तालिबान सरकारमा महिलालाई ‘बाइपास’, क्यानडाका प्रधानमन्त्री ट्रुडोले तेस्रो पटक सत्ताको बागडोर सम्हाल्ने

तालिबान सरकारमा महिलालाई ‘बाइपास’, क्यानडाका प्रधानमन्त्री ट्रुडोले तेस्रो पटक सत्ताको बागडोर सम्हाल्ने

मंगलबार विश्वभर विभिन्न घटनाहरू घटेका छन्। तालिबानले घोषणा गरेको अन्तरिम सरकारको चर्चा विश्वभर रहेको छ। त्यस्तै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको पार्टीले संसदमा जित हात पारेको र तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित प्राय: भएको समाचार पनि प्रमुख बन्यो। सुडानमा सैनिकले ‘कु’ गर्न खोजेको खबरले पनि प्राथमिकता पायो। प्रस्तुत छ दिनभर विश्वमा घटेका केही प्रमुख घटनाहरू :

तालिबान सरकारको मन्त्री मण्डलमा महिलालाई ‘बाइपास’
काबुल
: अफगानिस्तानमा नयाँ तालिबान सरकारले मंगलबार अन्तरिम मन्त्री मण्डल विस्तार गरेको छ। तालिबानले महिलाबिना मन्त्री मण्डल विस्तार गरेको हो। 

जनजातिसहितको नयाँ मन्त्री मण्डल विस्तार गरिएको तालिबानका प्रवत्ता जविहुल्लाह मुजाहिदले बताएका छन्। ‘हामीले हजाराज जनजातिसहित विभिन्न मन्त्री र उप मन्त्री थपेका छौँ’ उनले भनेका छन्, ‘मन्त्री मण्डलमा  महिलालाई बिस्तारै सामेल गराउन सकिन्छ।’

तालिबानको नयाँ सरकारले महिलालाई प्राथमिकतामा नराखेको भन्दै विभिन्न अन्तर्राष्ट्रिय समुदायले आलोचना गरिरहेका छन्। तालिबानले छात्राहरुलाई समेत विद्यालय प्रवेशमा बिस्तारै अनुमति दिने जनाएको छ।
०००

सुडानमा सैन्य ‘कु’ गर्ने प्रयास असफल 
खार्तुम
: सुडानमा मंगलबार सैन्य ‘कु’ गर्ने प्रयास असफल बनेको छ। सुडानका अपदस्थ पूर्व राष्ट्रपति ओमर अल बसिरका समर्थकहरुले मंगलबार सैन्यु ‘कु’ अर्थात् सैन्य विद्रोहमार्फत सत्ता पल्टाउन गरेको एउटा प्रयास असफल गरेका हुन्। 

सुडानको सरकारी मिडियाका अनुसार सैन्य ‘कु’ गर्ने एउटा प्रयास असफल बनेको छ। 

यद्यपि सैन्य ‘कु’को प्रयास कसको षड्यन्त्रमा बनेको भन्ने अझै स्पष्ट नभएको सरकारी टेलिभिजनले  जनाएको छ। मंगलबार बिहान सरकारी सञ्चारमाध्यमको कार्यालयसमेत कब्जामा लिने प्रयास गरेको बताइएको छ। 

सरकारी टेलिभिजनले सुडानको सेनाले एक कुन्ठित र असफल प्रयास गरेको बताएको छ। 

सेनाका प्रवक्ता मोहम्मद अफ फाकी सुलेमानका अनुसार राजधानी खार्तुमसहित विभिन्न क्षेत्रमा सेनाको बाक्लो उपस्थिति देखिएको छ भने नायल नदीको पुल र अन्य क्षेत्र बन्द गरिएको छ। 

सुडानका पूर्व राष्ट्रपति ओमार सन् २०१९ अप्रिलमा अपदस्थमा परेका थिए। त्यस यता सुडान जनता, जनप्रतिनिध र सैन्य सरकारको मातहतमा चल्दै आएको छ भने मुलुकमा आर्थिक संकट र सुरक्षाले चरम सीमा नाघेको बताइएको छ। 
०००

क्यानडाका प्रधानमन्त्री ट्रुडोले जिते संसदीय चुनाव 
मोन्टरियल: क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदीय चुनाव जितेका छन्। उनले क्युबेक सहरको पापीनोमा कन्जरभेटिभ पार्टीलाई हराउँदै सोमबार आफ्नो जित हासिल गरेका हुन्। 

प्रधानमन्त्री जस्टिन सन् २०१५ देखि सत्तामा छन्। 

यसअघि उनको लिवरल पार्टीले उनलाई प्रधानमन्त्रीकै रुपमा रहन आवश्यक सिट संख्या जित्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

ट्रुडोको जितपछि लिवरल पार्टीकै सरकार बन्न सक्ने अनुमान सीबीसी र सिटिभीले गरेका छन्। योसँगै उनी तेस्रो पटक क्यानडाको प्रधानमन्त्री बन्ने छन्। 
०००

इजिप्टमा होस्नी मुबारकपछिका पहिलो शासकको निधन
कायरो : इजिप्टमा लामो समयसम्म सत्ता चलाएका राष्ट्रपति होस्नी मुबारकपछिका पहिलो शासक फिल्ड मार्सल तन्तविको निधन भएको छ। इजिप्टको सैन्य परिषद्का पूर्व प्रमुखसमेत रहेका उनको  ८५ वर्षको उमेरमा मंगलबार निधन भएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

सन् १९५६, १९६७ र १९७३ मा भएको इजरायलविरुद्धको युद्धमा तन्तविले वरिष्ठ सेनाको भूमिका निभाएका थिए भने करिब २१ वर्षको लागि इजिप्टको रक्षामन्त्रीमा नियुक्त भएका थिए। 

उनले सन् २०११ फेब्रुअरीमा दिर्घकालिन राष्ट्रपति होस्नी मुबारकलाई सत्ताबाट हटाएपछि इजिप्टको शासन चलाउँदै आएका थिए। उनले सशस्त्र बलको सर्वोच्च परिषद्को नेतृत्व समेत गरेका थिए। 
०००

११ वर्षमुनिका बालबालिकालाई फाइजर खोप प्रभावकारी
वासिङटन
: ५ देखि ११ वर्ष उमेर समुहका बालबालिकाको लागि कोरोनाविरुद्धको फाइजर खोप प्रभावकारी रहेको बताइएको छ। लामो परीक्षणपछि विज्ञप्ति जारी गर्दै फाइजर कम्पनीले सो उमेर समूहका लागि फाइजर प्रभावकारी रहेको बताएको हो। 

कम्पनीले ५ देखि ११ वर्ष उमेर सूहका करिब २ हजार २६८ बालबालिकामा क्लिनिकल परीक्षण गरेको थियो। परीक्षणको क्रममा १० माइक्रोग्रामको दुई वटा भिन्दाभिन्दै फाइजर खोपको डोज दिइएको थियो। 

सो परीक्षणपछि कम्पनीले सो उमेर समूहका लागि फाइजर खोप प्रभावकारी रहेको निष्कर्ष निकालेको हो। सो उमेर समूहका लागि खोप निर्माता कम्पनीले चाँडै स्वीकृति दिने जनाएको छ। 
०००

अष्ट्रेलियामा खोपविरुद्धको आन्दोलन उग्र बन्यो 
मेलबर्न
: अष्ट्रेलियामा खोपविरुद्ध जारी आन्दोलनले उग्र रुप लिएको छ। आन्दोलनले उग्र रुप लिँदा मेलबर्नमा अवस्थित विभिन्न कन्स्ट्रक्सन क्षेत्रहरु दुई हप्ताका लागि बन्द हुने भएको छ।  

भिक्टोरिया, मेलबर्न, सिड्नी र न्यु साउथ वेल्सलगायत राज्यमा कोरोना संक्रमण बढिरहेको छ भने ती राज्यभित्र लकडाउन जारी छ। कतिपय स्थान भने कामदारहरुलाई काममा फर्किन अनुमति दिइएको छ। काममा फर्केका कामदारहरुले आफूहरुले  कोरोनाविरुद्धको खोप नपाएको भन्दै खोपको विरोधमा उत्रिएका थिए।  आन्दोलनमा उत्रेका करिब ६४ लाई मंगलबार प्रहरीले पक्राउ गरेको छ भने सबै कन्स्ट्रक्सन क्षेत्र आगामी दुई हप्ताको लागि बन्द गरिने बताएको छ। 

यसअघि मेलबर्न प्रहरीले करिब २ सयभन्दा बढी लकडाउन विरोधी आन्दोलनकर्तालाई पक्राउ गरेको थियो।  

कोरोना महामारीपछि जारी लकडाउनका कारण अष्ट्रेलियामा आर्थिक संकट चुलिने बताइएको छ।
०००

सेप्टेम्बर २७ मा देशभरका किसानले भारत बन्द गर्ने
नयाँ दिल्ली : भारतीय किसानहरुको संगठन संयुक्त किसान मोर्चाले मंगलबार पुन: भारत बन्द गर्ने घोषणा गरेको छ। मोर्चाले नयाँ कृषि कानुनविरुद्ध सेप्टेम्बर २७ मा भारत बन्द गर्ने घोषणा गरेको हो।  

भारत सरकारले एक वर्षअघि नयाँ कृषि कानुन पारित गरेको थियो। नयाँ कृषि कानुन आफूहरुको हितमा नभएको भन्दै भारतका किसानहरुले राजधानी नयाँ दिल्लीसहित भारतका विभिन्न राज्यमा विगत एक वर्षदेखि विरोध प्रदर्शन गर्दै आइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

संयुक्त किसान मोर्चासहित देशभरका सबै किसान संगठन सो विरोध प्रदर्शनमा सहभागी हुने बताइएको छ। भारत बन्द शान्तिपूर्ण हुने किसान संगठनले जनाएको छ।

भारत बन्दमा एम्बुलेन्स र दमकललगायत अत्यावश्यक सेवाबाहेक यातायात, कारखाना, शैक्षिक संस्थाहरु, सरकारी एवम् निजी कार्यालय सबै बन्द गरिने बताइएको छ। 
०००

१०७ वर्षीया दिदीबहिनी बने संसारकै जिवित जुम्ल्याहा 
टोक्यो : दुई जापानी दिदीबहिनी संसारकै जिवित जुम्ल्याहा घोषित भएका छन्। जापानको सार्वजनिक विदा एवम् एज्ड डेको दिन उनीहरुलाई संसारकै सबभन्दा बढी जिवित जुम्ल्याहा घोषणा गरिएको हो।   

गिनिज वल्र्ड रेकर्डस्ले १०७ वर्ष ३३० दिन पुगेका दुई जुम्ल्याहा दिदीबहिनी उमेनो सुमियामा र कौमे कोदामालाई सोमबार प्रमाण पत्र दिएको छ। सबैभन्दा बढी उमेरसम्म बाँच्ने संसारका जिवित जुम्ल्याहाको रुपमा गिनिज बुकले सो प्रमाण पत्र उपलब्ध गराएको हो। 

उनीहरु दुवैको जन्म पश्चिम जापानको शोडोशिमामा सन् १९१३ नोभेम्बर ५ मा भएको थियो। उनीहरुका जम्मा ११ भाइबहिनी छन्। 

यसअघि १०७ वर्ष १७५ दिनसम्म जिवित रहेका दुई जापानी जुम्ल्याहा दिदीबहिनीले सो रेकर्ड बनाएका थिए। 

गत हप्ता जापानको स्वास्थ्य मन्त्रालयले जापानमा १०० वर्ष नाघेका करिब ८५ हजारभन्दा बढी वृद्धवृद्धाहरु रहेको तथ्यांक सार्वजनिक गरेको थियो। 

संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.