१९ वर्षपछि लालपुर्जा
सन्धिखर्क : अर्घाखाँचीको मालारानी गाउँपालिका–३ खनदह र ६ हंसपुरका स्थानीयहरू १९ वर्षपछि लालपुर्जा पाएपछि हर्षित भएका छन्। २०५९ सालमा नेकपा माओवादीले सदरमुकाम आक्रमण गर्दा लाल पुर्जा जलेर नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो।
देश शान्ति प्रक्रियामा गएपछि विशेष नापी टोलीले पुनः नाप नक्सा गरी जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरेको हो। जलेर नष्ट भएका लालपुर्जा १९ वर्षपछि पाउँदा स्थानीय खुसी बनेका हुन्। विशेष नापी कार्यालय अर्घाखाँचीले मालारानी गाउँपालिका–३ खनदह र वडा–६ हंसपुरमा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ। स्थानीयलाई लालपुर्जा नहुँदा बैंकमा जग्गा धितो राखेर ऋण पाउन समस्या थियो। लालपुर्जा पाएपछि खुसी भएको वडा–३ का अध्यक्ष शोभाखर खनालले बताए।
मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यका अुनसार कृषिमा केही काम गर्न र आफ्ना बालबालिकालाई पढाउन जग्गाधनीले लालपुर्जा बैंकमा राखेर पनि पढाउन पाउने बताए। उनले लालपुर्जा बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिई कृषिमा केही काम गर्न आग्रह गरे ।
द्वन्द्वका समयमा नक्साविहीन भएको अर्घाखाँची जिल्लाका ३५ वडामा जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सुरु गरिएको विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख नापी अधिकृत खिम रानाले बताए। उनले डिजिटल प्रविधिबाट निर्माण गरिएका लालपुर्जा जिल्लाका सबै वडामा निर्माण गरिने बताए। उनले ५३ वडामा नापी नकसाको काम सकिएको जानकारी दिए। काठमाडौंलगायत तराईका जिल्लाहरूमा अहिलेसम्म पनि २०२० सालकै नाप–नक्साबाट काम गरिरहेका छन्। अहिले भएको नाप–नक्साबाट खर भए खर, घर भए घर, बाटो भए बाटो, जस्तो छ त्यस्तै अवस्थामा पुर्जा वितरण भएको छ।
जग्गाधनी प्रमाणपुर्जा वितरण भएकाले उक्त पुर्जालाई प्रयोगमा ल्याउन र अधिकतम फाइदा लिन सबै स्थानीयलाई सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताएका छन्।