नजिकिँदै निपाह

नजिकिँदै निपाह

चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना संक्रमण विश्वभर फैलियो। संक्रमण दर घटे पनि त्रास घटेको छैन। विश्वभर भाइरस शून्यमा पुर्‍याउन सबै देशलाई सकस छ। यसै समय निपाह भाइरसको अर्को त्रास थपिएको छ। भारतको दक्षिणी राज्य केरलामा एक नर्ससहित १० जनाको ज्यान लिएको निपाह नेपालभन्दा टाढा छैन। फलफूल खाने फ्रुट ब्याट प्रजातिको संक्रमित चमेरोले भाइरस सार्ने हुँदा नेपाल जोखिमपूर्ण सूचीमा पर्छ। फलफूल खान चमेरो नेपाल पनि आउने भएकाले संक्रमण फैलने सम्भावना उच्च छ। निपाहबाट हुने मृत्युदर कोभिड–१९ को तुलनामा धेरै छ। जसको मृत्युदर ४५ देखि ७५ प्रतिशत छ। यसले महामारीको रूप लिए नियन्त्रण चुनौतीपूर्ण छ।

निपाह भाइरस सार्न सक्ने चमेरो नेपालमा पनि भेटिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकालगायत अन्य स्थानमा संक्रमण गराउन सक्ने चमेरो रहेको पुष्टि गरेको छ। यो भाइरस जनावरबाट जनावर, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा पनि तीव्ररूपमा सर्न सक्ने भएकाले महामारीको रूप नलेला भन्न सकिँदैन। निपाह भाइरस जुनोटिक भाइरस हो। जुन जनावरबाट मानिसमा छिटो सर्छ। भाइरस संक्रमित जनावर जस्तै चमेरो तथा सुँगुरको थुक र पिसाबबाट पनि सर्छ। जनावर र मानिस घुलमिल हुने भएकाले यस्ता भाइरस मानव जीवनका लागि सबैभन्दा जोखिमपूर्ण छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यो भाइरस पहिलोपटक मलेसिया तथा सिंगापुरमा सन् १९९८–९९ मा देखिएको थियो। यो भाइरसको नाम मलेसियाको एक गाउँबाट राखिएको हो।

यो भाइरस पहिलोपटक घरपालुवा सुँगुरमा देखिएको थियो जसबाट तीन सय जना संक्रमित बने। जसमध्ये सय जनाको मृत्यु भएको थियो। भाइरस नियन्त्रणका लागि १० लाखभन्दा बढी सुँगुर पनि मारिएको थियो। त्यसयता भने उक्त ठाउँमा संक्रमण देखिएको छैन। तर भारत र बंगलादेशमा भने बेलाबेलामा संक्रमण देखिन्छ। भारतमा सन् २००१ को जनवरी–फेब्रुअरीमा पश्चिम बंगालको सिलिगुडीमा पहिलोपटक यो भाइरस देखिएको थियो। त्यतिबेला ६६ जनामा संक्रमण देखिएको थियो। त्यसपछि सन् २००७ मा पनि यो भाइरस देखियो। सन् २०१८ मा पुनः यो भाइरस देखिएको थियो जसमा १७ जनाले ज्यान गुमाए। बंगलादेशमा भने सन् २००१ मा यो भाइरस भेटिएको थियो। नेपालमा हालसम्म यसका संक्रमित भेटिएको तथ्यांक छैन। निपाह दक्षिण भारतमा अत्यन्त संक्रामक बनेपछि नेपाल पनि यसको संक्रमणबाट जोगिन तयार भएर रहनुपर्ने अवस्थामा छ। उक्त भाइरस संक्रमण भएका व्यक्ति भित्रिए नेपालमा उपचारको प्रबन्ध छैन।

कोरोना संक्रमण घट्दै गएपछि सीमा नाका खुलेका छन्। भारतबाट नेपाल आवत्जावत गर्न अब असहज छैन। भाइरसका संक्रमित भेटिएको भारतको केरलामा नेपाली विद्यार्थी, कामदार छन् भने त्यहाँका स्थानीय बासिन्दा पर्यटकका रूपमा नेपाल आउँछन्। चाडपर्वको समय नजिकिएको छ। भारतबाट नेपाल आउनेसँग भाइरस पनि भित्रिने सम्भावना उच्च छ। निपाह संक्रमित व्यक्ति भेटिए त्यो संक्रमणलाई रोक्ने क्षमता नेपालमा छैन। स्वास्थ्य विज्ञका अनुसार यस्ता बिरामीको उपचार गर्न ‘हेपा फिल्टर’ भएको अत्याधुनिक आइसोलेसन वार्ड चाहिन्छ। जुन नेपालमा उपलब्ध नै छैन। सरकारले अहिले सचेत रहन आग्रह गर्नेबाहेकका तयारी केही गरेको छैन। भाइरस अझै कडा र फरकफरक बन्दै आउँदैछन्। पहिलेका संरचना र स्वास्थ्य उपकरणले धान्ने र काम गर्ने अवस्था छैन। कोरोना भाइरस नियन्त्रण हुँदैछ भनेर सरकारले हात बाँधेरै हुँदैन। नयाँ भाइरस आइरहने भएकाले आधुनिक स्वास्थ्य उपकरण समयमा खरिद गर्नुपर्छ। रोगबाट बच्न जनचेतना फैलाउने र समयमा नै नियन्त्रणका लागि सावधानी अपनाउन अब ढिला गर्नु हुँदैन। नत्र पुनः कोरोना महामारीको समयमा जस्तो व्यवस्थापनमा आत्तिने समय आउन सक्छ। अन्यथा धेरैको ज्यान जान सक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.