दाहसंस्कारपछि मृतकको पहिचान
दैलेख : गएको भदौ १५ गते जिल्लाको गुराँस गाउँपालिका–५ भैरीखोलास्थित एक महिला मृत अवस्थामा भेटिइन्। प्रहरीका लागि महिलाको शव अपरिचित थियो। महिला मृत अवस्थामा फेला परेपछि जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गर्यो। प्रारम्भिक अनुसन्धान सकेर प्रहरीले शवको सनाखतका लागि तस्बिरसहितको हुलिया मातहतका प्रहरी कार्यालयहरुमा परिपत्र गर्यो। तर, सनाखत हुन सकेन। मृत अवस्थामा भेटिएकी महिलाको शव सनाखत हुन नसकेपछि प्रहरीले कानुन अनुसार दाहसंस्कार गर्यो।
कानुन अनुसार प्रहरीले दाहसंस्कार गरेको (शव गाडेको) झण्डै १० दिनपछि नारायण नगरपालिका–१० भवानीकी ५५ वर्षीया शान्ति बोगटी आफ्नी छोरी हराएको भन्दै खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा पुगिन्। भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा आएकी बोगटीलाई प्रहरीले भैरीखोलामा मृत अवस्थामा भेटिएकी महिलाको तस्बिर देखायो।
हराएकी छोरी खोजिदिन प्रहरीको गुहार माग्न आएकी शान्तिले प्रहरीले देखाएको तस्बिर आफ्नै छोरीको भएको थाहा पाइन्। छोरी मृत अवस्थामा भेटिएको थाहा पाएपछि उनी झस्किइन्। मृत अवस्थामा भेटिएकी महिलाको तस्बिर देखेपछि शान्तिले प्रहरी समक्ष भनिन् ‘यो मेरो छोरी अस्मिताकुमारी बोगटी हो, उ विगत ४ वर्षदेखि काठमाडौं बस्दै आएकी थिइँ, तीजमा घर आउँछु भनी फोन गरी। तर घरमा नआउँदा छोरीको खोजीका लागि प्रहरी कार्यालयमा आएको हुँ।’ मृत अवस्थामा भेटिएकी महिला शान्तिको छोरी हो भन्नेबारे पुष्टि भएपछि प्रहरीले शव गाडेको (दाहसंस्कार) स्थानबाट निकालेर परिवारलाई बुझायो। त्यसपछि प्रहरीले थप अनुसन्धान सुरु गर्यो।
अनुसन्धानका क्रममा शवको प्रकृति हेर्दा शंकास्पद् देखिएपछि घटनाको विस्तृत अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले बताए। उक्त घटनामा मृतककी आमा शान्तिले ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मा जाहेरी दिएको डीएसपी श्रेष्ठले जानकारी दिए। उक्त घटनामा गुराँस गाउँपालिका–५ भैरीका २१ वर्षया गणेशबहादुर विकलाई प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरीले पक्राउ परेका विकलाई दैलेख जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको छ।
खोलामा मृत अवस्थामा महिलाको शव भेटिएको घटनामा मुछिएका गणेश बहादुर विक।