राष्ट्रकवि घिमिरेको १०३ औँ जन्मजयन्तीमा व्यक्तित्व चर्चा र रचनावाचन

राष्ट्रकवि घिमिरेको १०३ औँ जन्मजयन्तीमा व्यक्तित्व चर्चा र रचनावाचन

काठमाडौं : 

यो मट्टीमा अकुशल कलाकारको मूर्ति रुन्छ 
हाँसी हिँड्छन् पथिक अरुको दर्द को आज सुन्छ

मेरो शिल्पी यस सकलमा स्वस्थ आकार देऊ
यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ।

नेपाली काव्यसाहित्यका राष्ट्रकवि माधवप्रसाद घिमिरेको बिहीबार जन्म दिन। वि.सं. १९७६ असोज ७ गतेका दिन लमजुङ जिल्लाको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा गत साल भाद्र २ गतेका दिन निधन भएको थियो।  स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीमा काव्य सृजना गर्नुहुने राष्ट्रकवि घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरियो। ‘गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली, जय, जय, जय नेपाल, सुन्दर, शान्त, विशाल’ बोलको गीतसँगै सुरु भएको  कार्यक्रमको आरम्भमा कुलपतिद्वारा पानसमा दीप प्रज्वलन गरिएको थियो भने राष्ट्रकवि घिमिरेको तस्बिरमा कुलपति, उपकुलपति, सदस्य सचिव, प्राज्ञ परिषद्का सदस्यहरू र राष्ट्रकविका कान्छा छोराले माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरेका थिए।

कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकवि घिमिरे लोकको भावना बुझेर काव्य सृजना गर्ने साधक भएको उल्लेख गरे। उनले भने, 'राष्ट्रकवि घिमिरेका लोकजीवन, राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी सृजना गरिएका सृजनाहरू कालजयी छन्।' कुलपति उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्यसमेत रहनुभएका राष्ट्रकवि घिमिरे प्राज्ञ परिषद् सदस्य हुँदै उपकुलपति, कुलपति र आजीवन सदस्यका रूपमा रहेका चर्चा गरे। उनले राष्ट्रकवि घिमिरे प्रज्ञा–प्रतिष्ठानको अभिभावक भएको बताए। उनले भने , 'आफ्नो अभिभावकको जीवनको अन्तिम र महत्त्वकाङ्क्षी महाकाव्य ‘ऋतम्भरा’ उहाँका परिवारका सदस्यको अनुमति प्राप्त भएमा प्रज्ञा–प्रतिष्ठान छाप्न तयार छ।'

उपकुलपति डा. जगमान गुरुङले राष्ट्रकविलाई आफूले सदैव राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार स्रष्टाका रूपमा पाएको उल्लेख गरे। उपकुलपति डा. गुरुङले राष्ट्रियतासम्बन्धी उनका अमर सृजनाहरूकै कारण राष्ट्रले उनलाई राष्ट्रकविको उपाधिद्वारा सम्मान गरेको धारणा व्यक्त गरे।

सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायले राष्ट्रकविको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै नेपाली राष्ट्रिय भावनालाई मजबुद बनाउनमा राष्ट्रकवि घिमिरेका सृजनाहरूले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख बताए। उनले भने, 'प्रकृतिलाई मानवीकरण काव्य सृजना गर्नु राष्ट्रकवि घिमिरेका विशिष्ट पक्ष हुन्। यही कारण उहाँ लोकका कवि, राष्ट्रका कवि राष्ट्रकवि हुनुभएको हो।'

कार्यक्रमको सभाध्यक्षसमेत रहेका साहित्य (पद्य-काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले राष्ट्रकविको पहिलो स्मृतिसभा भएको उल्लेख गर्दै अब वर्षेनी उनको जन्मतिथिका अवसरमा यस्तो कार्यक्रम आयोजना गरिने बताए। उनले राष्ट्रकविका सृजनाहरूले नेपालका नागरिकलाई राष्ट्र र राष्ट्रियताप्रति प्रेम गर्ने अमर सृजनाहरू दिएका बताए।  

प्राज्ञ सभा सदस्य तथा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले नेपाल प्रज्ञा–प्रतिष्ठानसमक्ष राष्ट्रकवि घिमिरेले आफ्नो जीवनकालमा प्राप्त गरेका मान–सम्मान र पुरस्कारसँग सम्बन्धित सामग्रीको संरक्षण गरिदिन, उनकी धर्मपत्नी महाकाली घिमिरेको सम्मानमा आजीवन भत्ताको व्यवस्था र राष्ट्रकवि घिमिरेको निवासतर्फ जाने मार्गको नाम ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे’ नामकरणका लागि सरकारसमक्ष प्रस्ताव राखिदिन अनुरोध गरे। 

राष्ट्रकवि घिमिरेका कान्छा छोरा इन्जिनियर राजीव घिमिरेले बुवासँगका केही प्रमुख स्मृतिहरू सुनाए। उनले भने, 'म हरेक दिन घरबाट कामका लागि बाहिर निस्किने बेला बुवाको फोटोसहित अङ्कित ‘क्यै काम नौलो नगरी नजाऊँ’ भन्ने कविताअंश पढ्छु अनि ममा दिनभरि अजस्र ऊर्जा प्राप्त हुन्छ।'  उनले आफ्ना बुवाले जीवनको अन्तिम समयमा ‘ऋतम्भरा’ महाकाव्यमा केही परिमार्जन गर्नुपर्ने कुरा टिपोट गराउनुभएको स्मरण गरे। 'पहिले त बुवाका अक्षर राम्रा थिए, पछि हात काप्न थालेपछि अक्षरहरू नबुझिने हुँदै गए। महाकाव्यका कतिपय अक्षर नबुझिने छन्। हामी खुट्याउने प्रयास गरिरहेका छौँ। अब छिट्टै नै ‘ऋतम्भरा’लाई प्रकाशनमा ल्याउने छौँ', उनले भने।

कार्यक्रममा साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा. देवी नेपालले राष्ट्रकविका प्रवृत्ति झल्किने विभिन्न प्रतिनिधिमूलक रचनाहरू पाठ गरेका थिए। यसै गरी कार्यक्रम तथा योजना महाशाखा प्रमुख लक्ष्मी गौतमले राष्ट्रकविको ‘गौरी’ शोककाव्यभित्रको एक अंश पाठ गरेकी थिइन्। 

कार्यक्रममा प्राज्ञ परिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त,     प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली, प्राज्ञ सभाका सदस्यज्य, आजीवन सदस्य, प्राज्ञ परिषद्का पूर्व पदाधिकारी, लेखक÷कवि, साहित्य अनुरागी, सञ्चारकर्मी तथा प्रज्ञा–प्रतिष्ठानका कर्मचारीहरूको उपस्थिति रहेको थियो। 

कार्यक्रम सञ्चालन प्राज्ञ सभा सदस्य एवम् सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूले गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.