आग्रह गरेका छन् ।

‘चीनले आफ्नो क्षेत्र वरिपरी रहेका ताइवान लगायत अन्य टापुहरु, भारतीय सीमा क्षेत्र र साउथ इस्ट चाइना सी क्षेत्रमा आफ्नो सैन्य शक्ति विस्तार गरिरहेको छ’ उनले भनेका छन्, ‘यसले हामीलाई मात्र प्रभाव पार्ने नभई विश्व समुदायमा समेत जोखिम निम्त्याउने छ । त्यसैले यसबारे सबैले बोल्न जरुरी छ ।’
०००
‘होटेल रुवान्डा’का नायक आतंकवादी हमलामा दोषी ठहर

रुवान्डा: रुवान्डाको अदालतले हलिउड फिचर फिल्म होटल रुवान्डाका नायक एवं राजनीतिज्ञ पाउल रुसेसाबेगीनालाई आतंकवादी घटनामा संलग्न रहेको भन्दै दोषी ठहर गरेको छ ।

सन् १९९४ को नरसंहारमा संलग्न रहेको भन्दै सोमबार रुवान्डाको अदालतले उनलाई दोषी ठहर गरेको हो । 'आतंकवादी समूहमा सामेल रहेकोले पाउललाई अदालतले दोषी ठहर गरेको छ’ सजाय सुनाउँदै अदालतले भनेको छ, ‘सन् १९९४ को नरसंहारमा उनी संलग्न रहेको पुष्ट भइसकेको छ ।’

६७ वर्षीय रुसेसाबेगीनाले ओस्कार नोमिनेटेड फिल्म होटल रुवान्डामा होटल म्यानेजरको भूमिका निभाएका छन् । सन् १९९४ मा हुतु र तुत्सी आदीवासी समुदायबीच भएको जातीय द्धन्द्धमा करिब ८ लाख मानिसको नरसंहार गरिएको थियो । सो नरसंहारमा उनी संलग्न रहेको आरोप लाग्दै आएको थियो ।
०००
विदेशी कामदारका लागि जापानले ‘मानव अधिकार’ एप बनाउँदै

टोक्योः विदेशी कामदारका लागि जापानले पहिलो पटक ‘मानव अधिकार’ एप बनाउने भएको छ । जापान इन्टरनेसनल कर्पोरेसन एजेन्सी जाइकाको नेतृत्वमा मानव अधिकार एप निर्माण गर्ने भएको हो ।

सोमबार जाइकाले जापानमा रहेका विदेशी कामदारको सुरक्षाका लागि सो स्मार्ट एप निर्माण गरिने बताएको छ । टोयोटा मोटर कर्पोरेसनसहित करिब २ सयभन्दा बढी जापानी कम्पनीहरुले संयुक्त रुपमा सो एप निर्माण गर्नेछन् ।

‘जापानमा रहेका विदेशी कामदारहरु अबेरसम्म काम काममा खटिन्छन् र उनीहरु विभिन्न हिंसामा पर्ने गर्छन् । उनीहरुको सुरक्षाका निम्ति जाइकाले स्मार्ट एप निर्माण गर्दैछ’ सोमबार जाइकाले भनेको छ ।

आगामी वर्षदेखि सञ्चालमा ल्याउने गरी निर्माण गरिने सो एपमार्फत विभिन्न समस्यामा परेका विदेशी कामदारहरुले विभिन्न गुनासो र उजुरी गर्न सक्ने जाइकाले जनाएको छ । सन् २०२० को तथ्यांकअनुसार जापानमा करिब १ करोड ७२ लाख विदेशी कामदारहरु छन् ।
०००
चीनको युनिभर्सल रिसोर्ट २० वर्षपछि खुला

बेइजिङः चीनको बेइजिङ युनिभर्सल रिसोर्ट २० वर्षपछि आधिकारिक रुपमा खुला गरिएको छ । करिब १९ दिनको परीक्षणपछि सोमबार दिउँसोदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।

अमेरिकी युनिभर्सल स्टुडियोको डिजाइनमा आधारित सो स्टुडियो चीन र अमेरिकी सम्बन्ध चिसिएको सम्बन्धमा खुला गरिएको बताइएको छ । बेइजिङ युनिभर्सल स्टुडियो विश्वको पाँचौं ठूलो र चीनको पहिलो ठूलो स्टुडियो हो ।

कोभिड १९ मापदण्डलाई ध्यानमा राख्दै रिसोर्ट खुला गरिएको चीन सरकारले जनाएको छ । चीनमा भारी वर्षाका बीच सो रिसोर्ट उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा युनिभर्सल स्टुडियोमार्फत निर्मित प्रतिष्ठित चलचित्रका पात्रहरुको भूमिका प्रदर्शन गरिएको थियो । सो रिसोर्ट सबै उमेर समूहका आन्तरिक र विदेशी पर्यटकहरुका लागि समेत खुला गरिएको ग्लोबल टाइम्सले जनाएको छ ।

निर्माण सुरु गरेको करिब २० वर्षपछि सो रिसोर्ट सबैका लागि खुला गरिएको हो । सो स्टुडियो निर्माणमा करिब ३.३ अमेरिकी डलर लगानी रहेको बताइएको छ ।
०००
रसियन युनिभर्सिटीमा गोली चलेपछि बन्दुकको नियममा कडाइ

मस्कोः रुसको पर्म स्टेट युनिभर्सिटीमा सोमबार बन्दुकधारीले गोली चलाउँदा ७ बालबालिकासहित दुई किशोरको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएको पुष्टि भएको छ ।

सो घटना अनपेक्षित भएको भन्दै रुसका राष्ट्रपति भ्लादमिर पुटिनले बन्दुकसम्बन्धी नियममा कडाइ निर्देशन दिएका छन् । घटनापछि रुसको अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको थियो । १९ वर्षीय इल्नाज गल्यभिवलाई आशंकाको भरमा पक्राउ गरिएको छ ।
०००
माहुरीको टोकाइबाट ६३ लोपोन्मुख पेन्गुइन मरे

सिमोन्सटाउनः मौरीको टोकाइबाट करिब ६३ वटा लोपोन्मुख सूचीमा रहेका अफ्रिकन पेन्गुइन मरेका छन् । दक्षिण अफ्रिकाको केप टाउननजिकै सिमोन्स टाउनमा लोपोन्मुख र संरक्षित पंक्षीको सूचीमा परेका पेन्गुइन मौरीको टोकाइबाट मरेका हुन् ।

दक्षिण अफ्रिकाको कोस्टल बर्ड कन्जरभेसनका अनुसार मृत फेला परेका पेन्गुइनहरुको नमुना परीक्षण गर्दा मौरीको टोकाइबाट मरेको देखिएको छ । कतिपय मौरीहरु पनि मृत फेला परेका छन् ।

दक्षिण अफ्रिकाको टापु क्षेत्रमा पाइने अफ्रिकन पेन्गुइनलाई इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचरले लोपोन्मुख भन्दै रातो सूचीमा राखेको छ ।
०००
स्पेनमा ५० वर्षपछि शक्तिशाली ज्वालामुखी विस्फोट

ला पाल्माः स्पेनको एटलान्टिक महासागर क्षेत्रनजिकै ला पाल्मा टापुमा ५० वर्षपछि शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ । आइतबार राति सो ज्वालामुखी विस्फोट भएको हो । ज्वालामुखीबाट निस्केको लाभाले विभिन्न घरहरुमा क्षति पुगेको छ भने सो क्षेत्रबाट हजारौँ मानिसको उद्धार गरिएको बताइएको छ ।

दी केनरी आइल्याण्ड भल्क्यानोलोजी इन्स्टिच्युटका अनुसार स्पेनको दक्षिणी क्षेत्रमा अवस्थित सो टापुमा सोमबार बिहान ३ बजेदेखि लाभासहितको सो ज्वालामुखी विस्फोट भएको थियो । अन्तिम पटक सन् १९७१ अर्थात् करिब ५० वर्षअघि सो क्षेत्रमा ज्वालामुखी विस्फोट भएको थियो भने करिब ३ हप्तासम्म निरन्तर लाभा निस्केको थियो । नयाँ ज्वालामुखी अझै केही दिनसम्म रहने छ ।

ज्वालामुखीको उच्च जोखिममा रहेको स्पेनको ला पाल्मा क्षेत्रमा करिब ८५ हजारभन्दा बढी मानिसको जनसंख्या रहेको छ भने प्रभावित क्षेत्रबाट हालसम्म ५ हजारभन्दा बढी मानिसको उद्धार गरिएको बताइएको छ ।
०००
उत्तर कोरियाले भन्यो: अमेरिका, बेलायत र अष्ट्रेलियाको सम्झौता खतरनाक

प्योङयाङः उत्तर कोरियाले अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको ओकस सम्झौताको गम्भीर आलोचना गरेको छ । शक्तिशाली परमाणु उर्जाबाट चल्ने समुद्री जहाज सम्झौता ‘गम्भीर खतरनाक र वाहियात’ भएको भन्दै उत्तर कोरियाले आलोचना गरेको हो ।

उत्तर कोरियाको विदेश मन्त्रालयले सोमबार टिप्पणी गर्दै सो सम्झौता हिन्द प्रसान्त महासागर (इन्डो प्यासिफिक) क्षेत्रको लागि मात्र नभई उत्तर कोरियाको सुरक्षाको लागिसमेत खतरनाक रहेको चेतावनी दिएको छ ।

‘अमेरिका, बेलायत र अष्ट्रेलियाले गरेको सम्झौता वास्तवमै वाहियात र खतरनाक छ । यसले एसिया प्रशान्त क्षेत्रको रणनैतिक सन्तुलन बिगार्नुका साथै गम्भीर समस्या निम्त्याउने छ । यति मात्र नभई ‘हतियारको दौडको प्रतिक्रिया’मा ठूलो जोखिम ल्याउनेछ’ उत्तर कोरियाको विदेश मन्त्रालयले भनेको छ ।

एसिया प्रसान्त क्षेत्रमा परमाणु उर्जाबाट चल्ने समुद्री जहाज (पनडुब्बी) को लागि गत हप्ता अमेरिका, बेलायत र अष्ट्रेलियाले आफूहरुबीच त्रिपक्षीय रक्षा साझेदारीको घोषणा गरेका थिए । ओकस नाम दिइएको सो सम्झौता एसिया प्रसान्त क्षेत्रमा चीनको प्रभाव कम गर्न गरिएको बताइन्छ ।

सम्झौतापछि फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाइसकेको छ । सो रक्षा सम्झौताको चीनले समेत कडा आलोचना गरेको छ । एसिया प्रसान्त क्षेत्रमा सुरक्षाको लागि गरिएको ओकस सम्झौताले कुटनीतिक संकट उत्पन्न गराउन सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

संयोजन: अस्मिता खड्का
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.