जग्गेमा विदेशी वरवधू
पोखरा : कोरोना कहरकैबीच एक जोडी पर्यटकले जीवनको यात्रा सँगै अघि बढाउन नेपाल रोजेका छन्। नेदरल्यान्ड्सका ३३ वर्षीय विलियम जोन बोस्मा र फिलिपिन्सकी ३२ वर्षीया मारिना मेन्डोजा बुलाङले कास्कीको अस्थाम गाउँमा हिन्दू परम्परा अनुसार विवाह गरेका हुन्। स्थानीय गाउँलेलाई साक्षी राखेर विलियम र मारिनाले लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन्। सोमबार पञ्चेबाजा बजाएर धुमधामका साथ विवाह गरिएको थियो। उनीहरू विवाहकै लागि पाँच महिना अघि नेपाल आएका थिए।
अस्तामस्थित अन्नपूर्ण ईको भिलेजको प्रांगणमा विवाहका लागि जग्गे बनाइएको थियो। बेहुलीले परम्परागत गुरुङ पोशाक चोली, घलेक र फरियालगाएर घुम्टो ओढेकी थिइन्। विवाहको चाजोपाँजो भिलेजका सञ्चालक विश्वराज अधिकारीले मिलाएका थिए। गाउँले बेहुला र बेहुलीको पक्षमा बाँडिएका थिए। कोही जन्ती बनेका थिए। कोही घर गाउँले। जग्गेमा बसेर विलियम र मारिनाले पण्डितले भनेझैं वैवाहिक रीत पूरा गरेका थिए। विलियमले मारिनाको सिउँदोमा सिन्दुर लगाइदिए।
पण्डितले अग्निलाई साक्षी राखेर दुवैलाई सुखदुखमा सहयात्री बनेर जीवन जिउने कसम खुवाए। आमा समूहले रत्यौली खेले। रत्यौलीको गीत र पञ्चेबाजाको धुनमा बेहुलाबेहुली नाचेका थिए। विलियम र मारिनाको विवाह नेदरल्यान्ड्स, फिलिपिन्स र अस्टे«लियामा रहेका आफन्तहरूले अनलाइनमा लाइभ हेरेका थिए।
मारिना तीन वर्षअघि पनि नेपाल आएकी थिइन्। हिमालको सुन्दरता, यहाँको संस्कृति र नेपालीको आतिथ्य सत्कारबाट प्रभावित भएपछि विवाहका लागि नेपाल रोजेको उनले बताइन्। ‘धेरै देश घुमें। यहाँको जस्तो आत्मीय सत्कार शैली कतै पाइनँ’, मारिनाले भनिन्, ‘त्यसैले विलियमसँग विवाह गर्ने निर्णयमा पुगेपछि नेपाल रोजेकी हुँ।’
विलियमलाई पनि पहिलेदेखि नै नेपाल घुम्ने रहर थियो। मारिनाको प्रस्तावबाट खुसी हुँदै नेपाली संस्कृति र परम्परा अनुसार विवाह गर्न राजी भएको उनले बताए। विदेशीले नेपालमा आएर हिन्दु परम्परा अनुसार विवाह गर्नुले विश्वभर सकारात्मक सन्देश गएको मारिनाकी नेपाली दिदी कमला घलेले बताइन्।
विलियम र मारिनाको भेट सन् २००७ मा फिलिपिन्सको एक कलेजमा भएको थियो। परिवारको समेत सहमतिमा विवाह गर्ने निर्णयमा पुगेको मारिनाले बताइन्। पण्डित टंकप्रसाद दवाडीले विदेशीको विवाह गराएको पहिलो अनुभव रहेको बताए। विलियम र मारिनाले जग्गेमा विवाह गर्नुअघि कास्की जिल्ला अदालतमा कोट म्यारिज गरेका थिए। नेपाल विवाह र हनिमुन डेस्टिनेसन हुन सक्ने मारिना बताउँछिन्।
अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सुन्दरताका साथै स्थानीयको आतिथ्य सत्कारले पोखरा आइरहने विलियमले प्रतिवद्धता जनाए। विवाहको वर्ष दिनको अवसरमा पुनः नेपाल आएर एनिभर्सरी मनाउने योजना रहेको उनले बताए। कोरोनाका कारण धेरै देश बन्द भएको अवस्थामा पनि नेपाल सहज रुपमा आउन पाएको उनले बताए।