मालिकाका किसानलाई अनुदानमा भैंसी र डेरी उद्योग
गुल्मी : जिल्लाको मालिका गाउँपालिकाले किसानलाई भैंसी र दुग्ध डेरी सञ्चालनमा अनुदान दिएको छ । किसानको आर्यआर्जनमा वृद्धि गर्ने उदेश्यले मालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातका भैंसी वितरण गरेको जनाएको छ ।
भैंसीबाट उत्पादित दूध बजारीकरण गरी सहज बनाउने उदेश्यले गाउँपालिकाले मालिकाका दुई ठाउँमा दुग्ध डेरी सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।
भैंसी प्रर्वद्धन कार्यक्रमका लागि मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा २० लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त कार्यक्रमबाट गाउँपालिकाले ३४ वटा भैंसी खरिद गरेको जनाएको छ ।
हाल मालिका गाउँपालिकाको वडा नम्बर ६ फुलवारी र वडा नम्बर ४ अर्खावाङमा दुग्ध डेरी सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।