डब्लूएचओको टोली र तालिबान नेताबीच भेट, वायु प्रदूषणबाट बर्सेनि ७० लाख बढीको मृत्यु

डब्लूएचओको टोली र तालिबान नेताबीच भेट, वायु प्रदूषणबाट बर्सेनि ७० लाख बढीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रतिनिधि मण्डल र तालिबानका नेताबीच भेटघाट भएको छ। यो भेटलाई विभिन्न दृष्टिकोणबाट विश्वभर चासोका रूपमा हेरिएको छ। यसैगरी बिहीबार बर्सेनि वायु प्रदूषणबाट ७० लाख मानिसको ज्यान जाने तथ्य बाहिरिएको खबर चर्चामा रह्यो। हाइटीका आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाएपछि हाइटीका लागि अमेरिकी विशेष दूतले राजीनामा दिएको खबर पनि प्रमुख बन्यो। प्रस्तुत छ, बिहीबार विश्वभर घटेका केही प्रमुख खबरहरू :


आप्रवासीलाई प्रवेश नदिँदा अमेरिकी दूतको राजीनामा

वासिङटन : हाइटीका लागि अमेरिकी विशेष दूत डेनियल लेविस फुटेले बिहीबार राजीनामा दिएका छन्। हाइटीका आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बीबीसीले उल्लेख गरेको छ। 

अमेरिका पुगेका आप्रवासीलाई अमेरिकाले सीमाबाटै फर्काएर अमानवीय व्यवहार गरेको डेनियलले राजीनामा पत्रमा उल्लेख गरेका छन्। 

‘अमेरिका पुगिसकेका हाइटीका नागरिकहरुलाई प्रवेश दिनुको सट्टा उल्टै निकालिएको छ। त्यसको विरोधमा मैले राजीनामा दिएको छु’, उनले भनेका छन्। 

गत हप्तादेखि करिब १३ हजारभन्दा बढी हाइटीयन आप्रवासीहरु टेक्सासस्थित मेक्सिको र अमेरिका जोड्ने पुलमुनि बसिरहेका छन्। 
०००

डब्ल्युएचओको टोली र तालिबान नेताबीच भेट 
काबुल
: विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र तालिबानका एक वरिष्ठ नेताबीच काबुलमा भेटवार्ता भएको छ। कोरोनाविरुद्धको खोप कार्यक्रमका बारे भेटमा छलफल भएको जनाइएको छ। 

डब्लूएचओले एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा खटिएका आफ्ना स्वास्थ्यकर्मी र तालिबानका वरिष्ठ नेताबीच विशेष भेटवार्ता भएको जनाएको छ। उनीहरुबीच अफगानिस्तानको तत्कालिन कोरोना अवस्थाबारे अवलोकन र छलफल भएको बताइएको छ। 

अफगानिस्तानमा अगष्ट यता करिब २ लाख २० हजार मानिसले कोभिडविरुद्ध पूर्ण खोप लगाएको र करिब १ लाख ८० हजार खोप अझै पनि प्रयोगविहीन अवस्थामा रहेको डब्लूएचओले जनाएको छ। 

अवलोकनपछि काबुलमा कोरोनाको अवस्था नाजुक बन्दै गएको डब्लूएचओले निष्कर्ष निकालेको बिहीबार डन न्युजमा प्रकाशित समाचार भनिएको छ।
०००

पाकिस्तानमा नवाज सरिफको नाममा आएको कोभिड खोप जाँच गर्न निर्देशन
इस्लामावाद
: पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफको नाममा आएको कोभिडविरुद्धको खोप भित्र्याउनुअघि जाँच गर्न पञ्जाव स्वास्थ्य विभागले निर्देशन दिएको छ। पूर्व प्रधानमन्त्री सरिफको नाममा आएको खोपलाई ‘नक्कली प्रवेश’ नाम दिँदै विभागले बिहीबार सो निर्देशन दिएको हो। 

पञ्जावको स्वास्थ्य जाँच विभागले फिडरल इन्भेस्टिगेसन एजेन्सी (एफआईए)लाई पत्र पठाउँदै तत्काल कदम चाल्न निर्देशन दिएको पञ्जाव सरकारका प्रवक्ता फेजल हसन चोहानले बताएका छन्।  

‘सरिफको नाममा नक्कली कोभिडविरुद्धको सिनोभ्याक खोप पठाइएको छ। यसको तत्काल छानबिन र जाँच गरी त्यसविरुद्ध आवश्यक कदम चाल्नुपर्छ’, पत्र उद्धृत गर्दै उनले भनेका छन्। 

पूर्व प्रधानमन्त्री सरिफले सन् २०१९ नोभेम्बरमा बेलायतका लागि पाकिस्तान छोडेका थिए। पाकिस्तानलगायत संसारमा विभिन्न व्यक्ति तथा संघ संस्थाको नाममा कोभिडविरुद्ध नक्कली खोप पठाउने गरेको बताइन्छ। 
०००

तालिबानलाई अन्तर्राष्ट्रिय आर्थिक सहयोग स्वीकार्न जी २० को आग्रह 
वासिङटन
: जी २० समूहका विदेश मन्त्रीहरुले तालिबान सरकारलाई अन्तर्राष्ट्रिय आर्थिक सहयोग स्वीकार्न आग्रह गरेको छ। मानवीय संकटका निम्ति अन्र्तराष्ट्रिय समुदायले उपलब्ध गराएको आर्थिक सहयोग स्वीकार्न सो समूहले तालिबानलाई आग्रह गरेको हो। 

संयुक्त राष्ट्रसंघ र अन्य संघसंस्थाहरुले अफगानिस्तानमा चरम भोकमरी र मानवीय संकट निम्तिने चेतावनी दिँदै आएका छन्। 

इटालीद्वारा आयोजित सो कार्यक्रम भर्चुअल माध्यममार्फत बुधबार सञ्चालन भएको थियो। कार्यक्रममा चीन र रुसले अफगानिस्तानलाई उपलब्ध गराएको आर्थिक सहयोगबारे औँल्याइएको थियो। कार्यक्रममा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इटाली, जापान, रुस, दक्षिण कोरिया, टर्की र युरोपेली सदस्यलगायत जी २० का सबै सदस्य मुलुकको उपस्थिति रहेको थियो।
०००

रोहिङ्ग्याविरोधी सामग्री उपलब्ध गराउन अमेरिकी अदालतको आदेश 
वासिङटन
: अमेरिकाको वासिङटन डीसीस्थित अदालतका न्यायाधीसले रोहिङ्ग्याविरोधी सामग्री उलब्ध गराउन फेसबुकलाई आदेश दिएका छन्। न्यायाधीसले म्यानमारमा भएको नरसंहारसम्बन्धी रोहिङ्ग्याविरुद्ध फेसबुकमा राखिएका बन्द सामग्रीहरु अनुसन्धानकर्तालाई उपलब्ध गराउन आदेश दिएका हुन्। 

वाल स्ट्रिट जर्नलमा बिहीबार प्रकाशित समाचारअनुसार अन्तर्राष्ट्रिय न्यायालयमा अल्पसंख्यक मुस्लिम समुदाय रोहिङग्याबारे मुद्दा चलिरहेको छ। रोहिङ्ग्या समुदायप्रति घृणा जगाउने खालका सामग्रीहरु फेसबुकले हटाएको थियो। अमेरिकाको गोपनियतासम्बन्धी हकअन्र्तगत हटाइएका सामग्री अनुसन्धानका लागि उपलब्ध गराउन अदालतले फेसबुकलाई आदेश दिएको छ। 

सन् २०१७ मा म्यानमारमा सेनाले गरेको अत्याचारका कारण करिब ७ लाख ३० हजारभन्दा बढी रोहिङ्ग्याहरुले देश छोडिसकेका छन्।
०००

श्रीलंकामा झारफुकमार्फत कोरोना भगाउने भन्दै चर्चा बटुलेका व्यक्तिको कोरानाबाटै निधन
कोलम्बो
: झारफुक र तन्त्रमन्त्रमार्फत कोरोना संक्रमितलाई निको पार्ने बताउँदै आएका श्रीलंकाका चर्चित आध्यात्मिक गुरुको कोरोनाका कारण निधन भएको छ। आध्यात्मिक गुरु एलिएन्थ ह्वाईटको ४८ वर्षको उमेरमा बिहीबार निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ। 

कोरोना संक्रमण भएपछि उनले कोरोनाविरुद्धको खोप लगाउन समेत मनाही गरेको उनको पारिवारिक स्रोतले जनाएको छ। 

ह्वाईटले गत नोभेम्बरमा आफूले फुकेर दिएको पानी कोरोना संक्रमितलाई खुवाएमा कोरोना निको हुने दाबी गरेका थिए। उनले सो पानीमार्फत भारत र श्रीलंकामा फैलिएको कोरोना अन्त्य गर्न सक्ने बताउँदै आएका थिए। साथै उनले खेलकुद स्टार, देशका प्रधानमन्त्री, शीर्ष राजनीतिज्ञ लगायत धनी वर्गहरुको  झारफुकमार्फत उपचार गर्ने गरेको स्थानिय सञ्चारमाध्यमले जनाएका छन्। 

सन् २०१० मा भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आफ्नो घुँडाको चोट झारफुकमार्फत निको भएको भन्दै ह्वाइटलाई सार्वजनिक रुपमा धन्यवाद दिएपछि उनले अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएका थिए। 

सन् २०१० मै ह्वाइटले १२ वर्षको उमेरदेखि आफूमा विशेष शक्ति पलाएको भन्दै दाबी गरेका थिए। 
०००

सुडानमा बाढीपछि २ लाख ८८ हजार विस्थापित : युएन
अलक्वाना
: सुडानमा यसवर्ष बाढीका कारण करिब २ लाख ८८ हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघ युएनले जनाएको छ। सुडानका १८ प्रान्तमध्ये १३ वटामा बाढीले शरणार्थी र स्थानियसहित सो संख्यामा मानिसहरु विस्थापित भएको जनाएको हो। 

‘दक्षिणमा विभिन्न क्याम्पमा बस्दै आएका हजारौँ शरणार्थीहरु बाढीका कारण विस्थापित भएका छन् भने त्यहाँका स्थानियहरु घरबारविहीन बनेका छन्’ सुडानका शरणार्थी आयोगका वरिष्ठ अधिकारी इब्राहिम मोहमेदले भनेका छन्, ‘विस्थापित बनेकाहरु यतिबेला विभिन्न स्ट्रिटमा बस्दै आएका छन्।’

युएनका अनुसार दक्षिण सुडानमा भने विभिन्न कारण करिब ४ लाख २६ हजार मानिस विस्थापित भएका छन् भने उनीहरुलाई तत्काल गम्भीर मानवीय सहायता आवश्क परेको छ। 

युएनका अनुसार सुडानमा यसवर्ष बाढीले ८० मानिसको ज्यान गएको छ भने करिब ३५ हजार घरहरु पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन्। 

यस्तै गतवर्ष बाढीका कारण १४० मानिसको मृत्यु भएको थियो भने ९ लाख बढी मानिस प्रभावित बनेका थिए। बाढीका कारण तीन महिनासम्म आपतकालिन घोषणा गरिएको थियो।
०००

ओकस सम्झौतापछि उत्पन्न तनाव घटाउन म्याक्रोन र बाइडेन सहमत
पेरिस
: ओकस सम्झौतापछि अमेरिका र फ्रान्सबिच उत्पन्न तनाव कम गर्न दुवै देशका राष्ट्र प्रमुख सहमत भएका छन्। सम्झौतापछि बुधबार संवादमा आएका दुवै देशका राष्ट्रप्रमुखले सो सहमति जनाएका हुन्। 

इन्डो प्यासिफिक क्षेत्रमा परमाणु उर्जाबाट चल्ने समुद्री जहाजबारे अमेरिका, बेलायत र अष्ट्रेलियाबिच भएको ओकस सम्झौतापछि फ्रान्स चिँढिएको थियो। सो सम्झौतापछि चिँढिएका फ्रान्सका प्रधानमन्त्री इम्यानुअल म्याक्रोन र अमेरिकी राष्ट्रपति जो बाइडेनबिच बुधबार पहिलो पटक एकअर्कासँग संवादमा आएका थिए। 

‘फ्रान्स रिसाएकै बेला फ्रान्सका प्रधानमन्त्री र युरोपेली साँझेदारीहरुसँग राष्ट्रपति बाइडेनको  संवाद भएको छ’ ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको अवस्थाले द्वन्द्व नभई सबैको हितबमोजिम हुनुपर्ने र आफूहरुबिच उत्पन्न तनाव घटाई रणनैतिक ढंगले अगाडि बढ्नुपर्नेमा म्याक्रोन र बाइडेन सहमत भएका छन्।’ 

अमेरिकाले सन् २०१६ मा फ्रान्सँग गरेको सम्झौता रद्ध गर्दै अष्टे«लियासँग करिब ५० बिलियन डरलको पनडुब्बी किन्ने सम्झौता गरेको थियो। त्यसपश्चात फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो। 

वार्तापछि म्याक्रोन अमेरिकाका लागि फ्रान्सेली राजदूतलाई अमेरिका पठाउन सहमत भएको समेत विज्ञप्तिमा उल्लेख छ। 

म्याक्रोन र बाइडेनबिच अक्टोबरमा अर्को वार्ता हुने बताइएको छ। 
०००

वायु प्रदूषणबाट बर्सेनि ७० लाखको मृत्यु : डब्लूएचओ  
जेनेभा
: वायु प्रदूषणका कारण बर्सेनि ७० लाखभन्दा बढी मानिसको अकालमै मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठनको एक अध्ययनले यस्तो देखाएको हो।

जलवायु सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २६ हुनुभन्दा करिब २ हप्ताअघि एक रिपोर्ट सार्वजनिक गर्दै वायु प्रदूषणका कारण सो संख्यामा मानिसको मृत्यु हुने गरेको जनाएको हो।

संसारका ९० प्रतिशत मानिसहरु वायु प्रदूषण प्रभावित क्षेत्रमा बस्ने गरेको डब्लूएचओले जनाएको छ। संसारका सबैभन्दा बढी प्रदुषित सहरहरुमा दिल्ली, लाहोर, ढाका, काठमाडौं र गोन्जाओ सहरलाई राखिएको छ। 

डब्लूएचओका अनुसार वायु प्रदूषणका कारण संसारभर बर्सेनि ७० लाख मानिसले ज्यान गुमाउने गरेका छन्। जसमध्ये सबैभन्दा बढी दक्षिण एसिया र पश्चिमी प्रशान्त क्षेत्रमा ४० लाखभन्दा बढी मानिसले ज्यान गुमाउने गरेका छन्। त्यस्तै सबैभन्दा कम अमेरिकामा ३ लाख भन्दा बढीले ज्यान गुमाउने गरेका छन्। 

संयुक्त राष्ट्र संघअन्र्तगतको स्वास्थ्य निकाय डब्लूएचओले बुधबार वायु प्रदूषण घटाउन तत्काल कदम चाल्नु पर्ने भन्दै विश्व समुदायलाई चेतावनी समेत दिएको छ। सो चेतावनी दिँदै डब्लूएचओले सन् २००५ पछि पहिलोपटक वायु प्रदूषणसम्बन्धी मापदण्ड र निर्देशनलाई कडा बनाएको छ। 

मानव स्वास्थ्यको लागि खतरानाक रहेको भन्दै करिब १६ वर्षपछि आफ्नो मापदण्ड र निर्देशन कडा बनाएको हो। डब्ल्युएचओले सन् १९९० देखि वायु गुणस्तरसम्बन्धी मापदण्डमा जोड दिँदै आएको छ। 

- संयोजन अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.