यातायातमा बिचौलियाको बिगबिगी,सेवाग्राहीलाई सास्ती (भिडियो)
काठमाडौं : ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा बिचौगियाको बिगबिगी छ । दलाललाई भेटी नचढाई सेवाग्राहीको काम बन्दैन ।त्यही भेटीबाट कर्मचारी र बिचौलिया सर्वसाधारण सेवाग्राहीलाई दुःख दिने गरेका छन् ।
टोकन लिएर लाइन बसेका सेवाग्राहीले वर्षदिनसम्ममा पनि लाइसेन्स पाउँदैन ।तर, बिचौलियामार्फत जाँदा चाँडै लाइसेन्स बन्ने गरेको सेवाग्राहीहरु बताउँछन् ।यातायात कार्यालय वरिपरी करिब ३ सय बढी बिचौलिया छन् । कर्मचारीसँग सेटिङ मिलाएर दलालहरुले चोर बाटोबाट काम गराउँछन् ।यसरी यातायात कार्यालय दलालको कब्जामा परेको सेवाग्राही बताउँछन् ।
बागमति प्रदेशअन्तर्गतको यो कार्यालय बिचौलियाले चलाइरहेका छन् । त्यसको मारमा सोधासिधा सेवाग्राही परेका छन् । ट्रक, बस, टिपरको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग १ लाख २० हजारसम्म लिने गरेका छन् ।
तुरुन्तै काम गराइदिने भन्दै कार्यालय गेटमै बिचौलियाले सेवाग्राहीको बाटो छेक्ने गरेका छन् । कपाल पालेका, च्यातिएको पेन्ट लाएका केटाहरु गेटमा चुरोटको सर्को तान्दैं छ । खासमा उनीहरु बिचौली हुन् । जसले सेवाग्राहीको बाटो छेक्छन् । ‘भित्र नजानुस्, कामै हुँदैन,' भन्छन् । सेवाग्राहीको आत्मबल कमजोर बनाउँछन् । सिधासोझाको निराशा अनुहारलाई उनीहरुले लुट्ने र ठग्ने मेलो बनाउँछन् ।
लाइसेन्स बनाउन एक लाख २० हजारसम्म बिचौलियाले लिएर भागेको पीडा सुनाउनेहरु पनि देखियो । बिचौलियाको काम छिट्टो हुन्छ टोक्न लिनेहरुको भन्दा । नुवाकोटको नवराज चालेसे बिहानै देखि लाइसेन्स रिन्यू गर्न लाइनमा छन् । ‘टोक्न लिनेहरु पालो कुरेर बस्छन् । बिचौलियाले चोरबाटोबाट आफ्नो फाइल कर्मचारीको टेवलमा पुर्याएर काम गराउँछन्,'उनले भने,‘कर्मचारीहरु दलालबाट घुस खान पल्केका छन् । त्यस्तालाई कसले छेक्ने ?’
‘लाइसेन्स बनाउन मैले कतिलाई ‘बैनामा’ पाँच सय लिए ।तर, लाइसेन्स बनेको छैन । जोड्दा १० हजार जति बैनामै गएको होला । सबै ठगेर भाग्छन्,’ बिचौलीबाट ठगिएकाहरु एक युवा फतफताउदैं थिए । गाडीबो बुलबुक रिन्यू गर्न इलामबाट आएका इन्द्र कुमार राईले भने,‘ बिचौलियाले बाटैमा सेवाग्राहीलाई झुक्याउँछ ।’यहाँ उनीहरुकै राज्य चल्ने गरेको सुनाए ।
लाइसेन्सको बायोमेट्रिक (आँखा) को काम लिएर आएका थिए ललितपुरका ५२ वर्षीय श्याम डंगोल । उनले छोरो शशंकको सवारी चानलक अनुमतिपत्रका लागि धाइरहेका छन् । ‘सरकारी कार्यालयको व्यथिती कहिलेसम्म हामी भोग्ने ?’उनले भने ।
यातायातले यात्रा सजिलो भएको छ । तर, गाडी गुडाउन लाइसेन्स चाहिन्छ । तर, त्यो कागज लिन र रिन्यू गराउन सेवाग्राहीले ठूलै संघर्ष गर्नु पर्छ । रसुवाका पासाङ्ग दिनडुय तामाङ्ग ट्रायल पास गरेको बर्षदिन भयो ।तर, उनलाई लाइसेन्स हात लागेको छैन । ‘लाइसेन्स लिन पाँच पटक आइसकें । कर्मचारीले भन्छ,‘तपाईको लाइसेन्स प्रिन्ट भएको छैन’ के भा’को अहिलेसम्म लाइसेन्स नआ’को,'उनले भने ।
दुई सय किलो मिटर बाटो काट्ेर उनी लाइसेन्स लिन एकान्तकुना पुगिरहेका छन् ।तर, उनलाई रित्तो हात फर्किनु परेको छ । ‘कति खर्च लाग्छ नसोंध्नुस् । एक पटक काठमाडौं आएपछि दश हजार खर्च हुन्छ, 'उनले कार्यालय गेटमा दुखेसो पोखे ।
दिनहुँ नयाँ नयाँ बिचौलियाहरु आउँछन् ।सेवाग्राहीले नै उनीहरुलाई लिएर आउने गरेको यातायात कार्यालयका प्रशासन शाखाका प्रमुख बृहस्पति तामाङ्गको दावी छ । अन्नपूर्णसँग उनले भने, ‘ट्रक, बस, टिपरको लाइसेन्स बनाउन उनीहरुले १ लाख २० हजारसम्म लिएको ठगिएपछि एक सेवाग्राहीले भनेका थिए ।’
कार्यालयमा बिचौलियाले दुःख दिइरहेको यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरका कार्यालय प्रमूख राजभाई कुश्माले स्वीकार गरे । ‘हामीले गरिहेको प्रयास सफल हुन सकेको छैन ।
उनीहरु लागुऔषध सेवन गर्ने प्रवृत्तिका छन्,'उनले भने,'तालपरे हामीलाई नै कुट्न बेर लगाउँदैन ।’ दिनको एक हजार बढी सेवाग्राहीलाई सेवा दिइरहेको कार्यालयले दैनिक २५० जना नयाँ सेवाग्राहीलाई टोक्न बाँडेर सेवा दिन्छन् ।