विदेशमा कोइला परियोजना रोक्ने चीनको प्रतिज्ञा
बेइजिङः चीनले कोइलामा आधारित परियोजना रोक्ने प्रतिज्ञा गरेको छ । आफूले विदेशमा निर्माण गर्दै आएको कोइलामा आधारित परियोजना निर्माणमा रोक लगाउने प्रतिज्ञा गरेको हो ।
चिनियाँ राष्ट्रपति सि जिङपिङले संयुक्त राष्ट्रसंघको साधारण सभामा मंगलबार बोल्दै जलवायु परिवर्तनसँग लड्न आफुले सो प्रतिज्ञा गरेको बताएका छन् । ‘चीनले अबदेखि विदेशमा कोइलामा आधारित उर्जाका परियोजना निर्माण गर्ने छैन,' उनले भनेका छन्, ‘साथै चीनले इन्डोनेसिया र बंगलादेशलगात विकासोन्मुख मुलुकमा हरित र कम कार्बनयुक्त उर्जा उत्पादनमा सहयोग गर्नेछ ।’
कार्बन उत्सर्जन कम गर्ने लक्ष्य प्राप्तिको लागि यसअघि जापान र दक्षिण कोरियाले कोइलामा आधारित उर्जा परियोजना निर्माण नगर्ने घोषणा गरेका थिए । चीनले सन् २०३० देखि सन् २०६० सम्म कार्बन उत्सर्जन सन्तुलनमा राख्न कदम अघि बढाउने बताउँदै आएको छ । कार्बन उत्सर्जन कम गर्न ठूलो संघर्ष गर्नुपर्ने हुँदा लक्ष्य प्राप्ती गर्न लामो समय लाग्ने राष्ट्रपति सि जिङपिङले बताएका छन् ।
सन् २०१५ को ऐतिहासिक पेरिस सम्झौतामा संसारका विभिन्न मुलुकहरुले कार्बन उत्सर्जन घटाई विश्वको औसत तामपान १.३ डिग्रि सेल्सियस कायम गर्ने प्रतिबद्धता जाएका थिए । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको आगामी सम्मेलन कोप २६ आगामी नोभेम्बरमा ग्ल्यास्गोमा हुने भएको छ ।