लिथुनियामा चिनियाँ फोन ‘फ्याँक्न’ सरकारको चेतावनी, बन्दुक आक्रमणमा दुई तालिबानीसहित तीनको मृत्यु

लिथुनियामा चिनियाँ फोन ‘फ्याँक्न’ सरकारको चेतावनी, बन्दुक आक्रमणमा दुई तालिबानीसहित तीनको मृत्यु

बुधबार दिनभर विश्वमा विभिन्न घटनाहरू घटेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राष्ट्रसंघको ७६औं वार्षिक साधारण सभामा भाग लिन चार दिने भ्रमण तालिकासहित अमेरिका प्रस्थान गरे। उनी दिनभर चर्चाको विषय बने। उनी चर्चामा आउनुको कारण अफगानिस्तानको हवाई मार्गलाई प्रयोग नगर्नु हो। त्यस्तै अफगानिस्तानमा दुई तालिबानीसहित तीन जनाको बन्दुकधारी आक्रमणमा मृत्यु भएको खबर पनि चर्चामा रह्यो। लिथुनियामा चिनियाँ स्मार्ट फोन प्रयोग गरिरहेकालाई त्यहाँको रक्षा मन्त्रालयले ती फोन ‘फ्याँक्न’ चेतनावनी दिएको छ भने नयाँ फोन नकिन्न भनेको छ। यो विषयले पनि विश्वभर चर्चा पाएको छ। प्रस्तुत छ दिनभरिका विश्वभर घटेका प्रमुख घटनाहरू : 


लिथुनियाको रक्षा मन्त्रालयले भन्यो— ‘चिनियाँ फोन फ्याँक्नुस्’  
लिथुनिया : लिथुनियाको रक्षा मन्त्रालयले चिनियाँ स्मार्ट फोन प्रयोगकर्तालाई पुराना फोन फ्याँक्न र नयाँ फोन नकिन्न चेतावनी दिएको छ। आफ्नो देशका उपभोक्तालाई रक्षा मन्त्रालयले सो निर्देशन दिएको हो। 

लिथुनियाको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले चिनियाँ निर्माता कम्पनीबाट खरिदेको फाइभ जी मोबाइल परीक्षण गरेको थियो। सो क्रममा अनुसन्धानकर्ताहरुले चिनियाँ कम्पनीद्वारा उत्पादित साओमी सेन्सरसिप टुलमा निर्माण गरिएको र हुवाई कम्पनी साइबर आक्रमणको लागि खतरनाक रहेको बताएका छन्। सो अनुसन्धानपछि मन्त्रालयले चेतावनी दिएको हो। 

‘नयाँ चिनियाँ फोनहरु नकिन्न र आफूसँग भएका पुराना फोनहरु मिल्काइदिनुस् भन्ने हाम्रो सुझाव छ’, उप रक्षा मन्त्री मार्गिरिस आबेकेभिसिअसले भनेका छन्।

ताइवानले लिथुनियामा आफ्नो प्रतिनिधि कार्यालय स्थापना गर्ने घोषणा गरेपछि गत महिना चीनले बेइजिङबाट आफ्ना राजदूत हटाउन लिथुनियासमक्ष माग गरेको थियो। त्यसयता चीन र लिथुनियाबिच तनाव बढिरहेको बताइएको छ।
०००

युक्रेनी राष्ट्रपतिका सैन्य प्रमुखको कारमाथि हमला
केइभ
: युक्रेनी राष्ट्रपति भलादीमिर जेलेन्स्कीका सैन्य अधिकारी प्रमुख बोकेको कारमाथि बुधबार आक्रमण भएको छ। उनी चढेको कारमाथि राजधानी केइभबाट करिब ५ किलोमिटर दुरीमा रहेको लेस्न्की गाउँनजिकै आक्रमण भएको हो। 

उनी चढेको कारमाथि ५ किलोमिटर दुरीबाट १० वटा बन्दुकको गोली प्रहार गरिएको  प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आक्रमणमा राष्ट्रपतिका कार चालक गम्भीर घाइते भएका छन्।
०००

जलालावाद आक्रमणमा दुई तालिवानीसहित तीनको मृत्यु 
जलालावाद
: पूर्वी अफगानिस्तानको जलालावादमा बुधबार भएको आक्रमणमा दुई तालिबानी लडाकु र एक सर्वसाधारणको मृत्यु भएको छ। पूर्वी चेक प्वाइन्टनजिकै बन्दुकधारीको आक्रमणमा परी तीन जनाको मृत्यु भएको हो। 

नाङगहर प्रान्तको जलालावाद सहरमा तालिबानलाई लक्षित गरी सो आक्रमण गरिएको सुरक्षा स्रोतले जनाएको छ। जलालावाद अफगानिस्तानको दइश सहरको मुख्य केन्द्र रहेको बताइन्छ। 

यद्यपि तालिबानले भने सो आक्रमणमा परी मारिनेमा तालिबान नभई सबै सर्वसाधारण रहेको बताएको छ। 
०००

युएई सरकारले मास्क लगाउने नियम हटायो
दुबई
: युनाइटेड अरब एमिरेट्स (युएई) सरकारले मास्कसम्बन्धी नियम हटाउने निर्णय गरेको छ। बुधबार युएई सरकारले सार्वजनिक स्थलमा मास्क लगाउनुपर्ने नियम हटाउने निर्णय गरेको हो। 

‘युएईले आजदेखि मास्कसम्बन्धी केही नियमहरु हटाएको छ’, बुधबार निर्णय सुनाउँदै स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘अबदेखि समुद्री किनार, पुल, पार्क लगायत सार्वजनिक स्थलहरुमा मास्क लगाउनु अनिवार्य हुने छैन। यसको साथै पारिवारिक सदस्यसँग बस्दा र उनीहरुसँगै कारमा यात्रा गर्दा मास्क अनिवार्य मानिने छैन।’

युएईमा ६० प्रतिशत कोराना संक्रमितको संख्या घटेपश्चात सो निर्णय लिइएको मन्त्रालयले जनाएको छ। 
०००

८० प्रतिशत प्यालेस्टेनी राष्ट्रपतिको राजीनामा चाहन्छन् : पोल
जेरुसेलम
: करिब ८० प्रतिशत प्यालेस्टेनीहरुले राष्ट्रपति मोहम्मद अब्बासको राजीनामा चाहेको तथ्य एक नयाँ पोलमार्फत पत्ता लागेको छ। मे महिनामा गाजामा भएको युद्धपछि करिब ८० प्रतिशत प्यालेस्टेनी राष्ट्रपतिको राजीनामा चाहेको तथ्य बाहिर आएको हो। 

प्यालेस्टेनी सेन्टर फर पोलिसी र रिसर्च सर्भेको संयुक्त सहकार्यमा सो पोल तयार गरिएको थियो। जसअनुसार ४५ प्रतिशत प्यालेस्टेनीहरुले हमास समूहको नेतृत्व चाहेको जनाएका छन् भने १९ प्रतिशतले फताह समूहको समर्थनमा मत दिएका छन्।  

राष्ट्रपतिको राजीनामा चाहने प्यालेस्टेनीहरुको संख्या ठुलो भएकोमा आफुहरु चकित बनेको सर्भे टोलीका प्रमुख खलिल सिकाकीले बताएका छन्। 
०००

ब्राजिलका स्वास्थ्य मन्त्री कोरोना संक्रमित 
ब्राजिलका स्वास्थ्य मन्त्री मार्केलो कुयरोगा कोरोना संक्रमित भएका छन्। न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७६औं महासभा कार्यक्रममा सहभागी भएर फर्केका मार्केलामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ। 

ब्राजिल सरकारका अनुसार कोभिड १९ विरुद्धको खोप लगाइसकेका स्वास्थ्यमन्त्रीमा न्यूयोर्कमा जारी साधारण सभामा सहभागी भएपछि कोरोना पोजेटिभ देखिएको हो। उनको सम्पर्कमा रहेका अन्य नेताहरुको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ।

पछिल्लो समय न्यूयोर्क सहरमा कोरोनाको डेल्टा भेरियन्ट संक्रमितको संख्या बढिरहेको छ। 
०००

सुडानको सैन्य ‘कू’ असफल भएकोमा साउदी अरेबिया, युएई र कुवेतको निन्दा
दुबई
: साउदी अरेबिया, युनाइटेड अरब एमिरेट्स (युएई) र कुवेतले मंगलबार सुडानमा भएको सैन्य ‘कू’ असफलताप्रति निन्दा गरेका छन्।  बुधबार एक विज्ञप्ति जारी गर्दै सो मुलुकका विदेश मन्त्रालयले सुडानको सैन्य ‘कू’ असफलताप्रति निन्दा गरेका हुन्।

तिनवटै मुलुकहरुले सुडान र सुडानका नागरिकहरुको समर्थन गर्ने जनाएका छन्। 

सुडानी सेनाको समूहले मंगलबार देशमा सैन्य ‘कू’को प्रयास गरेको थियो। तर सुडानका पूर्व अपदस्थ राष्ट्रपति ओमार अल बसिरका समर्थकले सो प्रयास सफल हुन दिएका थिएनन्। 
०००

मोदीले अफगानिस्तानको हवाई मार्ग प्रयोग गरेनन्
नयाँ दिल्ली
: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानको हवाई मार्ग प्रयोग नगरी अमेरिकाका लागि उडेका छन्। चारदिने अमेरिका भ्रमणको लागि बुधबार भारतीय विमानस्थलमार्फत नन स्टप उडान भरेका उनले सो हवाई  प्रयोग नगरेको बताइएको छ। 

प्रधानमन्त्री मोदीले सुरक्षाको कारण देखाउँदै अफगानिस्तानको हवाई मार्गको सट्टा पाकिस्तानको हवाई मार्ग प्रयोग गरेको र पाकिस्तानले आफ्नो हवाई मार्ग प्रयोगको अनुमति समेत दिइसकेको भारतीय मिडियाले जनाएका छन्। 

यसअघि सन् २०१९ मा पाकिस्तानले प्रधानमन्त्री मोदीको हवाई यात्राको लागि तीनपटक अनुमति रद्द गरेको थियो। 

अमेरिका भ्रमणमा रहेका मोदीले संयुक्त राष्ट्रसंघको ७६औँ वार्षिक साधारण सभालगायत विभिन्न कार्यक्रममा भाग लिनेछन्। साथै उनी अमेरिकी राष्ट्रपति जो बाइडेनसहित विश्वका अन्य नेतासँग भेटवार्ता गर्ने बताइएको छ।
०००

मेलबर्नमा शक्तिशाली भूकम्प
मेलबर्न
: दक्षिणपूर्वी अष्ट्रेलियाको मेलबर्नमा करिब ६ म्याग्निच्युडको भूकम्प गएको छ। मेलबर्नको राजधानी भिक्टोरियानजिकै बुधबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प  गएको हो। 

भूकम्पका कारण मेलबर्नका कैयौँ भवनहरुमा क्षति पुगेको बताइएको छ। 

बिहानको भूकम्पपछि ४ र ३.१ म्याग्निच्यूडको छुट्टाछुट्टै पराकम्प महसुस गरिएको थियो। दक्षिण अष्टे«लिया र न्यू साउथ वेल्समा समेत भूकम्पको धक्का महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

भूकम्पपछि पराकम्प आइरहने भिक्टोरियाको आपत्कालिन सेवाले चेतावनी दिएको छ भने स्थानियलाई सुरक्षित रहन आग्रह गरेको छ। 

अष्ट्रेलियाको जियो साइन्स एजेन्सीले हरेक १० वर्षको अन्तरालमा अष्ट्रेलियामा ६ म्याग्निच्युडको भूकम्प महसुस गरिने बताएको छ। 
 

संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.