अब बेसी झर्न जरिवाना तिर्नुपर्दैन
बागलुङ : ग्रामीण जीवनशैलीका परम्परागत भिन्नभिन्न विशेषता छन् । समय क्रमसँगै धेरै परम्परागत प्रचलन र जीवनशैलीमा बदलाव आए पनि केही अझै बाँकी छन् । बागलुङको पश्चिम निसीभूजी, ढोरपाटन क्षेत्रमा लेक चढ्ने र बेसी झर्ने स्थानीयलाई छुट्टै नियमको व्यवस्था छ । जहाँ लेक चढ्दा र बेसी झर्दा दिन तोकिन्छ । पुख्यौलीदेखि नै जेठ/असार महिनामा लेक जाने र असोज ५ मा बेसी झर्ने प्रचलन छ । असोज ५ गतेभन्दा पहिला बेसीमा वस्तुभाउ झारेमा जरिवाना गरिन्छ ।
असोज ५ लागेसँगै लेक लगिएका गाईवस्तु बेसीमा झार्न थालिएको छ । निसीखोला गाउँपालिका ६ भर्कोबाङमा यतिबेला मानिस र वस्तुभाउको चहल पहल छ । सानो पहाडको टुप्पोमा रहेको भर्कोबाङ समथर छ । यही समथर क्षेत्रमा भल्कोटीहरुले लेकबाट आफ्ना पशुचौपाया झारेका छन् । यहाँका पाटाहरु सयौँको संख्यामा गाई, गोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्राहरुले भरिएका छन् । त्यही क्षेत्रको बीच भाग, छेउछाउ र कुनातिर राता, पहेँला त्रिपाल र बलाङ (चोयाबाट बुनेको सामग्री) ले छाएका गोठहरु छन् । गोठालाहरु समेत मर्काबाङमै अब १५ दिन बिताउनेछन् ।
असोज ५ गते भल्कोटवासीको विशेष दिनका रुपमा पनि लिइन्छ । उनीहरुले वैशाख १५ देखि लेकमा गोठ सार्न सुरु गर्छन् र असार १५ सम्म सबै लेक-लेकमा पुग्छन् । दजनौँ पशुचौपाय पाल्ने स्थानीयले बेसीमा घाँस पु याउन कठिन हुने र लेकमा प्रयाप्त घाँस हुने भएकाले सबैले लेकमा लैजाने गर्छन् ।
४/५ महिना लेकमा बसेर पशुचौपाया चराउने उनीहरुले त्यसको अलावा चोयाबाट विभिन्न किसिमका सामग्री निर्माण गर्ने, घ्यू उत्पादन गर्ने र बेच्ने समेत गर्छन् । लेक जाने समय वैशाखदेखि सुरु भएर असार सम्म भए पनि गोठ झार्ने समय भने असोज ५ नै निर्धारित गरिएको स्थानीय प्रकाश बुढाले बताए । असोज ५ भन्दा पहिलेनै बेसीमा गोठ सारेमा जरिवाना गरिने उनले बताए ।
असोज ५ भन्दा पछाडि आउँदा भने जरिवाना लाग्दैन । धेरैजसो गाइबस्तु असोज ५ मै बेसी झरे पनि भेडी गोठालेहरु भने अझै पछि मात्रै बेसी झर्दछन् । खर्चपर्च बोकेर लेक जाने उनीहरु समय–समयमा गाउँ झर्ने र आवश्यक सामानहरु लिएर फर्किन्छन् । केहीले घरबाटै खर्च पुर्याइ दिने गर्छन् ।
पहिला बेसी झर्ने गोठालाले आफ्नो वस्तुभाउलाई बढी घाँस खुवाउने भन्दै कसैलाई पनि बढी घटि नहोस् भन्ने उद्देश्यले एकै पटक बेसी झर्ने नियम बनाएको उनको भनाई छ । ‘असोज ५ गते भन्दा पछि बेसी झर्दा केही हुँदैन तर ४ गतेनै कसैले पशुचौपायालाई बेसी झार्यो भने त्यसलाई जरिवाना हुन्छ, किनकि उसले अरुले भन्दा बढी हरियो चान (घाँस) आफ्नो वस्तुभाउलाई खुवाउँछ,’ बुढाले भने ‘यस्तो काम कसैले पनि नगरोस् भनेर पुर्खाहरुले नै यस्तो नियम बनाउनु भएको रैछ, हामीले यसलाई पालना गर्दै आएका छौँ ।’
गाउँलेहरु विशेष गरि गोठ लिएर रोल्पा, रुकुम र बागलुङको सिमानाका उच्च पहाडी क्षेत्रमा जाने गर्छन् । उनीहरुको गोठ रिग, खोलाखर्क, तिलचन लगायतका ठाउँमा लैजान्छन् । ‘अहिले यहाँ ल्याएर राख्यौँ, अब १५ दिन जति यही चराउने हो, हामी पनि यही बसेर यिनीहरुको रेखदेख गछौँ, अब केही दिन पछि तर घर छेउका बारीमा लगेर चराउछौँ,' बुढाले भने, ‘बारीमा लगेपछि केही समय त्यही चराउने त्यसपछि बाँधेर डाला काटेर हाल्नुपर्छ, दुःख हुन्छ गोठाले जीवन यस्तै छ ।’
हिउँदको समयमा लेकमा हिउँ पर्ने हुँदा बेसीमै पशु चौपायाललाई घाँस काटेर खुवाउनु पर्ने भएकाले घुम्ती बसाईको जीवनशैलीले धेरै सहज हुने अर्का स्थानीय मनबहादुर घर्ती बताउँछन् । ‘बर्खामा त गाउँमा पशुहरु राख्न सक्ने सम्भावना नै हुँदैन, बनमा चरण प्रयाप्त हुन्छ, यहाँ त हजारौँ गाईभैसी र भेडाबाख्रा हुन्छन्, त्यति धेरैलाई कहाँबाट घाँस पुर्याउन सक्नु ?,' घर्तीले भने, ‘एक घरको कम्तीमा पनि २५/३० वटा गाई भैँसी र १/२ सय भेडाबाख्रा हुन्छन्, यति धेरैलाई गाउँमा राख्ने अवस्थामै हुँदैन, यही कारणले जिजुबाजेले पनि उहिलेदेखिनै लेकबेसी गर्ने परम्परा बसाल्नु भएछ ।’
अब भल्कोटीहरु वैशाखसम्म बेसीमै बस्छन् । वैशाखसम्म गाउँकै बारीहरुमा पशु चौपाया चराउने र जंगलबाट घाँस काटेर खुवाउने गर्छन् ।