स्थानीयको अवरोधले सडक निर्माणमा ढिलाई
सिन्धुली : रेखांकनको विवादले मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको सिन्धुलीमाढी खण्डको ६ किलोमिटर सडक निर्माण कार्य अझै सुरु हुन सकेको छैन। राजमार्गको सडक क्षेत्राधिकार भित्र पर्ने दायाँबायाँ ३१ र ३१ मिटर कायम गरी सडक बिस्तार गर्दा सदरमुकामको धुराबजार, मिलनचोक, साङबाले र खट्टार बजार विस्थापित हुने भन्दै लामो समयदेखि स्थानीयले विरोध गर्दा सडकको निर्माण हुन नसकेको हो।
सिन्धुलीको पश्चिम खढड अन्तर्गत खट्टार–बागमती र सिन्धुलीमाढी–कटारी खण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेपनि सिन्धुलीमाढीमा भने निर्माण नै सुरु नभएको हो।
राजमार्ग आयोजना निर्देशनालयका अनुसार स्थानीयको माग अनुसार बजार क्षेत्र जोगाउन खट्टारदेखि धुरा बजार सिरानसम्मको कच्ची सडक ११ मिटर कायम गर्न माग गर्दै स्थानीयले सडक निर्माण कार्य अवरोध गर्दै आएका हुन्।
बजार क्षेत्र जोगाउन ६ किलोमिटर सडकलाई ११ मिटर चौडाइ बनाउदा क्षति कम हुने स्थानीयको भनाई छ। तर, शहरी क्षेत्रमा बाइपास सडक निर्माण गरेर वस्ती तथा बजार जोगाउने सहमति भएको सोही अनुसार अब छिट्टै सडक निर्माण कार्यले गति लिने संघीय सांसद हरिबोल गजुरेलको भनाई छ।
राजमार्ग निर्माण अन्तिम चरणमा पुग्दा समेत सदरमुकाममा विवाद नटुंगिएपछि पुरानै सडक कायम गर्ने र पछि ढुंग्रेबास क्षेत्रबाट राजमाार्ग बिस्तार गर्ने राजमार्ग आयोजनाको तयारी समेत छ।
सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोडिने यो राजमार्गको पश्चिमतर्फ कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेडौंडा महानगरपालिका-६ चौगडासम्मको १ सय १५ किलोमिटर र पूर्वी खण्डको १३४ सडक निर्माण अन्तिम चरणमा पुगेको छ।