दसैं आयो, चामल आएन
बाजुरा : जुनकला बुढा चामल किन्न तीन दिन लगाएर कवाडी डिपोमा पुगिन्। तर, चामल नपाएपछि आँसु झार्दै उनी घर फर्किइन्। बाजुराको हिमाली गाउँपालिका–२ बिच्छयाँकी जुनकलाको ५ जनाको परिवार छ। ‘घरमा बुवा बिरामी हुनुहुन्छ, आमा अशक्त। त्यसैले चामल लिन म आफैं आएँ। नपाएर तनाव भयो,’ जुनकलाले भनिन्, ‘दसैं–तिहार आयो, मिठो मसिनो नभए पनि भात खान नपाइने भयो, गाउँमा महँगो चामल किन्न सकिन्न।’
चामलका लागि साहूबाट सय कडा ५ रुपैयाँको ब्याजमा ऋण निकालेर उनले ल्याइन्। ‘गाउँको साहूसँग ऋण काडेर ल्याएको, यता चामल नपाएपछि कोल्टी जाउँ भनेको त त्यहाँ पनि सकिएको रहेछ’, जुनकलाले भनिन्।
सोही गाउँकी धर्मा बुढा पनि चामल नपाएर घर फर्किइन्। धर्माका श्रीमान् कामका लागि भारत गएका छन्। उनी लालाबाला छिमेकीको भरमा छोडेर तीन दिन लगाएर चामल किन्न आएकी हुन्। तर, उनी पनि रित्तो हात घर फर्केकी छन्।
‘सरकारले पनि कस्तो बेवास्ता गरेको ? सरकारसँग किनेर पनि दसैंमा चामल खान नपाइने भयो’, धर्माले निराश हुँदै गुनासो गरिन्। चामल नपाए अब दसैंमा कन्दमूल, गिठ्ठा, भ्याकुर र सिस्नोमा छाक टार्नुपर्ने बाध्यता रहेको उनले बताइन्।
सोही ठाउँका जयबहादुर भण्डारी पनि खाद्यान्न लिन कवाडी बिक्री केन्द्र पुगे। त्यहाँ नपाएपछि कोल्टी पुगेरै भए पनि खाद्यान्न लिएरै आउने उनको धोको थियो। तर, कोल्टी डिपो पनि खाली भएको थाहा पाएपछि उनी रित्तै फर्किए। ‘दसैंनजिक आउन थाल्यो, सरकारले दसैंका लागि त चामल पठायो होला भन्ने लागेको थियो तर, पठाएनछ’, भण्डारीले भने, ‘सरकार ठूलो चाडबाडका बेला खाने व्यवस्था मिलाइदेऊ।’
हिमाली गाउँपालिका बाजुराको सर्वाधिक बिकट गाउँपालिका हो। यो गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्छ। कवाडी बिक्री केन्द्रका लागि गत वर्ष मात्रै खाद्य संस्थानले ३ हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको थियो।
मार्तडीबाट एलबी कन्सट्रक्सन, कोल्टीबाट ओम शिव कन्सट्रक्सन र धनगढीबाट बडिमालिका कन्सट्रक्सन एण्ड अर्डर सप्लायर्सले कवाडीका लागि ढुवानी ठेक्का पाएका थिए। तर, स्वीकृत कोटाको पनि आधा मात्रै चामल ढुवानी भएको छ। गत वर्ष १ हजार ५ सय क्विन्टल मात्र ढुवानी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
चामल सकिएर रित्तो बनेको मार्तडी खाद्य डिपो। तस्बिर : पदमबहादुर सिंह
मार्तडी र कोल्टीबाट जिम्मा लिएको एलबी कन्सट्रक्सन र ओमशिव कन्सट्रक्सनले आफ्नो कोटाको चामल ढुवानी तथा बिक्री गरेर रकम भुक्तानी गरिसक्यो। तर, पनि धनगढीबाट ढुवानी जिम्मा लिएको बडिमालिका कन्सट्रक्सन एण्ड अर्डर सप्लायर्सले २ सय १० क्विन्टल मात्र ढुवानी गरेको मार्तडी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख मेखराज ओझाले बताए।
मार्तडी शाखा प्रमुख मेखराज ओझाले चामल ढुवानी नभएको ठेकेदारलाई बारम्बार ताकेता गरे पनि केही सुनुवाइ नगरेको बताए। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बाजुरामा चामल सकिएको जानकारी केन्द्रमा धेरै पटक गरिसकेको बताए। ‘जनता चामलको अभावमा छन्, धेरै पटक केन्द्रमा पत्राचार गरियो तर कसैले सुनेन’, प्रजिअ अधिकारीले भने।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रदेश प्रमुख एन्जिला बस्नेतले धनगढीमा मोटो चामल १२ हजार ५ सय क्विन्टल, जिरा मसिनो १६ सय क्विन्टल र ५ हजार क्विन्टल गहुँ मौज्दात रहेको बताइन्।
‘प्रदेशको गोदाममा १९ हजार क्विन्टल खाद्यान्न मौज्दात छ, तर बाजुरामा सडक मार्ग भत्किएकाले ढुवानी गर्ने समस्या भएको छ’, प्रदेश प्रबन्धक बस्नेतले भनिन्। उनले बाजुराको खाद्यान्न ढुवानीका लागि टेन्डर प्रक्रिया भइरहेको बताइन्।
कृषि ज्ञान केन्द्र बाजुराको तथ्यांकअनुसार जिल्लाको पूरा क्षेत्रफलको ९.२१ प्रतिशत खेतीयोग्य जमिन छ। त्यसमा जम्मा सिंचित क्षेत्र १.४२ प्रतिशत मात्र छ। जिल्लाको कुल २० हजार १ सय ५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ हजार १ सय १५ हेक्टरमा मात्र सिँचाइ सुविधा रहेको छ। बाजुरा खाद्य सुरक्षाको उच्च जोखिम युक्त जिल्ला हो। बाली सप्रेकै अवस्थामासमेत बाजुरामा वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने केन्द्रको तथ्यांक छ।
मानिसले बाँच्न पाउने अधिकार राज्यले सुरक्षित गरिदिनुपर्ने खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदन जैशीले बताए।