विप्लवको बन्दीपुर बैठक निर्णय : फागुनमा महाधिवेशन, एमसीसी पास हुन नदिने
दमौलीः नेत्रविक्रम चन्द नेतृत्वको नेकपा केन्द्रीय समितिको बैठकले एमसीसी सम्झौता ‘राष्ट्रघाती’ भन्दै त्यसलाई पास हुन नदिन राष्ट्रवादी शक्तिसँग मोर्चावन्दी गर्ने निर्णय गरेको छ । तनहुँको बन्दीपुरमा सम्पन्न बैठकले यसका लागि मोर्चावन्दीसँगै कार्यगत एकता समेत गर्ने निर्णय गरेको छ । गत शुक्रबारबाट सुरु भएर मंगलबार राति अबेर सम्पन्न बैठकले पार्टीको नवौं महाधिवेशन फागुनमा गर्ने निर्णय समेत गरेको पार्टीका केन्द्रीय सदस्य पूर्णजीत पुन ‘उभार’ले अन्नपूर्णलाई जानकारी दिए ।
यसपूर्व कार्तिकसम्म जनवर्गीय संगठनको राष्ट्रिय सम्मेलन गर्ने समेत बैठकले निर्णय गरेको छ । बैठकले जनयुद्धका बाँकी रहेका आधारभूत कामको व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ । वैज्ञानिक समाजवादसम्म पुग्नका लागि आवश्यक काम गर्ने पनि बैठकले निर्णय गरेको छ ।
पार्टीभित्रको नीतिगत मतभेद महाधिवेशनमा लगिने नेताहरुले प्रष्ट बताउन नचाहे पनि पार्टीनिकट श्रोतका अनुसार विप्लवको पार्टीमा उनी र स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच नीतिगत मतभेद रहेको बताइन्छ ।
विप्लव मूलरुपमा प्रचण्डसँग एकता गर्ने नीति ल्याउन चाहन्छन् तर प्रकाण्ड यसको विपक्षमा छन् । उनी वैद्यलगायतका कम्युनिस्ट घटकसँग एकता गर्न चाहन्छन् ।
विप्लव र प्रकाण्डबीचको संघर्ष
वैज्ञानिक समाजवादमा जाने विषयमा पनि दुईबीच विभेद रहे पनि सचिवालयको हस्तक्षेपका कारण बैठकमा भने सचिवालयका तर्फबाट नै महासचिवको प्रतिवेदन प्रस्तुत भएको बताइन्छ ।
पार्टी दस्तावेजमा नलेखिए पनि आगामी महाधिवेशनसम्म यस विषय कतै उल्लेख नगर्ने र बहसका रुपमा महाधिवेशनमा लैजाने समझदारी नेताबीच भएको नाम उल्लेख गर्न नचाहने एक नेताले अन्नपूर्णलाई बताए । तर पुनले भने यस्तो विषय सहि नभएको र पार्टीको एकिकृत दस्तावेज नै प्रस्तुत भएको जिकिर गरे ।
पार्टीले भ्रष्टाचार तलदेखि माथिसम्म बढेको र उसकै शब्दमा कमिशनखोर, माफिया र दलालले सताएको भन्दै यसविरुद्ध पनि संघर्ष गर्ने निर्णय गरेको छ । उसको निर्णयमा
‘सीमा हस्तक्षेप गम्भीर’
सीमा र भारतीय हस्तक्षेपका कुरा गम्भीर भएको औंल्याइएको छ । तर निकै गोप्य राख्ने पार्टीले पत्रकार सम्मेलन गर्ने भने पनि हालसम्म गरेको छैन । र, दस्तावेज पनि सार्वजनिक गर्न नेताहरुले मानिरहेका छैनन् ।